2026 June 06/ 02:19: 51pm

    गाउँ नै भुत आत्माले सतायो त्यसपछि प्रभुलाई विश्वास गरे पछि शान्तिको सास फेर्न पाएँ । कसैले नपत्याउन पनि सक्छ । तर म विश्वासमा परें । मेरो अनुभूति हो । विश्वास हो । सबैले गर्नु पर्छ भन्ने छैन तर पनि यो सत्यमा आधारित छ । यसअघि पनि मैले मेरा भोगाईहरुलाई फरक माध्यमबाट प्रस्तुत गरिसकेको छु । यो विल्कुल फरक विषय हो । मेरो जन्म काभ्रे जिल्लाको कोशिपारी गोठपानी ८ सुन्दर गाउँ सुँगुरेमा भएको थियो । आमा पबित्रा र बाबा केदारनाथ चौलागाईंको कोखबाट दोश्रो सन्तानको रुपमा म यस धर्तीमा पाइला टेक्न पुगेछु । पीडा नै पीडा दुःख नै दुख भोगेर आएका सर्घर्षशील जिन्दगीका पाईलाहरु खै कसरी सुरुवात गरौ ? मेरो जीवनमा आइपरेको घटना कहाँबाट शुरु गरी कसरी अन्त्य गरौ ? 
    जब मैले प्राईम एफ १०४.५ मेगाहर्ज रेडियो खोल्छु सबैको घटना यहिबाट सुन्छु । तब मन शितल हुन्छ । मनमा धेरै प्रश्नहरु उब्जिन्छन् । मनमा उब्जिएका धेरै प्रश्नहरुको उत्तर पनि हुँदैन । सबै प्रश्नको उत्तरहरु सहज पनि हुँदैनन् । मेरो जीवनमा बिझिरहेको एउटा प्रसङ्ग छ । यात्राको सानो पीडादायी घटना नलेखी बस्न सकिनँ । मनमा भएको कुरा ब्यक्त गर्दा मन हलुङ्गो हुन्छ भन्ने मेरो अठोट छ । यो घटना तपाईं मार्फत ब्यक्त गरेर आगोमा पानी हाले झै पार्न चाहन्छु । जीन्दगीमा घट्ने धेरै किसिमका घटना मध्ये कहिलेकाँही स्मृतिबाट कहिल्यै नमेटिने हुन्छ । तिनले सधैं मन नरमाईलो पारिरहन्छ मैले लेख्न लागेको यस्तै घटना एउटा यथार्थ घटना हो । यो घटनाबाट लागेको घाउको ओखती छैन मित्र ? यस धर्तीमा टेकेको केही बर्ष नबित्दै मेरो घर परिवारमा ठुलो आँधीबेरी पैदा भयो घरमा ममी आन्टी र दादा बिरामी हुनुभयो त्यस पछि हाम्रो घरमा ठुलो समस्या देखा प¥र्यो । समस्याले गर्दा घरका सबै सदस्य मानसिक चिन्तामा फस्न बाध्य भयौ । बुबा हामी सबै मिलेर रातभर ममिको जिउँदो लासलाइ कुरी राख्नु पर्दथ्यो । छोरा पनि आफ्नो ममीको जिउँदो लास समातेर रातभर रुनु पर्दथ्यो । रुँदा रुँदा शरीर ख्याउटे हुन्थ्यो र खान पनि पटकै रुच्दैनथ्यो । अहिले पनि सम्झँदा आँखाबाट आँसुका धारा बग्न थाल्छ । सायद धेरै परिवारमा यस्ता घटना भईरहेका होलान् । कतिले भन्न सक्लान वा भन्ने अवसर पाउलान् । धेरैले यस्ता घटना मनमै राखेर बस्न बाध्य भएका छन् । म अर्काे भाग्यमानी हुँ जसले आफ्नो पीडा सुनाउने अवसर पाएको छु । 
