2026 June 06/ 11:57: 05am

    श्रीमान्को विश्वास नगरांै भएन । श्रीमान्को भन्दा अरु ब्यक्तिको विश्वास गर्न थाले पछि हुन्छ के ? कस्तो बन्छ होला जीवन ? सोचौं त एक पटक । मान्छे के कुराले सन्तुष्ट बन्न सक्ला ? कसरी सन्तुष्ट हुन सक्छ ? को बाट सन्तुष्ट बन्ला ? खुशी र सुखी हुने वाहना वा चाहना के के हो के के ? मान्छेहरु विस्तारै संकटमा फस्दै गएको अनुभूति हुन थालेको छ । आफ्नो ब्यथा भन्ठान्यो । धेरैले केहि न केहि भोगाई भोगेकै हुँदा रहेछन् । दुर्गम सुगम जिल्लाको बनोट नै यस्तै छ । केलाई सुगम मान्ने ? सडक, बत्ति, खानेपानी, बिजुली, शिक्षा वा अरु कुनै ? मैले देख्छु सुगम मान्छेको चेतना हो । चेतना भयो भने जस्तोसुकै संकटमा पनि मान्छे सुखको अनुभूति गर्न पुग्छ । सुखानुभूती गर्न पाउनु मान्छेका लागि स्वर्ग भन्दा ठुलो कुरा हो । हुन त मान्छे स्वर्ग र नर्कको बयान गर्छ । उसले भोगेर आएको त होईन । धार्मिक ग्रन्थहरुमा लेखेकै आधारमा मान्छेले आफ्नो सृष्टि, विश्वास र कर्म चलाईरहेको छ । त्यसमै मान्छे कहिले युद्ध गर्छ । कहिले बहस गर्छ । कहिले त्यहि ग्रन्थ झुटो भन्दै निहुँ खोज्छ । धर्म, पापका कुरा गर्छ । श्रीमती, छोराछोरी र श्रीमानसँगको सम्बन्ध राम्रो छैन । श्रीमती र परिवारका लागि दुःख गर्न गएको श्रीमान् घर फर्कँदा कोहि हुँदैनन् । श्रीमान्हरुको पनि रामकहानी छुट्टै होला । तर पनि समाजमा रोपिएको, घोलिएको विषले एक पछि अर्काे गर्दै अश्लीलता, अपराध बढाएको छ ।
    विकट गाउँमा जन्म भयो । हाम्रो गाउँमा पढेका मध्ये अधिकांश ब्यक्तिहरु कर्मचारीका रुपमा कार्यरत छन् । पहिले त गाडी पनि चल्दैन थियो । बाटो पनि थिएन । हिडेर जानु पर्ने थियो । नुन तेल मसला लैजाँदा गाउँमा भएको घिउ वा अन्य केहि उत्पादन हुने बस्तुहरु हामी विक्रीका लागि ल्याउने गर्दथ्यौं । हामीले त के दुःख ग¥यौ होला र हाम्रा बाबु बाजेहरुले धेरै दुःख गरेको अनुभूति हुन्छ । त्यहि दुःखमा हुर्केकाले हामीलाई कमै थाहा भयो । हाम्रा सन्तानलाई अझै कम थाहा हुन्छ । गाउँमै जन्मिएकाले गाउँका सबै सुख दुःख थाहा छ । बुबा आमाले मलाई हुर्काउन गरेको मेहनत र दुःख पनि विर्सिएको छैन । गाउँमा मेरा सहपाठीहरुलाई पनि विर्सिएको छैन । मलाई शिक्षा दिने गुरुहरु पनि विर्सिएको छैन । उतिखेर गुरुहरुको सम्मान, माया, आदर कुरा गरी साध्यै छैन । पहिले गुरुलाई आदर गथ्र्याै अहिले विद्यार्थीले गुरुले आदर गर्नु पर्ने अवस्था छ । समयले कोल्टो फेरेको छ । ठुलालाई आदर गर्ने, सम्मान गर्ने, माया गर्ने भन्ने कुरा हराउँदै गएको छ । आफै जान्ने, आफै सुन्ने र आफूले भनेकै हुनुपर्छ भन्ने अहंम्ता बढ्दै गएको छ ।
