2026 June 13/ 03:00: 02pm

    त्यतिबेला अहिले जस्तो थिएन । घर नजिकै विद्यालय थिएनन् । भएका विद्यालयहरुमा अध्ययन गर्ने अवसर थिएन । अझ छोरीहरु भनेपछि त्यो अवसरबाट धेरै पछाडी थिए । गाउँका मुखिया, ठालुहरुले समेत आफ्ना छोराहरुलाई पढ्न पठाएर छोरीहरुलाई घरको काममा लगाउँथे । छोरी अझ बुहारी भनेको गोठमा दाम्लोले बाँध्ने बस्तु सम्झिन्थे । त्यो पुस्ता महिलाहरुलाई दास नै सम्झन्थे । हुन त समय पनि त्यहि थियो होला । सिंगान आयो भन्न नजान्ने बेला विवाह गरिदिने चलन थियो । २००९ सालमा जन्मिएको ब्यक्ति २०१६ सालमा विवाह भैसकेको थियो । त्यो पनि अझ धेरै उमेर भैसकेको भन्थे । ५ वर्ष पुगेर ६ वर्ष लाग्दा मेरी आमाको विवाह भैसकेको थियो । त्यो पनि आफन्त भित्रै । त्यतिबेला छोरी साट्ने चलन थियो । अहिले पनि कतै कतै त्यो चलन होला । मेरी आमाको त्यो भोगाई मैले पनि भोगें । आमाले जति भोगाई त मैले भोग्नु परेन तर पनि उहाँको दुःख, उहाँको समयको बेलाको चलनले साँच्चै दुःख थियो । गर्न सक्ने पनि गर्नु पथ्र्याे । नसक्ने काम धेरै गर्नु पर्दथ्यो । गरेन भने बुहारी काम नलाग्ने भई, यसले घर गरी खान्न भन्ने खालको आरोप आउँथ्यो । अझ बाल मस्तिष्कले भोग्नु परेको कुरा धेरै थियो । आजकाल के–के अधिकारका कुरा गर्नेहरुलाई त्यति बेलाको चलन, त्यतिबेलाको अवस्था भन्यो भने उहिलेका मान्छेहरुले कथा सुनाए भन्न बेर लगाउँदैनन् । त्यहि भएर मलाई कहिले काँहि लाग्छ बाँचिरहनु पर्छ समयले धेरै कुरा देखाउँछ । उतिबेला बैधानिक रुपमै आफ्ना कलिला सन्तानको विवाह गरि दिएर बैधानिक बलात्कार, सन्तानको उत्पादन, बाल श्रमशोषण हुन्थ्यो आजकाल कानून विपरीत हुन थालेको छ । कुरा त्यहि हो समय बदलियो भन्दैमा मान्छेको स्वभाव बदलिँदो रहेनछ । आजकाल हुने हरेक घटनाहरुमा म त्यहि देखिरहेको छु । बुद्धिजीवीहरुले अध्ययन पनि गरिरहेका होलान् किन हाम्रो समाज त्यस्तो अपराधमा उन्मुख भईरहेको छ ? 
