संसार विचित्रको छ । धर्म, कर्म अनि जिम्मेवारी । माया, ममता र आशा । जसका लागि अभिभावकले संसार त्यागेका हुन्छन् । सपना विर्सिएका हुन्छन् । चाहना मारेका हुन्छन् । भोक, प्यास, निद्रा, रोग सबै विर्सिएका हुन्छन् । तर पनि मान्छेले यो दुःख देख्दैन । सन्तानका लागि अभिभावकले गरेको दुःखको कतै ब्याख्या पनि हुँदैन । अभिभावकले हिसाब पनि राख्दैनन् । ९ महिना गर्भमा बोकेर जन्माएका सन्तान सबै उस्तै हुन्छन र ?
आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । उनै आमालाई पुज्ने भन्दा पनि घरबाट निकाल्दा कुन चाँहि सन्तानले न्याय गरेको ठहरिएला ? शास्त्रमा पनि आमालाई पिता भन्दा पनि धेरै माथिको ओहोदामा राखिएको छ । संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा । तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन् । सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् । आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ । प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ । गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ । ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ । एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन् । हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने तागत सिर्फ आमामा मात्र हुन्छ ।
आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान् । नेपोलियन बोनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु । नेपोलियनले असल पिता किन मागेनन् ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जो आमाभन्दा असल होस् । आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् । सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सयमुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस् । सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ । कसैको सफलतामा कोही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन् । आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् ।
आमा पहिलो औषधि हुन् । अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो । सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पोल्छ ती आमा नै हुन् । एकपटक स्वामी विवेकानन्दले आमाको बारेमा सोध्ने एक जना ब्यक्तिलाई भन्नु भएको रहेछ । तिमी यहाँबाट बाहिर जाउ र दुई÷तीन किलो वजनको ढुङ्गा ल्याएर आउ । व्यक्ति ढुङ्गा लिन जान्छ र हतरपतर गरेर ढुंगा लिएर आउँछ र स्वामीलाई ल्याएको जनाउ दिन्छ । स्वामीले त्यो ढुङ्गालाई एउटा कपडामा पोको बाँधेर शर्तसहित त्यो प्रश्नकर्ताको कम्मरमा बाँध्न लाउँछन् र भन्छन्, यो ढुङ्गाको पोको तिमीले २४ घण्टासम्म खोल्न पाउने छैनौँ र २४ घण्टा पछि भेट्न आउनु अनि तिम्रो प्रश्नको जवाफ म त्यतिबेलै दिनेछु । स्वामीको सर्त सहर्ष स्विकार्दै प्रश्नकर्ता त्यहाँबाट निस्कन्छ र काममा मग्न हुन्छ । काम गर्दै गर्दा त्यो मान्छेलाई साह्रै अप्ठेरो पर्छ । सानोतिनो