2026 June 06/ 11:58: 17am

    सिन्धुली जिल्लामा ३५ वर्ष अघि मेरो जन्म भयो । अहिले पनि छोरा र छोरीमा विभेद छ । त्यतिबेला झनै कस्तो थियो होला ? यो सबैले भोगिसक्नु भएको होला । छोरा जन्मिएन भनेर श्रीमतीलाई सौता ल्याउने चलन रहेछ । न कोहि बोल्न सक्थ्यो न कसैको सहानुभुति ? सुन्दा कथा जस्तो लाग्ला । बास्तविकता त्यहि थियो । श्रीमती स्वंयमले मबाट छोरा जन्म हुन सकेन तपाईले अर्काे विवाह गर्नुस मेरो राजी छ भनेर अनुमति दिनु पर्दथ्यो । नभए माईती पक्षबाट पनि सहमति हुन्थ्यो । घरबाट हुने दबाब त बयान गर्नु जरुरी नै छैन । त्यतिबेला छोरा नजन्मनुको दोष महिलालाई मात्रै दिईन्थ्यो । अहिले शिक्षा र चेतनाका कारण फरक भए पनि शिक्षित ब्यक्तिहरु पनि छोराकै आशमा हुन्छन् । कयौ पटक गर्भपतन गराउँछन् । छोरा र छोरी विभेद पहिले अशिक्षाका कारण हुने गरेको थियो भने अहिले धेरै शिक्षा भएर हुने गरेको छ । दर्जन धेरै सन्तान जन्माउने प्रचलन पनि त्यहि कारण थियो । अहिले ब्यक्तिमा आएको परिवर्तन र चेतनाले सन्तान एउटा मात्रै जन्माउन शुरु गरिएको छ । जनसंख्या दर घटिरहेको छ । विद्यालयमा बालबालिकाहरु शुन्य हुन थालेका छन् । जनसंख्या घटिरहँदा राज्यका धेरै योजनाहरुलाई प्रभावित बनाईरहेका छन् ।
    त्यहि अन्धविश्वास, कुरीती, कुसंस्कृति र छोरा नै चाहिन्छ भन्ने सोचको हावी हुँदा पीडित भएको परिवारको सन्तान हुँ म । दोश्रो पटक पनि छोरी जन्मिएको भन्दै बुबाले मेरी आमाको अनुमति विना अर्काे श्रीमती विवाह गर्नु भएको रहेछ । जसलाई कानून र ब्यवहारले पनि सानीआमा भन्नुपर्ने थियो । स्विकार्नु बाध्यता थियो । विद्रोहको सम्भावना पनि थिएन । त्यसले हामीलाई कता लैजान्थ्यो भन्न सकिदैन थियो । जब बुबाले अर्काे श्रीमती विवाह गर्नु भयो त्यहि बेला देखि हाम्रो हेरचाह हुन छाड्यो । उहाँको संरक्षण हुन छाड्यो । बाबु भएर पनि हामी टुहुरा भएको अनुभुति हुन थालेको थियो । आमालाई पनि श्रीमान् भएर पनि मरेको अनुभूति भएको थियो । तर पनि श्वास छउञ्जेल आस । चुपचाप सहनुको विकल्प थिएन । आमाको चाहनाको बेवास्ता थियो । आवश्यकतामा मतलब थिएन । हामी केटाकेटीहरुको विषय नै भएन । जसले जीवनभर साथ दिन्छु भनेर विवाह गरेर ल्याएको छ उसैले छोरा जन्मिएन भन्दै ५ वर्ष नपुग्दै अर्काे श्रीमती ल्याउँछ भने उसलाई के भनौं ? उसका बारेमा कसरी बयान गरौं ? कुन शब्दले उहाँलाई सम्मान गरौं ? दोश्रो पटक विवाह गरेर ल्याएकी महिलाबाट पनि छोरा जन्मिएनन् भने पुरुषहरुले तेश्रो, चौथो श्रीमती विवाह गर्नु सामान्य ठान्दा रहेछन् । तर उनिहरुलाई के हेक्का हुँदो रहेनछ भने छोरा नजन्मनुमा श्रीमतीको भन्दा श्रीमान धेरै जिम्मेवार हुन्छन् । पुरुषका कारण छोरा र छोरी जन्मने कुराको चेत त्यतिबेला कसले सिकाईदिने ?