    परिवारको कान्छो सन्तान थिएँ । म भन्दा माथी दुई सन्तान थिए । सन्तानले डाँडाकाँडा फैलाउन् । दशैंमा वा कुनै चाडपर्वमा टिका लगाएर आर्शिवाद दिँदा समेत सन्तानले डाँडाकाँडा ढाकोस् भन्थे बुढापाकाहरु । अहिले आर्शिवाद दिने चलन पनि फेरिएको छ । चेतनाका लागि शिक्षा नै महत्वपूर्ण कुरा रहेछ । छोराहरुलाई क ख सिक्न बुबाले घर देखि चार घण्टा लामो बाटो पठाउनु भएको थियो । दाईहरुले अध्ययन पनि गर्नु भयो । थोरै पढेर धेरै ज्ञान हासिल गर्नु भयो । उतिबेला तमसुक लेख्न जान्ने ब्यक्ति गाउँमा ठुलो मान्छे हुन्थ्यो । गाउँका जमिन्दारका छोराहरुले तमसुक लेख्न जानेनछन् । मेरो दाईले तमसुक लेखिदिन थालेपछि जमिन्दारको छोराले मेरो बुबालाई छोराहरु विद्यालय नपठाउन दबाब समेत दिएका थिए । अन्ततः मेरो दाईले पछि त्यहि गाउँमा संचालन भएको विद्यालयमा क ख सिकाउनु भयो । कक्षा ८ पास गरेका दाजुले केहि वर्ष विद्यालयमा पढाएपछि त्यहि विद्यालयको अध्यक्ष हुनुभयो । विस्तारै विद्यालयलाई तह थप्दै लैजानु भयो । जमिन्दारको अत्तोपत्तो छैन मेरो दाजुले बाबुकै कारण गाउँमा नाम राख्नु भएको छ । हामीले पनि शुरुमा विद्यालय जाने अवसर पाएनौं । पछि प्रौढ कक्षा समेत पढ्ने अवसर पाईएकाले चिठी पत्र अध्ययन गर्न, आफुले चाहेको कुरा लेख्न, पैसा तथा मोवाईलका अक्षरहरु चिन्न सक्ने भएका छौं । फेरी सरकारले पनि साक्षरता कक्षा संचालन गरेकाले त्यसले अझै थप ग¥यो । समस्या धेरै छन् जति बुढो भईयो त्यति कान नसुन्ने र आँखा नदेख्ने कुराले समस्या हुने रहेछ । अध्ययन गर्न मन लाग्छ तर स्वास्थ्यले साथ दिदैन । 
    विवाह हुँदा ७ वर्षकी रहेछु । मलाई केहि थाहा छैन । मेरो आमाजु भाउजु बन्नु भएको रहेछ । मेरो दाईलाई मेरो आमाजु विवाह गरे पछि मलाई भाउजुको भाईसँग विवाह गरिदिएको रहेछ । विवाह गरेको केहि दिन घरमा पठाएको सम्झना छ । केहि वर्ष माईती बसेपछि १० वर्षको उमेर देखि मलाई घरमा पठाईयो । त्यति सानो उमेरमा के सासु, के ससुरा, के नन्द आमाजु ? मलाई साह्रै संकट परेको थियो । बालमस्तिष्कले आमाहरुले सिकाए अनुसारको सबै काम गरें । बालकै भए पनि बुहारी भएकाले भोक लागेको बेला खान, अरुले अह्राएको बाहेक काम गर्न, श्रीमान श्रीमती बोल्न समेत मिल्दैन थियो । श्रीमान भनेकै के हो थाहा थिएन । त्यस्तो अवस्थामा पनि राती सासुको खुट्टामा तेल नलगाई सुत्न पाईदैन थियो । सबैले खाना खाएको भाँडा माँझी सकेर मात्रै सुत्नु पर्दथ्यो । त्यसो गर्न नसके यो काम गर्ने खालकी बुहारी होईन यसको विकल्प खोजौ भन्ने कुरा हुन्थ्यो । सानैमा घर खान सकिएन भने भविश्यसम्म त्यसको सुनिश्चितता हुँदैन थियो । त्यसका लागि पनि जसले जे जे भन्छ त्यो सबै सरासर मान्नु पर्ने अवस्था थियो । गर्न नसके रुनु बाहेक अर्काे