2026 June 06/ 02:21: 57pm

    हामी अचम्मित भएका थियौं । कसरी कोरोना संक्रमण भयो ? हामी मात्रै हैन, स्वास्थ्यकर्मी र छिमेकीहरु पनि अचम्मित भएका थिए । सामान्य परिवारका हामी कोरोना शुरु भए देखि नै घर बाहिर गएका थिएनौं । रोपाईको चटारो थियो । आफ्नो रोपाई सके पछि अरुको पनि जानु प-यो । उनी त्यसमा ब्यस्त भएकी थिईन् । बेलाबेलामा उनलाई पेट दुख्थ्यो । पटक–पटक जण्डिस भएर निको भएकाले त्यहि कारण हो कि भन्ने थियो । घरेलु औषधी खाएर निको पनि भएको थियो तर च्याप्दै गए पछि परिक्षण गर्न जाने सल्लाह अनुसार २०७७ बैशाख महिनाको दोश्रो हप्तामा बनेपा अस्पतालमा पुगेर पेटको अल्ट्रासाउण्ड गरायौं । पित्तथैली नजिकैको नली पत्थरीले ब्लक भएको थाहा भयो । अप्रेसन गर्नै पर्ने भएकाले उनलाई अन्यत्र जान भनिएको थियो । औषधी सेवन गरेर कम भएकाले घरमै थिईन् । एक्कासी फेरी पेट दुखेपछि अस्पताल लैजाने तयारी भएको थियो । जेठको तेश्रो साता उनलाई असाध्यै पेट दुख्यो । राति भएकाले भोलिपल्ट मात्रै अस्पताल जाने योजना बनायौं । 
    कोभिडको महामारी थियो । ब्यक्ति ब्यक्ति भेट गर्न हुँदैन थियो । अझ अस्पताल जाने कुरा त टाढाको कुरा थियो । त्यतिबेला विरामी भएर अस्पताल जानुपर्ने अवस्था आउँदा पनि सकस नै हुन्थ्यो । घर नजिकै भएको र विश्वासिलो पनि भएकाले धुलिखेल अस्पताल जाने कुरा भयो । मंगलबार भएकाले उनले अस्पताल नजाने योजना सुनाईन् । धार्मिक पनि भएकाले मंगलबार खरो बार हिड्ने कुरा, अस्पतालमा अप्रेसनको कुरा भएकाले त्यो दिन नजाने निर्णय भएको थियो । हामी बुधबार अस्पताल गयौं । उनलाई बाईकमा राखेर बुधबार  अस्पताल म आफैले पु¥याएँ । त्यहाँ सामान्य चेकजाँच पछि डाक्टरले अल्ट्रासाउण्डको रिर्पोट हेर्दै एमआरआई गर्न भन्नुुभयो ।  उनी खाली पेटमा थिईन् । जण्डिस भएकाले बाहिरको खाना, चिल्लो, पिरो र अमिलो समेत खाएकी थिईनन् । जुस, काँक्रो, मुला, गाजर काटेर लगिएको थियो । एमआरआई सकिए लगत्तै उनलाई जुस र विस्कुट खुवाईयो । डाक्टरले एक साता पछिको समय दिनुभयो । नलीमा रहेको पत्थरी इण्डोस्कोपीको माध्यमबाट निकाल्ने जानकारी सहित तत्कालका लागि कोरोना, एचआईभी लगायतका अन्य थुप्रै परिक्षण गर्न लगाए । अस्पतालले भने जति सबै परिक्षणका लागि रकम तिरेर हामी घर फर्कियौं । रिपोर्ट केहि दिनमा आउँछ भनिएको थियो । भोलिपल्ट विहान ११ बजे कोरोना संक्रमण भएको खबर आयो । हामी सबै छाँगाबाट खसे झै भयौं । त्यो दिन कसरी बर्णन गरौं म ? अहिले डेंगु भईरहेको छ । त्यतिबेला कोरोना । डेँगुले पनि मान्छे मरिरहेका छन् । विरामी भएका ब्यक्तिहरु उठ्न सकिरहेका छैनन् । सरकार उदासिन छ । अहिले त्यो महामारी सम्झँदा लाग्छ हामी सबै नेपालीले मात्रै नभई विश्वमा भएको एउटा आतंकलाई जितेका छौं । हुन त यो विचमा धेरै ब्यक्ति कोरोनाबाट बित्नुभयो । विश्वमा धेरै ब्यक्तिले ज्यान गुमाउन पुगे । अहिले पनि छिमेकी देश भारत, चीन लगायतका मुलुकहरुमा कोरोना भाईरसको संक्रमण फैलिरहेको छ । तरपनि कोरोना विरुद्धको खोप उत्पादन भई लगाएकाले क्षति कमै छ । त्यतिबेलाका कहालीलाग्दा घटनाहरु स्मरण गर्दा लाग्छ हामी अर्कै युगमा प्रवेश गरिसकेका छौं । त्यो सबै काल्पनिक घटना हो । कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा जानु अघि निर्माण ब्यवसाय गर्ने गरेको थिएँ । लकडाउन पछि म कतै गएको पनि थिएन र काम पनि गरेको थिएन । घरमा ६५ बर्षिय