    बाबुले दोश्रो विवाह गरे पछि हामी मुल अभिभावक विहिन भयौं । आमाले गर्भवति अवस्थामा भए पनि सकुन्जेल दुःख गरेर हाम्रो पेट पालि दिनु भएको थियो । सुत्केरी अवस्थामा हामी ८÷१० बर्षका छोरीहरुले खोलाको बगरमा गिट्टी कुटेर आमालाई खोले खुवाउन सहयोग ग¥यौं । बच्चा उमेरमा गिट्टी कुट्दा धेरै पटक हात कुटिएको घटना सम्झनै सकिदैन । धेरै पटक रोएको छु । ढुंगा ल्याउन नसक्दा पनि रोएको छु । हम्बर र ढुंगा कुटदा कुटुकुटु मन दुखिरहेको हुन्थ्यो । तर पनि हामी आमाबाट भाई जन्मोस् भन्ने चाहन्थ्यौं । भाई नै नभएकाले हामीले घरको मुल अभिभावक गुमाएका थियौं । नभन्दै भगवानले कतै न कतै हेरिरहेका हुने रहेछन् । आमालाई छोरा नै जन्माउन सक्दिनस् भन्ने आरोपबाट मुक्त गरायो । आमाबाट भाईको जन्म भयो । घरमा खुशियाली छायो । हामी भन्दा धेरै आमाको मन हँसिलो भयो । सुत्केरी हुँदाको पीडा आमालाई थाहा थियो । अझ सौता ल्याउँदा भोग्नु परेको पीडा उहाँलाई बाहेक अरु कसलाई थाहा हुन्छ र ?  जन्मिएको भाईलाई संरक्षण गर्न आमा गाउँ छाड्ने निर्णयमा पुग्नु भयो । जुन निर्णय चुनौती र अवसर दुबै हुन सक्थ्यो । त्यतिबेला एउटी महिलाले गरेको हिम्मतिलो निर्णय आज पर्यन्त गर्विलो बन्न पुगेको छ । हामी खुशी छौं । ति दुःखहरुको भोगाईमा आमाको उच्च मनोबल र उहाँले देखाउनु भएको कुशल ब्यवस्थापनले सन्तुष्ट पनि दिएको छ । काम हाम्रा लागि सानो ठुलो हुँदैन थियो । गिट्टी कुट्ने बाहेक हामी अरु जे सकिन्छ त्यहि काम गर्दथ्यौं । ब्यक्तिको घरमा काम गर्ने, लुगा धुन जाने, घर पोत्न जाने, विवाह ब्रतबन्धमा गाउँभरीका मान्छेहरुले खाएको भाँडा माझ्ने हाम्रा नियमित काम हुन्थे । पैसा दिएर गराउने सबै काममा सक्रिय सहभागिता त हुन्थ्यो नै कहिलेकाँहि हामी गरिब भएकाले, एकल भएकाले पैसा नदिकन भावनात्मक आधारमा काममा बोलाएको स्थानमा पनि जाने गरेका थियौं ।
    दिदी म भन्दा ५ बर्ष जति जेठी हुनुहुन्थ्यो । उहाँलाई सहि बाटो देखाउने कोहि भएन । कलिलै उमेरमा रामेछाप जिल्लामा विवाह गरेर गई सक्नुभएको थियो । आमा पछि छोरीको पनि उहि थियो ब्यथा । पढाउने, ठुलो बनाउने र अनि विवाह गरेर पठाउने हामी गरिवको घरमा सम्भव पनि थिएन । दिदी विवाह गरेर गए पछि आमासँग म र भाई मात्रै भयौं । गाउँ छाडे पछि हामीले फरक खालको दुःख पायौं । संर्घष अलग्गै हुन थाल्यो । केहि वर्ष संर्घषमै बितायौं । बाटोमा मकै पोल्ने, भारी बोक्ने, घर सरसफाई गर्ने, सुत्केरी महिलालाई तेल घस्न जाने, कपडा धुन जाने नियमित काम थिए । तर पनि हामीलाई सहज हुने अवस्थामा हामीले कामलाई कहिल्यै सानो ठुलो भनेनौं । एक पटक आमा हामीलाई लिएर शौचालयको सेफ्टी ट्याकी सफा गर्न जानु भएको थियो । सन्तानको खुशीका लागि एउटी आमाले गरेको दुःख र संर्घष शब्दमा वर्णन गर्न सकिदैन । आमाको जस्तो ममता र दुःख बाबुमा हुँदैन । हुँदो रहेनछ । सन्तान भएर नाक फुलाउने बाहेक बाबुहरुले आमाको जस्तो ममता दिन सक्दैनन् । मेरो निश्कर्ष त्यहि हो । भगवानले हामीलाई ठगेको थियो । त्यसरी हुर्केको हाम्रो परिवारमा अर्काे बज्रपात भयो । आमालाई ढाड नचल्ने रोग लाग्यो । अब त झन हाम्रो विल्लीवाठको प्रक्रिया सुरु भयो । उपचार गर्ने पैसा नहुँदा आमा धेरै ब्यक्तिको शरणमा पुग्नु भयो । म ९ बर्षकी सानी, भाई सानो यस्तो अवस्था देखेर धेरैले दया राख्थे तर खुलेर सहयोग गर्न सक्दैन थिए । कसको सहयोगमा हो मलाई थाहा छैन तर मलाइ अनाथालयमा राखियो ।