विकल्प थिएन । रुँदै माईती गए घर गरेर खान नसकि किन आकी भन्थे । माईतीमा तिनै परिवारका सदस्यहरु भाउजु बनेर आए पछि हेपिहाल्थे । बल्ल बल्ल घर ग¥यो भने पनि यसको घर राम्रो हुने भयो भनेर भाँड्नेहरु पनि हुन्थे । त्यो सबै चेतनाको कारण रहेछ अहिले बुझिरहेको छु । मैले सबैलाई भन्ने गरेको छु तिमीहरुले सन्तानलाई केहि दिन सक्दैनौ भने संस्कार देउ, चेतना देउ र सम्मान गर्न सिकाउ । १३ वर्षको उमेरमा म आमा बन्ने भएछु । विस्तारै पेट बढ्दै गए पछि मलाई सबैले आमा बन्ने भईस भन्दै सम्झाउन थाले । त्यसको केहि महिना अघि मात्रै म नछुने भएको थिएँ । त्यतिबेला माईतीका मान्छेले हेर्नु हुँदैन भनेर कोहि भेट्न आएका थिएनन् । म गर्भवती भएको खबरले सबैतिर खुशी छाएको थियो । दिदीहरु सबैको विवाह भएको भए पनि एकजना दाईको विवाह गर्न बाँकी थियो । त्यतिबेला अहिले भन्दा चर्काे थियो जातभातको कुरा । जातभात भित्र पनि तहका कुरा हुने रहेछन् । पानी समेत चल्दैन थियो सबै जातका मान्छेहरुको । त्यहि जातका मान्छेहरुको समेत तह छुटाएर पानी चलाउने गरिएको थियो । पहिलो सन्तानको जन्म भयो । छोरा थियो । एक वर्ष नपुग्दै उसको निधन भयो । अहिले थाहा भयो त्यतिबेला निमोनिया रोगका कारण मेरो छोराको मृत्यु भयो । त्यो शोक विर्सन नपाउँदै मलाई अर्काे बज्रपात आईलाग्यो । घाँस काट्न जंगलमा गएका मेरा श्रीमान्को रुखबाट लडेर मृत्यु भयो । १४ वर्षको उमेरमा म सन्तानको मृत्युको शोकमा हुँदा हुँदै संसारमा सबै भन्दा नजिकको ठानेर पठाएका मेरा बाबु आमाको भन्दा धेरै माया गर्ने श्रीमान गुमाउन पुगें । गाउँघरको भाषामा म विधवा अर्थात एकल महिला भएँ । कलिलो दिमागले के सोच्यो होला । घरका सदस्यहरुको राम्रो बन्दै गएको बेला म माथी भगवानले पु¥याएको दृष्टिले म पागल जस्तै भएँ । आत्महत्या गर्ने बाटो समेत रोजें । एक वर्षसम्म माईतीले समेत लिन आएनन् । सेतो लुगामा दाजुभाईले हेर्नु हुँदैन भन्ने विश्वास रहेछ । खै किन हो मैले बुझ्न सकिनँ मलाई श्रीमान् टोकेकी भनेर घरबाट समेत पटक पटक निकाल्ने प्रयास भयो । मेरो श्रीमान परिवारको सबैभन्दा राम्रो ब्यक्ति हुनुहँदो रहेछ । उमेर हाम्रो धेरै फरक थियो । १० वर्ष म भन्दा उहाँ जेठो हुनुहुन्थ्यो । उहाँको निधनले मलाई एक खालको मानसिक, शारिरीक र सामाजिक रुपमै बहिस्कृत ग¥यो । केहि वर्ष घरमै बसें । घर गरेर खान सकिन्छ कि भन्ने आँट थियो तर सकिएन । समाजको एकखालको आरोप त छँदै थियो अर्काे आरोप मैले आफन्तकै पाएँ । दुःखी देखेर सहयोग गर्न आउने पुरुषलाई उनिहरुले बात लगाउन थाले । मानसिक रुपमा मलाई परेको चोटले २ वर्ष ओछ्यानमै थलिएँ । आमाले आफ्ना सन्तानहरुलाई दिने माया त्यहि बेला अनुभुति गरें सायद आज म आमा भईदिएको भए त्यो माया दिन सक्दिन थिएँ कि ? 