पिता मुटुको भल्व ४ वटा फेरिएको अवस्थामा तर स्वस्थ हुनुहुन्थ्यो । आमा ६१ वर्षको, श्रीमती ३९ वर्ष, म आफै ३९ बर्ष, जेठी छोरी २१ बर्ष, कान्छी छोरी १९ वर्ष र छोरा ८ बर्षका थिए । सबै हामी स्वस्थ नै थियौं । आजसम्म परिवारका कसैलाई पनि हाछ्यौं समेत आएको थिएन । तर उनलाई कसरी कोरोना संक्रमण देखियो ? हामी अचम्ममा परेका थियौंं । रिपोर्ट आए लगत्तै हाम्रो घरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली आयो । पछि जनप्रतिनिधिहरु पनि आउनु भयो । हामीलाई सबै कुराको जानकारी लिनु भयो । हामीले भएको सबै कुरा बतायौं । हामी सुरक्षित रुपमा घरमै क्वारेन्टाईनमा बसेका थियौंं । बस्तुभाउ, खेतिपाती सबै हेर्नु थियो । उनलाई एम्बुलेन्स मार्फत भक्तपुर अस्पताल पु¥याईएको थियो । 
    त्यतिबेलाको क्वारेन्टाईन पनि राम्रै थिए । हामी फोनमा कुरा गर्ने गरेका थियौं । त्यहाँ उनलाई विहान मासु, भात खान दिएको रहेछ । उनलाई जण्डिस भएकाले उनले सामान्य खाना मात्रै खाईन् । हामी चिन्तामा भएको लागेर होला उनले आफुलाई केहि नभएको र छिट्टै घर फर्कने बतारहन्थिन् । पत्थरीको अप्रेसन अस्पतालमै बसेको समयमा गरिदिन पाए उनलाई थप जण्डिस हुनबाट बचाउन सकिन्थ्यो कि ? भनेर हामीले प्रयास ग¥यौं तर सफल भएन । त्यतिखेर समाजले हामीलाई के भन्छ ? कस्तो ब्यवहार गर्छ भन्दा पनि हामी कसरी यो भाईरसबाट उन्मुक्ति पाउने ? कसरी यो भाईरस हामीसम्म आईपुग्यो ? आत्मबल बढाउँदै कोरोना विरुद्धको अभियानमा जुटेका थियौंं । अस्पतालको नाम सुन्नै मन थिएन । कोरोना रोग लुकाएर लुक्ने पनि हैन रहेछ । हामी अस्पताल बाहेक अन्यत्र गएका पनि थिएनौं । यस्तो अवस्थामा नभएको पैसा ऋण गरी गरी उपचारका लागि गयौं संक्रमण त्यहिबाट भएको हो कि भन्ने शंका लागेको थियो । घरमा सबै परिवार सुरक्षित बसिरहेका थियौं । छिमेकमा पनि गएनौं । अरुलाई पनि नआउन भनेका थियौं । सबै भगवान भरोसा । 
    केहि समय पछि उनलाई निको भयो । उनि घरमा आउँदा हामी धेरै खुशी भयौं । निको भएको एक साता पछि उनको अप्रेसन सफल भयो । अहिले उनि स्वस्थ छिन् । हामी सबै खुशी छौं । कहिलेकाँहि त्यो बेलाको घटना र छिमेकी तथा समाजले गरेको ब्यवहार सम्झन्छौं । दिनभर सबैसँग रोपाई गर्दा नसर्ने रोग थाहा पाए लगत्तै सर्ने भयो । छिमेकमा सँगै भएका ब्यक्तिहरु अलग भए । रोग अचम्मको रहेछ । घरकै मान्छेहरुलाई पनि झसङ्ग बनायो । त्यतिबेला उनलाई बाहेक घरमा कसैलाई पनि संक्रमण भएन र देखिएन पनि । ६ जना सदस्यहरुको पिसिआर विधीको परिक्षणमा कोरोना नभएको पुष्टी भएको थियो । स्थानीय सरकारले असाध्यै धेरै सहयोग ग¥यो । स्वास्थ्य कार्यालय काभ्रे, पनौती नगरपालिकाको स्वास्थ्य शाखाबाट बरोबर सोधखोज र आवश्यकता अनुसारको सहयोग पनि भयो । उनिसँगै जिल्लाको रोशी गाउँपालिकाका तीन जना र पाँचखाल नगरपालिकाको एक जनामा कोरोना संक्रमण देखिएको थियो । सबै जनाको उपचार भक्तपुरमा गरिएको थियो । जिल्लामा उपचारका लागि ब्यवस्था नभएका कारण भक्तपुर पठाईएको रहेछ । सरकारले पछि जिल्लाको धुलिखेल, बनेपाको शिर मेमोरियल अस्पतालमा पनि उपचार गराउन थालेको थियो । दोश्रो चरणको संक्रमणमा त जिल्लामा अक्सिजन, अस्पतालको शैया पनि उपलब्ध हुन नसकेर ब्यक्तिहरुको ज्यान गएको दुखद् खबरहरु पनि आए । अहिले सम्झन्छौं हामी रोग देखिएर पनि राज्यले सहज ढंगबाट उपलब्ध गराएको सेवा पाउने मध्येमा हामी भाग्यमानी पो भयौं कि ? 
    काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक तीन पालिकामा कोरोना संक्रमित देखिएका विरामीलाई उपचारका लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको रहेछ । जिल्ला कमाण्ड पोष्टले उपचारका लागि संक्रमित ब्यक्तिहरुलाई भक्तपुर पठाउने निर्णय गरेको रहेछ । पहिलो पटक देखिएका संक्रमित सबैको स्वास्थ्य अवस्था सन्तुष्ट थियो । संक्रमित मध्ये रोशी गाउँपालिकाका दुई पुरुष र एक महिला भारतबाट आउनु भई क्वारेन्टाईनमा राखिएको थियो भने पाँचखाल नगरपालिकाको क्वारेन्टाईनमा बसिरहेका युवा पनि भारतबाटै फर्किनु भएको थियो । पाँच जना संक्रमितलाई एम्बुलेन्स मार्फत अस्पताल पु¥याईएको थियो । रोशी गाउँपालिकामा कोरोना संक्रमित देखिएका तीन जना युवालाई रोशीकै क्वारेन्टाईानमा राखिएको थियो । उनिहरु क्वारेन्टाईन बाहेक कसैको सम्पर्कमा नरहेकाले सहज भएको थियो । उनिहरु मध्ये २० बर्षिया महिला र २९ बर्षिय पुरुष वडा नम्वर १० का थिए । एक जना वडा नम्वर ३ का युवा २२ बर्षका थिए । उनिहरु सबै भारतबाट सिन्धुली हुँदै रातिको समयमा रोशी आईपुगेका थिए । हायस गाडीमा आएकाले तीन जना सिन्धुलीमा उत्रिएर केहि धुलिखेलमा र केहि काठमाडौ गएका थिए । सबैको सम्पर्क को को सँग भएको छ ? खोजतलास सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षण गरिएको थियो । पाँचखाल नगरपालिका वडा नम्वर ३ घर भएका युवा नयाँ दिल्लीमा काम गर्दथे । परिवार र आफन्तको सम्पर्कमा आएका उनी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्वर १० का युवासँगै फर्किएका थिए । घर फर्किएर उनी पाँचखाल क्वारेन्टाईनमा बसेका थिए । सँगै आएका सिन्धुपाल्चोकका युवालाई कोरोना संक्रमण देखिए पछि उनको पिसिआर परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालले गरेको परिक्षणको रिपोर्ट र सूचनामा बुझाई गलत भएका कारण क्वारेन्टाईनबाट युवा रिपोर्ट नआउँदै घर पठाईए । परिवारका सदस्य उनलाई लिन आए । बाबुको ब्याग उनिहरुले बोके । अलिक पर पुगेपछि घर नजिकै पुग्ने बाईक आईपुग्यो । बाईकमा चढेर उनि घरमा पुगे । श्रीमती र दुई छोरा सहित लामो समयको भेटघाटलाई पारिवारीक र आत्मिय बनाए । भोलिपल्ट उनलाई संक्रमण भएको रिपोर्ट आयो । एम्बुलेन्स घरमै लिन पुग्यो । उनिहरु सबै छाँगाबाट खसे झै भए । स्थानीयहरुले पाँचखाल नगरपालिका र स्वास्थ्य शाखाले गरेको गम्भिर गल्ति भन्दै केहि बेर नगरपालिका कार्यालय घेराउ भयो । उनका परिवारका सदस्यहरुलाई पुनः पाँचखालको क्वारेन्टाईनमा राखिएको थियो । यि शुरु शुरुका घटना सबै हामीले सामाजिक सञ्जाल, एफएम मार्फत थाहा पाउँथ्यौं । पत्रिका हेर्न मिल्दैन थियो । कागजबाट पनि कोरोना भाईरस सर्छ भन्ने हल्ला थियो । त्यसपछि जिल्लामा विस्तारै फैलदै गएको कोरोनाले धेरै ब्यक्तिहरुको ज्यान लियो । अहिले पनि नागरिकहरुमा चेतना उस्तै छ । सरसफाई, रोगको नियन्त्रणका लागि गरिएका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । त्यो दिन आज पनि कहालीलाग्दो छ । हामी भन्छौं त्यो दिन सम्झन पनि चाहन्नौं । 

रेवती गिरी
पनौती, काभ्रे