2026 August 20/ 02:59: 14pm

    २०४५ मंसिर २७ गते मेरो जन्म भएको थियो । परिवारमा कान्छी छोरीको रुपमा जन्म लिएकी अभागी छोरी । मेरो बाल्यकाल सुखद नै बित्यो तर कृषकको कोखमा बास लिएपछि खोजेजस्तो सुख त कहाँ पाइँदो रहेछ र ! सानैदेखि घरायसी काम गर्नुपथ्र्याे । त्यसमाथि पनि बाबुको कमाई खर्च गर्न नपाउँदाको अवस्था अत्यन्तै पीडादायी रह्यो । बाबुको कमाईमा रमाउन कुन चाँहि सन्तानलाई मन नहोला र ? गाउँको घरमा बस्ने ६ जना परिवारका सदस्य छौ । गाउँमा हजुरबुबा, ममी, २ दिदी, भाई र म । काठमाडौंमा बस्ने चार जना । बाल्यकाल बित्दै जाँदा म बुझ्ने भएपछि मलाई थाहा भयो । मेरो बुबाको अर्काे श्रीमती अथार्त मेरो सानीआमा पनि हुुनुहुँदो रहेछ । यसले मेरो जीवनमा नराम्रो प्रभाव पा¥यो । सौतेनी आमा भन्ने वितिक्कै बालबालिकामा नराम्रो छाप पर्ने रहेछ । जतिसुकै राम्रो गरे पनि सायद हाम्रो सामाजिक संरचनाकै कारण पो हो कि ? 
    २०५६ सालमा कक्षा ४ मा पढ्दै गरेको समयमा मेरो कान्छो हजुरबुबाको जेठो छोराको घरमा सानी छोरी भएकाले हेर्न भन्दै ९ महिना बसें । त्यसपछि आफ्नै घर फर्कें । समय बित्दै गयो । कक्षा ५ बालप्रकाश प्रा.वि.बाट तेश्रो भएँ । त्यसपछि अर्काे स्कूल पनौतीमा रहेको पुण्य मावीमा भर्ना भएँ । विद्यार्थी धेरै भएका कारण तथा कामको चाप दुवैले मेरो पढाई त्यति राम्रो हुन सकेन । तर पास हुँदै गएँ । २०६२ सालमा एसएलसी दिएँ । दोश्रो श्रेणीमा पास भएँ । त्यसपछि +२ पढ्नको लागि गाह्रो थियो तर पनि ममीको पूर्ण सहयोग र अठोटबाट नै मैले +२ इन्द्रेश्वरबाट २०६५ सालमा पास गरें । +२ पास भएपछि मलाई ब्याचलर लेभल अध्ययन गर्ने इच्छा जाग्यो । तर यसका लागि परिवारको सहयोग हुन सकेन । परिवारको सहयोग नहुँदा नहुँदै पनि मैले आफ्नो जिद्दि छोडिनँ र पढ्ने निर्णय गरें । तँ आँट म पु¥याउँछु भनेजस्तै मेरो जीवनमा पनि त्यस्तै भयो । स्तानक तह अध्ययन गर्न लाग्ने खर्च जुटाउन मलाई असहज थियो । तर यस समयमा भगवान भएर मेरो सहयोग गर्न मेरो ठूलो ममीको कान्छो छोरा विनोद दाई जसको सहयोग सल्लाहका साथै हौसला र प्रेरणा मिल्यो । त्यस्तै भिनाजुले पनि सकेको सहयोग गर्नुभयो । 
    इन्द्रेश्वर क्याम्पस पनौतीमा नै पढ्ने निर्णय गरें । म आफ्नै जिद्धी र हिम्मतका साथ अघि बढें । अध्ययनका क्रममा प्रथम, दोश्रो र तेस्रो हुँदै निरन्तर अघि बढिरहें । यसक्रममा विभिन्न समस्या बाधा अड्चन आइरहे ति समस्या सँग जुध्दै म अघि बढें । सबै कुरा आफूले सोचेको जस्तो कहाँ हुँदोरहेछ र ? पढाई सक्न नपाउँदै ममीलाई गुमाउनुप¥यो । त्यसपछिका दिनहरुमा न केही गर्न मन लाग्छ न घर छोडेर कतै जान नै मिल्छ । ८८ वर्षीय हजुरबुबा र भाई उनीहरुलाई छोडेर कतै जान र पढ्न असहज छ । बास्तवमा जीवन समस्याको भण्डार हो जस्तो लाग्छ । किन भने जन्म लिँदै समस्या बोकेर आएको छु झै लाग्छ । छोरी छोरी जन्मिएकै कारण बुबाले अर्की श्रीमती विवाह गर्नु भएको रहेछ । विवाह पछि मेरै ममिको कोखबाट भाई पनि जन्मिएको छ । बुबाले