काम गर्दा पनि उसलाई साह्रै पीडा महसुस हुन्छ । कम्मरमा बाँधेको त्यो ढुङ्गाको भारीले धेरै चोट दिन थालेपछि प्रश्नकर्ता २४ घण्टा नबित्दै हतारहतार स्वामी कहाँ जान्छ र आफूले त्यो ढुङ्गाको भारी अब धेरै बेरसम्म थेग्न नसक्ने बताउँछ । तब स्वामीले भन्छन्, तिमीले यो जाबो ढुङ्गालाई २४ घण्टा त पेटमा बाँधेर राख्न सक्दैनौ भने, एउटी आमाले आफ्नो बच्चालाई ९ महिनासम्म कसरी पेटमा राखेर बस्न सक्छिन् होला ? एकातिर गर्भमा बच्चा, अर्कोतिर घर पनि उनैले हेर्छिन् । सारा काम उनैले हेर्छिन् । त्यो कसरी सम्भव हुन्छ ? संसारका हरेक दुःख, कष्ट झेलेर पनि आफ्ना सन्तानका लागि लडिरहने क्षमता केबल आमामा मात्र हुन्छ । आमा महान् छिन् । त्यसैले आमाको सर्वत्र चर्चा गरिन्छ । स्वामीजीको जवाफ सुनेर प्रश्नकर्ता नतमस्तक बन्छ ।
सन्तानको क्रन्दनमा रुँदा रुँदा सायद एक आमाको आँसु नदी जत्तिकै भिमकाय हुन्छ होला । सन्तानकै बारेमा सोचेर सायद उनका पीडाहरूले गगनचुम्बी पहाड भन्दा बडेमानका ढिस्काहरू बनाउँछन् होला । एक आमाले सन्तानको पीडामा बगाएको आँसु देखिन्थ्यो भने, सायद आठौं महासागर आमाकै नामबाट बन्थ्यो होला । सन्तानका लागि एक आमाले पाएका पीडालाई सङ्गाल्ने हो भने सबैभन्दा अग्लो हिमालको नाम आमाकै नामबाट हुन्थ्यो होला ! सन्तान हुर्काउँदा यति पीडा सहन्छिन्, यति आँसु पिउँछिन् तर त्यसको वहिखाता आमाले कहिल्यै पनि राख्दिनन् । किनकी आमालाई त आफ्नो सन्तानलाई माया गर्न मात्र आउँछ । आमालाई कखरा त्यति राम्रो आउँदैन तर पनि सबथोक जान्दछिन् । सन्तानलाई परेको चिन्ता । आफ्नो सन्तानलाई परेको पीडा । आमाले मेरा हरेक भावानाहरू मज्जाले पढ्न सक्छिन् । मलाई के चाहिएको छ, त्यो आमालाई प्रष्ट थाहा हुन्छ । मेरा चाहनाहरूको लागि मात्र उनले राप र ताप सहेकी छिन् । कहिलेकाहि यस्तो लाग्छ, एक सन्तानको श्वासमा नै एक आमाको सास अड्केको हुन्छ । म हाँस्दा सबै सँगै हास्छन् तर म रुँदा सँगै रुने यो संसारमा सिर्फ मेरी आमा मात्र हुन्छिन् । जब एक बालक जन्मिन्छ, तब उसले नयाँँ संसार देख्छ तर आमाको अर्को नयाँँ संसार त्यो सन्तान नै हुन्छ । आफ्नो सन्तान आमाको लागि सबथोक हो । पुरै सर्वस्व हो । सन्तान भइसकेपछि एक आमाको त्यो बाहेकको अर्को कुनै संसार हुँदैन । अब आमाका हरेक इच्छा, चाहना, सुख सबै यो संसारले खोसिसक्यो । अब आमा आफैँ हासेको कहिल्यै देखिने छैन । अब आमा खुसी भएको कहिल्यै देखिने छैन । किनकी, आमाको हाँसो, खुसी सबै, उनको संसार आफ्नो सन्तानले हरिसक्यो ।
नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नम्वर ९ बस्ने वर्ष ७८ की बुद्धिसरा परियारले बर्दघाट नगरपालिका वडा नम्वर १० बस्ने आफ्नै ५० बर्षिय छोरा ओम प्रकाश परियार विरुद्ध पालन पोषण नगरेकाले पालनपोषणका साथै जेष्ठ नागरिक भएर प्राप्त गर्नु पर्ने हक प्राप्त गरी पाउँ भनी न्यायिक समितिमा उजुरी दर्ता गराउनु भएको थियो । निवेदकका तिन भाई छोरा मध्ये जेठो हरिवहादुर, माईलो ओमप्रकाश र कान्छो किरण परियार रहेकोमा सबैले पैतृक सम्पत्ति