2026 June 06/ 12:01: 18pm

    कहिलेकाँहि लाग्छ खाँदै नखाएको विषले जिउँदै मार्छ । रामेछाप जिल्लाको विकट गाविसमा मेरो जन्म भयो । आमासंँग तोते बोली बोल्दै, काखमा लुटुपुटु गर्दै र बाबासंग हात समातेर गुम्दै खेल्दै साथीभाइसंग ढुङ्गा माटोको भाँडाकुटी खेल्दै, रङ्गि बिरङ्गि फुलहरु टिप्दै, घर वरपर लुकामारी खेल्दै खोला नाला र बनपाखा गर्दै हिड्दा ५ वर्ष कटिसकेछ । म ५ वर्षको हुँदा गाउँकै विद्यालयमा कक्षा १ मा औपचारीक रुपमा भर्ना गरिदिनुभयो । बच्चा नै भएकोले पढाइ भन्दा पनि साथीहरुसंग खेलेरै गयो खासै पढाई अघि बढेन । गाउँमा गाई गोरु र बाख्रा बनमा लगि चराउने र घाँसपात काट्दैमा गयो बाल्यकाल । कहिले बन त कहिले खेतबारीमा काम गर्दै कलिलो बालापन बितेको पत्तै भएन । ६ वर्षको हुँदा आँखामा सानो तोरीको गेडा जस्तो सेतो टिका बसेको बुबाले देख्नु भएछ । अब मेरो छोरोले आँखा नदेख्ने भयो भन्ने चिन्ता भएको रहेछ । बाबाले गाउँघरमा हुने झारपात मिचेर हाल्ने अनि अरुको आँखा लागेको हुनसक्ने आशङ्का गर्दै कुखुरा, हाँस, परेवा र बोको मन्दिरमा चढाउने धामी राखी घरमा पशु बलि दिएर भगवान खुसी पार्न लाग्नु भएछ । जति गर्दा पनि नभए पछि मलाई अस्पताल पु¥याईएको रहेछ ।
    काठमाडौं उपचारका लागि बाबा र म घरबाट हिड्यौं । त्यतिबेला हाम्रो घर देखि काठमाडौ आउन बस थिएन । बाटो नभएको र भिर पहाड उकाली ओराली गर्दै सुनकोसी नदिको किनारै किनार दोलालघाटसम्म हिड्नु पर्दथ्यो बाटो अति नै डर लाग्दो थियो । आउँदा केहि ठाउँमा म आफै हिड्थे भने केहि ठाउँमा बाबाले बोक्नु हुन्थ्यो । बाबा र म दिन भरि हिडेपछि दोलालघाट आई गाडि चढेका थियौ । पहिलो पटक गाडि देखेको अचम्म लाग्यो । पहिलो पटक शहर आएर होला मन हर्षित भयो । भोलिपल्ट त्रिपुरेश्वर आँखा अस्पताल पुग्यौ र आँखा देखाउन थाल्यौ । त्यतिबेला हेर्दा उपचार हुन सक्ने डाक्टरको ठम्याई भयो र उपचार गर्न अप्रेसन कोठामा पुग्यौ तर बच्चा सानै छ अहिले उपचार गर्दा आँखाको ज्योती नफर्कन पनि सक्छ बरु तपाईले महिना महिनामा आई जँचाएर औषधी लिएर हाल्नुहोस् पछि केहि वर्ष भए पछि अप्रेसन गरौंला भनि बाबालाई डाक्टरले भन्नुभयो । बाबा र म आफ्नो घरतिर लाग्यौ । घर फर्कदा बाबाले खेत बारीमा रोपेको मकै र धानमा राख्न एक बोरा मल दोलालघाटमा खरिद गर्नु भयो । त्यतिबेला गाउँ गाउँमा किन्दा महङ्गो पर्ने भएकोले बाबाले यहाँ आउदा किनेर लैजानु भएको थियो । बाबाले त्यो मलको बोरा बोक्नु भयो । कहिले बाबा अघि अघि म पछि पछि नदिको किनारमा हिड्थ्यौ भने कहिले म अघि अघि र बाबा पछि पछि हिड्थ्यौ ।