    मलाई लाग्यो मेरो ममीको बाँच्ने अबस्था पनि हराउँदै गयो । यसै क्रममा ममी बिरामी देखेर सबैले भन्ने गर्दथे तिम्रो ममीलाइ धामी झाँक्री लाउनु पर्छ । के गर्नी ममी बाँच्नु हुन्छ भने हामी ज्यानबाजी दिन पनि तयार भयौ । धामी लिन पनि लामो पैदल यात्रा हिड्नु पर्दथ्यो । उहाँलाई निको हुन्छ भने दुःख सुख गरेर भए पनि आफ्नो कर्तव्य पूरा गर्छु भन्ने अठोट गर्दै अघि बढ्दै गए । कोहिले त धानको बिउमा पनि चिन्ता गरे । दिन दिनै रुपैयाँ पैसा पनि दिएर हारगुहार माग्नु पर्दथ्यो । गुहार माग्दा माग्दा पनि उहाको जीवनमा कुनै सुधार देखिएन झन आँखाबाट आँसुको धारा पानी बगे सरि बग्न थाल्यो । मुटुको धड्कन बढ्यो । उहाँ बाँच्ने अन्तिम समय हो भन्दै मनलाइ कठोर पीडामा गाभिदै गयौं । उहाँलाइ धेरै गाहे भयो । उहाँ रातको १२ बजे कपडा सबै खोलेर हिडने, नुहाउन जाने, मानसिक सन्तुलन नभएको अवस्थामा राती धामीको घरमा हिंड्न् लाग्नु भयो । तर पनि उहाको जीवनमा दुष्टले ठूलो छुरी प्रहार गरि रहयो के गर्नु खै फेरि उहाँलाइ अर्को रोग देखा परिरहयो झन् बाँच्न गाह्रो भयो उहाँलाई हामीबाट टाढा राखियो । तुलसीको मोठमा लडाईयो । हामीलाई धेरै पीडा भयो । 
    उहाँको शरीरबाट अपर्झट रगतका लाप्सा लाप्सा, रगतका ढिक्का ढिक्का बग्न थाल्यो । सबै जना हेर्न आउँथे । हामीलाई सम्झाउँथे । तपाईंको ममी बाँच्ने आजको दिन हो भन्ने गर्थे । ममीको स्थिति झन नाजुक हुँदै गएको थियो । के गर्ने पीडामा नै जीवन भासिदै गयो । हामी शान्तिको खोजीमा थियौ । एक जना इसाई धर्म मान्ने दिदी हाम्रो घरमा आउनु भयो । बाइबलको बारेमा सुनाउन थाल्नु भयो हामीले लगाउँदै गरेको ग्रह दशा शान्ति पुजा लाई छाडेर बाईबलको कुरालाई ध्यान दिएर सुनि रह्यौ । हामी एक खालको शोकमा थियौं । ममी जिउँदै हुनुहुन्थ्यो तर मरे बाँचेको थाहा थिएन । जिउँदो शोकमा भएका बेला उहाँको कुरा सुन्नुको अर्काे विकल्प थिएन । केहि दिनमा हामीले प्रभुलाई बिश्वास गर्नु पर्ने भयो । झन्झन् पहिला मानेको देवीदेवता भुतआत्माले एकदम धेरै सतायो । झन् धैरै गाह्रो भयो । चर्चमा ३÷४ वटा गुन्द्री च्यातियो । चर्चमा खाडल खनियो । गाउँमा नै भुत आत्माले सताई रहेको थियो । सबै जना काम्ने, बहकिने, कालो बोकासम्म बहकिएको बेला माग्ने गर्दथ्यो । भुत आत्माले यसैगरी हाम्रो अन्टिलाइ पनि धेरै सतायो । उहाँलाई बिसेक नहुने देखेर कोशिको पुलबाट फाल्न खोजियो हामीले धैर्य गर्न आग्रह ग¥यौं । पाकेको खाने कुरा त हतपत खान पाइन्न प्रभुले बिस्तारै निको पार्नु हुन्छ भन्दै त्यो घटनाबाट जोगाउन सफल भयौ । समयको दैरानसँग सँगै प्रभुलाई बिश्वास गरेकै कारण मेरो ममीले पनि २१ बर्स नफेरेको शान्तिको श्वास फेर्नु भयो । उहाँलाइ सबै रोगबाट छुटकारा भयो । उहाँ २१ बर्ष बिरामी हुनु भएको थियो । उहाँको शरीरबाट रगतको लाप्सा बग्ने ब्यक्ति अहिले प्रभुको सुसमाचार सुनाउन थाल्नु भयो । आन्टीको स्वास्थ्यमा पनि निकै राम्रो सुधार भयो । यो विश्वास वा अन्धविश्वास । साँच्चै वा धार्मिक कुरा ? विस्तारै समयले देखाउँदै जाला ?     