    माईतीमै बस्न थालेको लामो समय भैसकेको थियो । सबै दाईहरु आ–आफ्नो काममा हुनुहुन्थ्यो । फरक फरक थियो बसाई पनि । म माईलो दाईसँग बसिरहेको थिएँ । बुबा आमा ८० वर्षको उमेरमा वित्नुभयो । बुबा वितेको ६ महिनामा आमा वित्नुभयो । त्यो बेलासम्म मलाई धेरै ठाउँबाट विवाहको प्रस्ताव आएको थियो । मैले बुबा आमाको सेवा गर्ने उद्देश्यले मानिरहेको थिईनँ । दाई भाउजुले पनि त्यहि भनिरहनु भएको थियो । उनिहरुका सन्तानले पनि मायामा कुनै कमि गरेका थिएनन् । बुबा आमा वितेपछि त्यो घर मेरा लागि पनि शुन्य हुन लाग्यो । उमेरले ४५ पुगे पनि मैले अर्काे मान्छेको साथ खोजें । उनको र मेरो जीवन धेरै हदसम्म मिल्दो जुल्दो पाईयो । हामी सदाका लागि एक हुने भन्ने अठोटका साथ विवाह गर्ने निधोमा पुग्यौं । तर उनिबाट सन्तान हुँदैन थियो । मलाई आमा बन्ने रहर थियो । उमेर धेरै भए पनि त्योे चाहना मरेको थिएन । दाई भाउजुको सपनामा वा भनौ इज्जतमा समेत ठेस लगाउँदै मैले घर छाडें । केहि दिन उहाँहरुले खोज्नु भयो । उहाँहरुको परिवारको जात भन्दा केहि तल भएकाले उहाँहरुले खासै मतलव पनि गर्नु भएन । ४५ वर्षसम्म सेवा गरेको घरले मलाई त्यहि जातकै आधारमा विर्सने प्रंयास ग¥यो । मैले पनि आफ्नो खुशीका लागि सदाका लागि त्यो घर त्यागिदिने निर्णय गरें । धेरै वर्ष वितिसकेको छ तिहार खल्लो भएको । माईतीमा हुँदा दाजुभाईहरु सबै हुन्थे । मैले मेरो खुशीका लागि गरेको निर्णयले कुनै दाजु, भाउजु र उनीहरुका छोराछोरीहरु समेत खुशी भएनन् । एकपटक पनि मलाई सम्झिएनन् । जो सँग मैले विवाह गरें उहाँको परिवारमा मेरो भन्दा ठुलो बज्रपात थियो । उहाँले कुनै दिन पनि मलाई मेरा पुराना घटनाहरु सम्झिएर रुने अवस्था दिनु भएन । तर पनि यो मन मान्दै मान्दो रहेनछ । हरेक वर्ष आउने चाडपर्व, अनेक सम्झनामा आफन्त, माईती सम्झिँदा रुन बाहेक केहि आउँदो रहेनछ । हामीबाट सन्तान हुँदैनन् । घरमै सानो पसल ब्यवसाय चलाएर बसेका थियौं । भुकम्पले घर भत्काईदिएपछि हामी सडकमा पुग्यौं । भुकम्पको अनुदान पछि सानो टहरा जस्तो घर बनायौं । अहिले त्यहि घरबाट गुजारा चलाएका छौं । अहिले मलाई सबैले विर्सिएका छन् । आफन्तहरु सबैले माया मारे । मेरो राम्रो भएको र मैले सुख पाएको देख्न सकेनन् । मान्छे हो सम्झन्छु सधै गुन लगाउन सक्दैन । लगाएको गुन विर्सँदा रहेछन् । त्यहि गुन विर्सिएर दिएको पीडाले झनै सताउँदो रहेछ । अहिले म आफन्त, विगत, मेरो भोगाईहरु र समय सम्झँदै दिन विताई रहेको छु । 

सरस्वती चिमौरिया
कोशिपारी, काभ्रे