    मेरो अशक्तता र सडकको अभावले बाबाले त्यहाँ नबस्ने गरी जग्गा विक्री गरिदिनु भयो । हामी बसाई सर्ने निर्णय गरेर मण्डनदेउपुर आएर बस्न थाल्यौं । दुःख भएर सुःख खोज्न आएको झन् दुःख सुरु भयो । आफ्नो जोडेको सम्पति सबै छोडेर आउदा सुरुबाट गर्न खोज्दा निकै गाह्रो हुँदो रहेछ । जस्तोसुकै दुःख परेनी आमा बाबाले दुःख नमानी मेहनत गरी घर बनाइ हामीलाई राख्नुभयो । म पनि दाईसंँग हातेमालो गर्दै विद्यालय जान थालें । पढ्दै थिए गाउँ घर र बन पाखा खेतबारी र खोलानाला गर्दै थिएँ । यतिकैमा मेरो आँखामा असर धेरै देखियो र सेतो दाग भरिदै गएकाले ठम्याउन नसक्ने भए । जोरपाटी विद्यालयमा कक्षा ३ मा अध्यन गर्दै थिए । अचानक आँखामा धमिलोपना देखे पछि मैले पढाई छोडेर बाबासँग अस्पतालतिर आँखा उपचार गराउन त्रिपुरेश्वर आँखा अस्पताल गयौं । अस्पतालका डाक्टरले आँखामा नसा सुकेको छ उपचार सम्भव छैन भने पछि बाबा धुरु धुरु रोएको अहिले जस्तै लाग्छ । बाबालाई बिश्वास नलागेपछि टिचिङ्ग अस्पताल र तिलगङ्गा अस्पतालमा पनि लग्नुभयो तर पनि उपचार नहुने भए पछि उहाँ स्तब्ध हुनुभयो । त्यसपछि मैले अक्षर कम देख्न थाले । अक्षर नदेख्ने भए पछि घरमै घरको काम गर्दै बस्न थाले ।
    एक दिनको कुरा हो । घरमा कोहि नयाँ ब्यक्ति पाहुना आउनु भएको थियो । उहाँ मार्फत मेरो स्वास्थ्यका बारेमा छलफल भयो । उहाँ मार्फत लायन्स क्लबमा देखाउने प्रस्ताव आयो । जापान देखि आउने विशेषज्ञहरुले मेरो बारेमा जानकारी लिने भने पछि हामी काठमाडौ जाने योजना बन्यो । म र बाबा थापाथली स्थित नेपाल दृष्टिबिहिन कल्याण संघको कार्यालयमा पुग्यौ । उक्त कार्यालयको सहयोगमा ब्रेन लिपिमा पढ्न थाले । बन्द भएको शिक्षा शुरु हुनु पाएकोमा म खुशी भएँ । नियमित अध्ययन गरेकाले मैले एसएलसी पास गरे । एसएलसी पास गरेको सुनेसँगै मेरो खुशीको सिमा रहेन । म भन्दा धेरै खुशी मेरो परिवार भयो । संसार देख्न बन्द भए पनि मेरो शिक्षाले प्राप्त गरेको खुशियालीमा सबै जना खुशी हुनु स्वभाविक थियो । त्यस लगत्तै उच्च शिक्षा अध्ययन र सिप सिक्न काठमाडौ जाने निर्णय गरे । कीर्तिपुर स्थित अन्धा अपाङ्ग सिप विकास केन्द्रमा कम्प्युटर सिक्न आएँ । तालिमसंगै अध्यनलाई पनि अगाडि बढाउने सोच राखि सहिद स्मारक कलेज किर्तिपुरमा ११ कक्षामा भर्ना भएँ । उक्त समयमा काठमाडौ बाबा आमा अनि गाउँ छोडेर आउँदा मेरो दुःखका दिन सुरु भएछ जस्तो लाग्यो । म काठमाडौ आए पछि धेरै दृष्टिबिहिन र अन्य साथीहरुले पनि संर्घष गरिरहेको देखें । संघर्ष गर्ने साथीहरुको जिन्दगी हेर्दै आफुलाई अगाडी बढाउन थाले । यतिकैमा १५ महिने तालिम सकिदै गयो समाजमा केहि गरौ भन्ने भावना जाग्यो । एकदिन कोठामा सुत्दा साथीहरुसंग छलफल ग¥र्यौ अब के गर्ने कसरी बाँच्ने निकै बेर कुरा भयो कुरा गम्भिर भएको महसुस गरियो । अर्को दिन समाजसेवामा लागौ हामी पनि एउटा संस्था खोलौ भन्ने कुरा भयो र साथीहरु जम्मा भई मलाई समुह नेता बनाई संस्था दर्ता गर्न लाग्यौ । संस्थाको कार्य गर्दा आफु भन्दा कमजोर साथीहरु आफुलाई भेट्न आउँथे अनि गुनासो पोख्दा आफ्नो मन पग्लिन्थ्यो र परेको समस्या हल गरिदिन्थे । कसैलाई छात्रबृत्ति खोजिदिने कार्य गरिदिन्थे भने कसैलाई पैसा सहयोग गरिदिन्थें । एक जना दृष्टिबिहिन महिला अर्काे तिरबाट आएर मसंग ठोकिएको हुँदा मैले बोलाए । हजुर को हुनुहुन्छ मैले भन्दा नभन्दै ति दृष्टिबिहिन मान्छे बोलिन् । बोल्दा आफु पहिले पढेकै विद्यालयकी साथी रहेछिन् । मैले कताबाट हो नभन्दै उनले बजार गएर आएको उत्तर दिईन् । मैनबत्ति बनाएर बजारमा लगि बेचेर आफ्नो दिनचर्या गुजार्दी रहिछन् उनले ।
    उनले सहयोग मागिन् । मैन किनेर ल्याउन पैसा चाहिएको कुरा बताए पछि मैले सहयोगको बचन दिएँ । मैले गरेको सहयोग तीन महिनामा फिर्ता गर्छु भनेकोले मैले उनलाई सम्झाएँ । कुरो त्यसो भएन । मान्छेको मन भित्र कपट बसे पछि चिन्न गाह्रो हुँदो रहेछ । उसै त भगवानले ठगेर आँखा नदेख्ने बनाए । मान्छे भित्रको आँखाले पनि ठगे पछि झनै पीडा महसुस भयो । उनको कोठा जोरपाटीमा थियो । चिया खान दिईन् । खाजा भनेर चिउरा दिईन् । म बेहोस जस्तै भएछु । राति उनकै कोठामा सुतेछु । मन एकोहोरो भयो । होस नै गुमेको महसुस भयो । त्यस पछि के भयो मलाई केहि थाहा भएन । भोलिपल्ट ७ बजे बिउँझदाँ म उनकै कोठामा सुतेको रहेछु । त्यतिबेला उनले आफ्नो शारिरीक प्यास मेटाएकी रहिछन् । मलाई बेहोस बनाएर उनले लिएको मज्जाको बदला म सँग भोलिपल्टबाट लिन थालिन् । म निराश भएँ । सहयोग फिर्ता लिन गएको ब्यक्ति मलाई चियामा औषधी पिलाई शोषण गरेकोमा गाली गरे । मैले दिएको पैसा फिर्ता मागें । मैले पनि ऋण गरेर दिएको थिएँ । बुबा आमाको श्रम बुझेको थिएँ । आफुले बगाएको पसिना सम्झाएको थिएँ । पैसा माग्दा गाली गरिन् । म पैसा दिन्न बरु मलाई विवाह गर नत्र तिमीले मलाई कोठामा गरेको जर्बजस्ति घटनाका बारेमा