    आमा आफै विरामी, अशक्त भएकाले हामीलाई सँगै राख्न सक्ने अवस्था भएन । अनाथालय गए पछि पेटभर खान पाउने भए । तर सधै त्यस्तो भएन । सबै अनाथालय पनि त्यस्ता हुँदा रहेनछन् । यो त्यतिबेलाको कुरा हो । अहिले त अनुगमन पनि होला । कारवाही पनि होला । त्यहाँ मैले सक्ने नसक्ने सबै काम गर्नु पर्दथ्यो । मेरो आशा निरामा परिणत भयो । भाँडा माझ्ने, लुगा धुने खाना पकाउने जस्ता कठिन कामहरु गर्न बाध्य भएँ । अध्ययनका लागि कक्षा ३ मा भर्ना भएँ । सबै काम भ्याएमा मात्र विद्यालय जान मौका पाउथेँ । काम नभ्याउदा विद्यालय जाने अवसरवाट वञ्चित हुन्थेँ । करिब ८ बर्ष अनाथाश्रममा बालश्रम गरे । त्यहाँका थुप्रै भोगाईहरु छन् । पलपलका अनुभुतिहरु रहे । गरिब हुनु, बुबाले अर्काे श्रीमती विवाह गर्नु बच्चाहरुका लागि यातना थियो । श्रीमतीको झोकले बच्चाहरुलाई दुःख दिनु अपराध जस्तै लाग्यो मलाई । आमालाई निको हुँदै गएको थियो । भाइलाई पनि विद्यालय पढाउनुपर्ने उमेर भइसकेको थियो । म बसेकै अनाथाश्रमबाट उसलाई विद्यालय पठाउन लागियो । आमासँग भेटघाट भईरहन्थ्यो । आमा बसेको घरमा त्यस्तै दुःख पाएको परिवार थियो । दुबै परिवारको दुःख सुख एक अर्काका लागि जीउने आधार बनेका थिए । उहाँको परिवार र हाम्रो परिवार विच घनिष्टता बढ्दै गयो । पारिवारिक घनिष्टताकै कारण त्यो परिवारको छोरा सँग मेरो घनिष्टता बढ्यो । १७ वर्ष लाग्दै थियो हामीले विवाहको कुरा ग¥यौं । प्रेम भयो विवाह अस्विकार भयो । उसको आमा मसँग विवाहका लागि तयार हुनु भएन । खै कस्तो प्रेम ग¥यौ हामीले बाल्यकालमै । फेरि एकपटक जीवन तहस नहस बनायो । अन्धो प्रेममा पागल भएका हामी बाल्यकालमै आमा बन्ने भई सकेछ । समस्या बढ्दै गयो । हामी दुबै जना भाग्यौं ।
    दोश्रो पटक अर्काे संर्घष शुरु भयो । आमा बन्ने सौभाग्यसँगै मजदुरी गर्नु पर्ने थियो । हामी दुबै जना त्यहि काममा लाग्यौ । फर्निचरमा काम गर्दा उहाँले केहि सिप जान्नु भएछ । त्यहि सिपका आधारमा श्रीमान्ले फर्निचर खोल्ने निर्णय गर्नु भयो । फर्निचर राख्न मजदुरी गरेर जम्मा गरेको पैसाका साथै सहकारीले थोरै ऋण विश्वास ग¥यो । सायद हाम्रो मेहनत र विश्वासका कारण पनि होला । त्यहि ऋणबाट शुरु भएको हाम्रो ब्यवसाय लोडसेडिङ्गका कारण निरन्तर हुन सकेन । लोडसेडिङ्ग बाधक थियो । अझ हामी जस्ता पीडितहरुका लागि त झनै ठुलो समस्या थियो । फर्निचर चलाउन गाह्रो भए पछि धेरै चिन्ता लाग्यो । हामी भाडामै बसिरहेका थियौं । फेरी ऋण काढेर जग्गा भाडामा लिएर तरकारी खेती गर्न थाल्यौं । विस्तारै आर्थिक अवस्था सुध्रदै जान थाल्यो । भक्तपुरमा साँढे २ आना जग्गा पनि आफ्नै नामको किन्न पायौं । मेरो सिलाइ कटाइ गर्ने सपना पनि पूरा भयो । तीन महिने सिटिभिटिको तालिम पाएँ । यो पेशालाइ पनि निरन्तरता दिए मैले । फर्निचर छाडेर विदेश जानु भएका श्रीमान कोरोनाका कारण फर्कनु प¥यो । केहि कमाई भए पनि नेपालमा फर्किए पछि हामीले जान दिएनौं । अहिले सबै मिलेर तरकारी खेतिमा छौं । समयमै मल र विउ नहुँदा कृषकलाई समस्या छ । उत्पादन भएका सामाग्रीको मुल्य नपाउँदा झनै समस्या छ । तर पनि हामी संघर्षमा खुशी छौं । संकटमा सहँदा सन्तुष्टि मिल्दो रहेछ । आफ्नै घर निर्माण गरेर बन सकेका छौं । यो भन्दा ठुलो गर्व र खुशी हामी गरिबहरुका लागि के होला र ?

सुशिला खत्री
कमलविनायक, भक्तपुर