दोश्रो विवाह गर्नु नै मेरो जीवनको ठूलो समस्या थियो । त्यसमा पनि ममी विरामी हुनु, आर्थिक समस्या जटिल बन्नु र आज ममीलाई नै गुमाउनु जस्ता सहन नसक्ने घटना मेरो जीवनमा किन घटिरहेका छन् ? जीन्दगी नै बेकार जस्तो लाग्छ । समस्या नै समस्या । एउटा पछि अर्को गर्दै समस्या थपिदै मात्र जान्छ । पहिलाका सबै समस्या समाधान हुँदै गएका थिए । जे नहुनु भई सकेकै थियो । तर आजको यो क्षण ममी विनाको जीवन जिउन कठिन भइरहेको छ । ममीको मृत्यु पछि केही गर्ने सोच पनि छैन । सबै शुन्य लाग्छ । अरुले गरेको मायाको केही मतलब नहुँदो रहेछ । ममीको मात्र याद आउने हरेक क्षण । ममी विना जिउनेहरुले कसरी सम्हालेका होलान् आफूलाई ? मलाई ममी विनाका क्षण र हरेक मोड सब बेकार हुन् जस्तो लाग्छ । जसको कुनै अर्थ छैन । सायद मेरो जस्तो सानीआमा धेरैका होलान् । धेरैले मेरो जस्तै समस्या भोगेका होलान् । 
    जीन्दगीभर विर्सन नसक्ने दिन बैशाख १३ गते हो  । फेरी नजिकिदै छ । भाग्य ठूलो कि कर्म, कोही भन्छन् भाग्य त कोही भन्छन् कर्म तर म के मा विश्वास गरौं ? कोहीको त जीन्दगीमा दुःखै दुःखका क्षण आउँदा रहेछन् । सानै छँदा बाबु भएर पनि टुहुरो तुल्याए झै भयो । अहिले ममी गुमाउँदाको परिस्थिति कसरी सहने र सम्हाल्ने ? २०६७ साल बैशाख १३ गतेको कुरा हो । म विहानको काम सकेर ममी र हजुरबुबालाई चिया दिएर घाँस काट्न गएँ । घाँस लिएर आउँदा १० बजिसकेको थियो । म आउनु अघि नै भाई विवाहमा गइसकेको रहेछ । खाना ममीले नै बनाउनु भएको रहेछ, म आउनु अगाडि ममीलाई गाह्रो भएको भनेर हजुरबुबाले झारफुक गरिदिनु भएको रहेछ । ममीले खाना खादिनँ भनेपछि हजुरबुबाले खानु भएछ । अनि म आएपछि ममीलाई खाना खाउँ भने । ममी सुत्नु भएको थियो । मैले बोलाए पछि उठ्नुभयो । त्यतिबेला ममीलाई कम भएको रहेछ । त्यो दिन अन्तिम थियो ममीसँग बसेर खाना खान लेखेको । मलाई के थाहा र ममीलाई गाह्रो भएको कुरा म आइपुग्दा त पहिलाको जस्तै हुनुहुन्थ्यो । अनि खाना पनि ममीले नै बनाउनु भएको थियो । कसरी विश्वास गर्नु गाह्रो भएको भनेर । 
    ममीले र मैले खाना खायौं । खाना खाएर ममी पिँढीमा सुत्नुभएको थियो । ममीले तेल लगाइदे भन्नुभयो । अनि मैले तेल लगाएर कपाल कोरिदिएँ । हजुरबुबा पारी गाउँमा जान्छु भनेर जानुभयो । घरमा ममी र म मात्र थियौं । ममीले स्याउ खाने भन्नुभयो । मैले स्याउ र अंगुर ममीलाई दिएँ र आफू पनि खाएँ । ममीले गाह्रो भएको अनि सपना पनि के के देखेको कुरा गर्नुभयो । म ममीसँग केही समय बसें । त्यसपछि गोठमा काम गर्न गएँ । घर आउँदा तल गाउँको भाउजु आउनुभएको रहेछ । भाउजुसँग पनि सपनाको कुरा गरेर रुनु भयो । मैले गाली गरें सपनाको कुरा गरेर नि हुन्छ त ? मैले चिया बनाएँ र तिनै जनाले चिया खायौं । भाउजु जानु भयो । केही समयपछि ममीले र मैले खाजा खायौं । अनि म घरको काम सकेर गोठमा गएँ त्यतिबेला ममी छाप्रोमा जानुभएको थियो । गोठको काम सकेर घर आउँदा भाई र हजुरबुबा आइपुग्नु भएछ । ममीलाई त एक्कासी के भयो के ममी