हल्ला गरिदिन्छु । म नबोली आफ्नै कोठा किर्तिपुर फर्के । केहि महिना पछि उनले मलाई फोन गरिन् र भनिन मलाई स्विकार म गर्भवती भएको छु पेटमा तिम्रो गर्भ छ । म तयार हुन सकिनँ । धम्काउन थालीन् । पछि बच्चा पनि जन्माईछिन् । त्यसपछि मलाइ दबाव दिन शुरु गरियो । मलाई दलित आयोगमा पु¥याईन् । त्यतिबेला दुई जना व्यक्तिलाई २०÷२० हजार पैसा दिई कुटाउन समेत लगाईछन् । धेरै दबाव दिए पछि मैले ठिक छ कागज बनाई दिन्छु तर मलाइ स्वतन्त्र रुपमा हिड्न दिनुपर्छ मेरो बाटोमा अवरोध गर्न पाइदैन भने पछि सहमत भए । तर उसले मलाई केहि चाहिदैन बच्चाको जन्मदर्ताको कागज भए पुग्छ, तिमी गरिब छौ पैसा छैन त्यो पैसा आधा आधा गरौंला भन्दै राज्यबाट आउने १ लाख पैसा झिक्न लगाए । दलित र गैह्रदलित विवाह गर्दा पैसा आउने रहेछ । पैसा निकालियो । सबै कार्य पूरा भए पछि म छोडपत्र गरि दिन्छु भनेका थिए । पैसा पनि आधा दिन्छु भनेको दिएनन् । बच्चालाई लालन पालन गर्नु पर्छ म राख्छु भने पछि त्यो पैसा दिन नमानेको बताए । सबै काम पुरा भए पछि अब अलग हुने भनि जिल्ला अदालतमा जाउँ भन्दा उनले मानिनन् । उल्टै जेल हाल्ने धम्की दिइन् । पछि बल्ल बल्ल सामान्य तर कानूनी रुपमा केहि राहत मिल्ने गरि कानुन ब्यवसायीको मातहतमा सहमती पत्र बनाउने कुरो भयो । कानुन ब्यवसायीको कार्यालय माइतिघरमा आयौ । उहाँकोमा गरिएको कागज अनुसार हामी दुबै स्वतन्त्र भएको बताउनु भयो । तर पनि उनले मेरो चरित्र हत्या गर्ने कार्य गरिरहिन् । म पनि ढुक्क भए कानुन ब्यवसायीकोमा गरेको सहमतिले केहि हुदैन भनि अर्को विवाह गर्ने तयारीमा जुटे । मैले जसलाई ६ वर्ष देखि मनपराई रहेको थिए उनले पनि मानेको अवस्थामा हामी विवाहका लागि राजी भएका थियौं । परिवार दुबै सहमत भए पछि हाम्रो विवाह भयो । हाम्रो विवाह भएको जानकारी पाए लगत्तै उनले फेरी प्रहरीकोमा उजुरी दिईछन् । विवाह भएको ३ दिनमै हामी प्रहरीकोमा आयौं । एकरात हिरासतमा बस्यौं । अदालतले हामीलाई अंश बापतको थप क्षतिपूर्ति दिन आदेश दियो । ३ लाख रुपैयाँ दिने गरी हामी कारागारबाट मुक्त भयौं । त्यो घटना जीवनको पहिलो घटना थियो । सबैभन्दा ठुलो गल्ति मैले सहयोग गर्नु थियो । सहयोग गर्दा फसेको म जस्तो ब्यक्ति अरु पनि होलान् । म त परें परें तपाईहरु पनि यस्तो संकटमा पर्नु होला ? सचेतनाका लागि मैले आफ्नो पीडा यहाँ प्रस्तुत गरेको हुँ । कानूनको दुरुपयोग यसरी भईरहेको बारेमा सबै सजग हुनु आवश्यक छ ।

रामेश्वर कार्की
काठमाडौ