आफ्नो नाममा लिईसकेको अवस्था छ । सोही समयमा आमाको नाममा रहेको जिउनी दुई छोरा जेठो र माईलो मिलि आ–आफ्नो घर खर्च चलाउने आमालाई दुवै भाई मिलि पालन पोषण गर्ने सहमति गरेका रहेछन् । हरिवहादुर परियारले ५० हजार र माईलो छोरा ओमप्रकाश परियारले ३ लाख रुपैयाँ घर खर्चको लागि लिएको भए पनि उनिहरुले आमालाई त्यस बापत केहि नगरेको गुनासो आमाको रह्यो । न्यायिक समितिमा दर्ता भएको उजुरीका आधारमा पटक पटक छलफल भयो । यसअघि मेलमिलापकर्ता बसेर छलफल गरी सहमतिमा आए पनि कार्यान्वयन हुन सकेको रहेनछ । २०७५ कार्तिक ८ गते वडा नम्वर १० कार्यालयमा छलफल गरी दुवै भाईले दिनुपर्ने रकम दिने भनी वडाध्यक्ष राजु मिश्रको रोहवरमा सहमती भई कागजमा सहिछाप गरे । दुवैले दिनुपर्ने रकम आमालाई नदिएको साथै पालैपालो राम्रो हेरविचार गर्ने भनिए पनि माईलो छोरा ओम प्रकाश परियारको परिवार (श्रीमती, छोराहरु आफु समेत) ले अमानवीय व्यवहार गरेको, समयमा खान लाउन नदिने, बुहारीले खाना घोप्टाई दिने, नातीहरु छोरा सबैले गाली गलौज गर्ने गरेकोले जेठो छोरासंँग बस्न थालेको बताउनु भयो । जेठो छोरा संँगको व्यवहार म आफै मिलाउँछु तर मलाई माईला छोराले दिनुपर्ने रकम दिलाई दिनुहोस् भन्ने व्यहोराको गुनासो लिएर आमा बुद्धिसरा परियार २०७५ कार्तिक ११ गते न्यायिक समितिमा गुनासो लिएर आउनु भयो । विपक्षी ओम प्रकाश परियालाई म्याद सुचना पठाईयो तर त्यसको पनि अवज्ञा गरी उपस्थित हुन नमानेको भए पनि पटक पटक फोन सम्पर्क गर्ने क्रम जारी रह्यो ।
कार्तिक १८ गते दुवै पक्ष उपस्थित भई छलफल गर्दा एक मुष्ठ रकम दिन नसक्ने र किस्ता किस्ता गरी चुक्ता गर्ने सहमती भए पनि सहमती कार्यान्वयन नभएको कारण पुनः निवेदक पक्षबाट गुनासो आउने क्रम जारी रह्यो । त्यसपछि पटक पटक सम्पर्क गरी छलफलमा आउन आग्रह गरेपछि २०७६ जेठ ४ गते तिनै भाई छोरा सहित निवेदक उपस्थित भई छलफल भयो । छलफलको क्रममा दाजुले आमालाई दिनुपर्ने रकम नदिने मलाई मात्र के खाँंचो पहिले दाजुले आमालाई रकम दिए मात्र म दिन्छु नत्र दिन्न भन्ने कुराले छलफल चलिरह्यो । केही बेर पछि वडा नम्वर १० बाट स्थानीय बुद्धिजीवि तथा छिमेकी प्रकाश अधिकारी उपस्थित भई धेरै समयसम्म सम्झाई बुझाई गर्दा सबै रकम दिन सक्दिन एक लाख पचपन्न हजार मात्र दिन तयार भए । त्यति भए पनि दिनु भनी निवेदक मान्न तयार भएपछि पूर्ण रुपमा जेठो छोरासंँग वस्ने गरी तोके बमोजिमको रकम प्राप्त भए अनुरुप न्यायिक समितिबाटै मिलापत्र गरी विवाद टुङ्ग्याईको थियो । न्यायिक समितिमा बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौडेलको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको छ । समितिमा ध्रुव थारु र रुद्रप्रसाद न्यौपाने सदस्यका रुपमा थियौं । स्थानीय स्तरमा भएको उक्त छलफल पछि आमाको दायित्व र महत्व थप बुझ्यौं । सम्पत्तिका कारण आमालाई दुबै दाजुभाईले गरेको ब्यवहारले हामी लज्जित छौं । आमाको महत्व र भूमिकाका बारेमा कसैलाई सम्झाउनु पर्ला र ?
रुद्रप्रसाद न्यौपाने
बर्दघाट ९, नवलपरासी