कराउन लाग्नु भयो । ममी छाप्रोबाट घरभित्र खाटमा गएर बस्नुभएको थियो । ममीले सबैजनालाई बोलाउनु भन्नुभयो । मैले अंकलहरुलाई बोलाएँ । त्यतिबेला ६ बजेको थियो । ममीको बेसुरे कुरा रहेछ । ६ देखि १० बजेसम्म के के भन्नुभयो । हामी सबैले बुझ्न र विश्वास गर्न सकेनौं । ममीले जतिबेला पनि मन्सिने र मलाई भोग मात्रै दिन भन्नुभयो ममीले भने अनुसार धेरै पटक फुक्ने र मनसिने जस्ता काम अंकलले गर्नुभयो । तर ममीलाई कम भएन । एकोहोरो मन्सिने र भोग दिने कुरा मात्र गरिरहहँदा हामीले तत्काल अस्पताल लैजाने कुरामा ध्यान दिन सकेनौं । रातिको ८ बजेको थियो । त्यतिबेला खाना पाक्यो । अंकलले खाना खानु भन्नुभयो सबैजना खाना खान बस्यौ ममी पनि बस्नुभयो । ममीले खाना खान लाग्दा मेरो हात मुखमा पुगेन भन्नुभयो । अनि मैले थाल माथि राखेर खानु भनें । दुइ गाँस खाएर म अब म खादिनँ भन्नुभयो । अंकलहरु खाना खाएर फेरी आउनुभयो । ममीलाई के भएको किन भोग दिनु मात्र भन्नुहुन्छ । भोग दिए मात्र ठिक हुन्छ भन्नुभएको भन्ने कुरा कसैले बुझेका थिएनौं । ९ः३० बजेतिर धामीलाई फोन गरेर धामीले भने अनुसार गर्दा पनि ममीलाई कम भएन । अस्पताल लाने कुरै भएन । अस्पतालबाट घर आएको ६ दिन भएको थियो । अस्पतालमा बस्न नमानेर घर ल्याएका थियौ हामीले ममिलाई । खासै रोग पनि थिएन । तर प्रेसर बढेको थियो । डाक्टरले औषधि खानु पर्दैन खानामा ध्यान दिनु भनेको थियो । पाठेघरको समस्या भनेर चेक गर्दा पनि खास असर छैन भनेको थियो । तर एकाएक ममीलाई के भयो बुझ्न सकेनौं । त्यति बेला नै ममिको अन्तिम अवस्था भएको रहेछ । उहाँले हामीलाई छाडेर विदा हुनुभयो ।     मेरो मर्म र भावना ममि बाहेक कसले बुझ्छ र सुन्छ । मेरो ममी नभएपछि भन्ने भाव म भित्र आयो । अनि म अलि सम्हालिने कोसिस गरें । आफूलाई सम्हाल्न सकिनँ । म बेहोस जस्तै भएँ । चिच्याउन मन लाग्यो । रोए कराए घर जान मनै लागेन तर त्यसको विकल्प पनि त केही थिएन । ममी गुमाउँदाको पीडा जति मलाई छ, त्यो त ममी गुमाउनेहरुलाई मात्र थाहा हुन्छ । त्यसमा पनि मेरो त बाबु आमा दुवैको माया दिएर दुःख गरेर हुर्काउनु बढाउनु र पढाउनु भएको थियो । ममी गुमाउँदा सबथोक गुमाएँ जस्तो महसुस भएको छ । म आफूलाई रित्तो छु झै लाग्छ । यो संसारमा ममीले गर्ने माया अरु कसले दिन सक्छ र ? ४२ वर्षको अल्पायूमा ममीले छोडेर जानुभयो । त्यस पछिका दिनहरु ममीको अभावमा आमा विनाको जीवन बिताउन बाध्य छु । घरमा हजुरबुबा, भाई र म तिन जना छौं । भाई पनि काठमाडौं जान्छु भनि गयो । घरमा हजुरबुबा र म मात्र बस्नुपर्ने । यसले गर्दा झन् ममीको याद धेरै आइरहेको छ । बिरामी हुँदा समेत मलाई यस्तो भयो, उस्तो भयो, गाह्रो भयो भन्ने दुःख बुझ्ने कोही छैन झै लागिरहेको छ । ममी नहुँदा ममीको माया र सहानुभूतिको धेरै सम्झेको छु । ममी विना जीवन जीउनु पानी विना माछा छट्पटिए जस्तै हुँदो रहेछ त्यो म भोग्दैछु । सबैलाई मेरो जस्तो पीडा नपरोस् भगवानसँग त्यहि प्राथना गर्छु । 

ममता शाहि
पनौती, काभ्रे