    कर्म, भाग्य । कसलाई दोष दिऊँ म ? मान्छेका आ–आफ्नै भोगाईहरु हुन्छन् । मेरा पनि आफ्ना भोगाईहरु छन् । कहिलेकाँहि लाग्छ संसारमा किन मानवचोला भएर जन्म लिन पुगें होला ? सोच्छु हामी जस्तो प्राणीले जीवनबाट किन हार खानु ? थुप्रै प्रश्नहरुको चाङ्गबाट मैले निश्कर्ष निकाल्छु तब न मान्छेको जीवन । ढुंगा हो र ? मान्छेको मन त पग्लिन पनि सक्छ । कठोर बन्न पनि सक्छ । दुःख सुखको अनुभूति गर्न पनि सक्छ । समाज परिवर्तनका लागि उसको जीवन अर्पण गर्न पनि सक्छ । मरेपछि पनि उसले आफ्नो कृति फैलाउन सक्छ । रुख हो र ? घाँसपात हो र ? वा कुनै भौतिक चिज हो र मान्छेको जीवन ? कि धरहरा जस्तो बन्नु प¥यो । त्यसका लागि पनि थुप्रै चुनौती होलान् । मान्छेको विवेक मात्रै प्रयोग गर्ने हो भने उसले पाउने हरेक सुख सुविधा, ऐस आराम सबै उसको मन भित्रै छ । उ भित्रै छ । असन्तोष पनि मान्छे नै हो । एक पछि अर्काे गर्दै प्राप्त गर्न खोज्ने पनि मानव नै हुन् । बुबा आमाको त्यो देनलाई मैले भुल्न सक्दिन । गाउँबाट अध्ययनका लागि शहर गएँ । काठमाडौमा कोहि आफन्त थिएन । चिनजान पनि थिएन । अहिले जस्तो कोठा पाउने अवस्था थिएन । सानोतिनो काम पनि गर्दै गएँ । अल्झने बाटो भएपछि मलाई सहज पनि भयो । तर मैले सरासर उत्तिर्ण भने गर्न सकिनँ ।
    बुबा आमा गाउँमै हुनुहुन्थ्यो । केहि वर्ष पछि मैले विवाह गरें । काठमाडौबाटै नागरिकता बनाएँ । पछि राहदानी पनि बनाएँ । त्यसकै आधारमा म बहराईन पुगे । यता मेरो श्रीमती र परिवार डेरामा बस्दै आएको थियो । दुःखको कुरा कति कोट्याउँ ? श्रीमतीहरुलाई श्रीमान्ले के के गर्नु पर्ने हो ? अधिकारका कुरा धेरै छन् । पुरुष पीडित भएको, अधिकार हनन् भएको कसैले देख्दैन । सुन्छु पुरुष पीडित भएको घटनामा खासै न्याय छैन । महिलाहरुले जे जे गर्दा पनि कानुन लाग्ने पुरुष हिंसा हुँदा कानुन छैन । होला धेरै श्रीमान्हरुकै कारण पनि त्यस्तो होला तर महिलाहरुले गर्ने के ? श्रीमतीहरुलाई ऐश आराम, सम्पत्ति सबै उपलब्ध गराउँदा पनि पुग्दो रहेनछ । खाँडी मुलुकमा ४५ डिग्री चर्काे घाममा गाउँ, परिवेश देश बिर्सिएर पसिना बगायो यता श्रीमतीहरु श्रीमान्का नाममा मोजमस्तीमा ब्यस्त हुँदा रहेछन् । बैदेशिक रोजगारीको सिलसिलामा केहि वर्ष अघि बहराईन पुगें । फर्किए पछि बेरोजगार छु । गाउँबाट शहरसम्म आएर अध्ययन गर्ने वातावरण मिलेको थियो । बैदेशिक रोजगारकै कारण मेरो परिवार टुटेको छ । विवाह गरेर ल्याएकी श्रीमती म सँग छैनन् । पैसा भयो सम्बन्ध भएन । पैसा कमाईयो परिवार जोगाउन सकिएन । मबाट जन्मेका दुई छोरी छन् । आमा, बुबा र दुई छोरी सहित पाँचजनाको परिवार छ । तर म एक्लै बस्दै आएको छु । एक्लै रमाउन थालेको छु । बहराईनमा बस्दा श्रीमतीसँग केहि समय मेरो सम्बन्ध राम्रो थियो । दुई छोरी जन्मिएका थिए । उनको सम्बन्धमा विविध कारणबश खट्पट भयो । मैले गल्ति नै केहि गरेको थिएन । बरु उनी नेपालमा हुँदा उनले अरु सँग राखेको सम्बन्धका बारेमा मलाई जानकारी थियो । घर बिग्रने डरले मैले कसैलाई केहि भनिनँ । पछि नेपाल आए लगत्तै मेरो मोबाईलमा उनले राखेको सम्बन्धका तस्विर र भिडियोहरु आउन थाले । म छाँगाबाट खसे झै भएँ । के गरौं के नगरौं ? मैले केहि भन्न नपाउँदै म विरुद्ध प्रहरीमा उजुरी दिएकी रहिछन् । प्रहरीले मलाई श्रीमती माथी हिंसा गरेको अभियोगमा पक्राउ गरियो । मुद्दा चलाईयो । उनले श्रीमतीलाई जर्बजस्ति करणी गरेको अभियोगमा मुद्दा दर्ता गरिन् । जुनदिन खट्पट भयो त्यहि दिन देखि मलाई फसाउन उनले बाटो हेरिरहेकी रहिछन् ।
    श्रीमतीले दिएको मुद्दाका आधारमा म शुरुमा हिरासतमा बसें । मेरा आफन्तले उनिसँग कुरा गराउन खोजें । मैले उनले दिएको यातनाका बारेमा बुझ्न सकिनँ । उनलाई मसँग जिउन मन नलाग्दा नबस्न मिल्छ भन्ने जवाफ दिएँ । उनका कर्तुत लुकाउन उल्टै मलाई उनले षड्यन्त्रपूर्वक हिरासतमा पठाईन् । प्रहरीले गरेको अनुसन्धान सहि थियो । तर अदालत पठाउनै प¥यो । अदालतमा मैले मेरो कानून ब्यवसायी तथा आफै पनि आफ्नो पीडा र बास्तविकता बुझाउने प्रयास गरें । बहराईनबाट पठाएको पैसा नभएको कुरा सुनाएँ । छोरीहरुको पीडाका बारेमा बताएँ । सबै उनै जस्ता त हुँदैनन नि ? न्यायाधिशले मेरो पक्षमा फैसला सुनाए । उनको र मेरो सम्बन्ध त्यहि दिन देखि अन्त्य भयो । उनले अंश बापत लिने भन्दा धेरै रकम लिएकी थिईन् । छोरीहरुले बाबुसँग बस्ने भनेकाले मलाई थप सहज भयो । तिनै छोरीहरुको अनुहार हेरेर मैले जीउने प्रयत्न गरें । अदालतले उनले मलाई मोबाईलमा पठाएका अश्लील सामाग्रीका आधारमा सम्बन्ध विच्छेद गरिदिएको थियो । पछि उनी त्यहि केटासँग केहि समय बसेर अन्यत्र गएकी रहिछन् ।
    एकदिन छोरीहरुलाई छाडेर म गाउँ गएको थिएँ । उनले छोरीहरु दुवैलाई जर्बजस्ति उठाएर लगिछन् । पछि थाहा भयो । छोरीहरुलाई सम्पर्कमा आउन दिईनन् । उल्टै छोरीहरुलाई मैले बेपत्ता बनाएको भनेर प्रहरीमा जाहेरी दिईछन् । उनले किन त्यसो गरिरहेकी छिन् ? म आफै दंग परिरहे । उनकै आफन्तले उनलाई सम्झाउने प्रयास गरे । छोरीहरुको रेखदेखका लागि विवाहको कुरा चल्यो । मैले मानिन । कानूनी रुपमा विवाह गर्न सहज भए पछि ठिकै छ नि त काममा जानुपर्छ छोरीहरुको रेखदेखका लागि विवाह आवश्यक छ भन्ने लागेर मैले विवाह गर्न राजी भएँ । विवाह गर्ने दिनमा उनले कसरी थाहा पाईन् मन्दिरमै आएर झगडा गरिन् । जबकी उनको अधिकार क्षेत्र भित्र थिएन । मैले विवाह गर्न लागेकी महिला माथी जाई लागिन् । मेरो सौता बन्ने ? देखिनस् मेरा दुई छोरीहरु ? उनका तिखा बचनले उनलाई झनै तनाव भयो । उनलाई सबै कुरा भनेर विवाह गरेकाले त्यस्तो असहज त भएन तर उनको ब्यवहारले हामी सबै आजित भयौ । आखिर मान्छे चाहन्छ के ? त्यस्तो किन गर्छ ? केहि गरी पनि सन्तुष्ट हुँदैन ? उनको राम्रो होस् । मेरो राम्रो छ । उनि अहिले सम्पर्कमा छैनन् । जहाँ भए पनि उन्नति र प्रगतिको कामना गर्छु ।

सिर्जल भुजेल
धुलिखेल, काभ्रे