हुन त मान्छेहरुले भन्न सक्छन् । अस्पतालले उपचार गर्न नसकेको रोग, विज्ञान र प्रविधिले उपचार गर्न नसकेको विषय प्रभुले निको पार्न सक्छन् ? यो सबै विश्वास हो । जब मान्छेको आत्मालाई बलियो बनाउन सकिन्छ त्यस पछि मान्छे हरेक रोगलाई जित्न सक्छ । मुलुक धर्म निरपेक्ष भएको छ । धर्म निरपेक्ष मुलुकमा धर्म कसले के मान्छ नौलो कुरा होईन । ठुलो कुरा पनि होईन । हिन्दु धर्म संस्कृतिका आफ्नै मौलिकता छन् । आफ्नै विशेषता छन् । त्यसका विश्वास र अन्धविश्वासमा नै संसार चलिरहेको छ । घरमा ममी र आन्टी दुबै जना विरामी भएर लामो समय संकटमा परेको परिवारमा बाईबलको अध्ययन र प्रभुको भक्तिको विश्वासमा आएको परिवर्तनले साँच्चै हामी सोच्न बाध्य भएका छौं । मान्छेको मनको शान्ति र विश्वास कतिबेला कहाँ गएर रोकिन्छ भन्न सकिदैन । 
    घर परिवारमा अर्को घटना घट्यो । एउटा घटनाबाट शान्तिको श्वास फेर्न नपाई मेरो दाजुलाई हृदयघात भयो । उँहाको जीवन बचाउन पाँच लाख चाहिन्छ भन्ने डाक्टरले सल्लाह दिनु भएको थियो । एउटा समस्यबाट त प्रभुले पार लागाउनु भयो भयो । अर्काे समस्या के गर्ने ? त्यति धेरै पैसा पनि हामी सँग थिएन । सम्झदा मुटु नै फुटेर आउँछ काभ्रेको कोशिपारी विकट ठाउँ घर जग्गा बेच्दा एक लाख त आउदैन खै कहाँबाट कताबाट जुटाउँ पाँच लाख ? अझै डाक्टरसँग सल्लाह गर्ने निर्णय भयो । डाक्टरको सल्लाह अनुसार उहाँको मुटुको अप्रेसन तीन लाखमा गर्ने सहमति भयो । त्यहि पैसा पनि भौतारिदै सबै ठाउँबाट जम्मा गर्ने साहस पुग्यो । बाबा, अंकल सबै दुःखी हुँदै मुलुकुमा शुरु भएको १९ दिने आन्दोलनमा पनि रुपैयाँ पैसा जुटाउन गल्ली गल्ली भैतारिदै हिडनु भयो । रुपैयाँ पैसा त जम्मा भए पछि अप्रेसनका लागि डाक्टरले दाजुलाई बोलाउनु भयो । दाजुलाई उपचारका लागि बेडमा सुताइयो दाजुसँगै अरु साथीलाई पनि अप्रेसनको लागि तयार गरिएको रहेछ । दाजुलाई बेहोस बनाएर छाती चिरियो । छाती दुई फ्याक पारियो । केही घण्टा पछि दाजुको होस आयो । अनि उहाँ बाँच्न सफल हुनुभयो । दाजु सँगै अप्रेसन भएकाहरु मध्ये केहिको सफल हुन सकेन । दाजुले मृत्युलाई जित्नु भयो । घरपरिवारमा ममी २१ बर्ष सम्म बिमारी हुनु भएको थियो । ममी निको हुनु प्रभुले शान्तिको आवाज घन्काउन दिनु भएको थियो । फेरी दाईको त्यो अवस्थाले हामी भावविब्हल हुन पुग्यौं । आमाको पुनर्जीवनमा प्रभुलाई र दाजुको पुनर्जीवनमा डाक्टरलाई हृदय देखि धन्यवाद दिएको छु । 

नकुल चौलागाईं 
काभ्रे कोशिपारी चौरिदेउराली गाउँपालिका ४ 
हाल काठमाडौं