मान्छेको भाग्य जन्मेको छैटौं दिनमै लेखिँदो रहेछ । न त्यसलाई टार्न सकिँदो रहेछ न मेट्न नै । कसले देखेको छ र भावी ? विश्वासमा अडिएको मान्छेहरुको सम्बन्धलाई टार्न वा निरन्तरता दिन केहि बस्तुहरु महत्वपूर्ण हुने रहेछन् । जसरी एउटा सवारी साधन वा सिङ्गो संरचना निर्माणका लागि सानो सानो किलाकाटीको महत्वपूर्ण भूमिका हुन्छ मान्छेको जीवन पनि त्यस्तै रहेछ । रबर जस्तै जति तन्कायो उति तन्कने । दुःख, पीडा, सुख जीवनका पाटाहरु रहेछन् । खेतबारी हुनेहरुले जति धेरै पाटाहरु सम्यायो उति धेरै अन्न उब्जनी गराउन सक्छन् । हाम्रो जीवन पनि त्यस्तै रहेछ । सम्याउन सकिन्छ कि सकिदैन । प्रविधि भित्रिएका छन् । प्रविधिले मान्छेहरुको विकास पनि गराएको छ । तर त्यसको सहि सदुपयोग भएको छ त ? उहिले उहिले जस्तो एउटा कुरा अर्काे स्थानमा पु¥याउन महिनौ लाग्ने अवस्था छ त ? पक्कै छैन । यहिकारण पनि मान्छेहरु स्वार्थी बन्न थालेका छन् । मान्छेहरु सुखी भएको महुसस गर्छन् तर सुखको अनुभूती गर्दैनन् । मन अशान्ति छ । हिंसा बढिरहेका छन् । अविश्वास बढ्दो छ । हरेक कुरामा शंका बढ्दै गएको छ । मान्छेहरुमा आएको फ्रस्टेसनले आत्महत्या सम्म पु¥याएको छ ।
विवाहको गरेको २५ वर्ष भयो । तर मैले श्रीमतीको हैसियत कानुनी रुपमा पाउन सकेको छैन । लोग्ने मान्छेहरुको सोचमा परिवर्तन नहुँदासम्म महिलाहरुले जति अधिकारका कुरा गरे पनि प्राप्त हुन सक्दैन । कानुनमा लेखिए पनि ब्यवहारमा नउतार्दासम्म त्यसको महसुस हुन सक्दैन । आजसम्म कानुन नभएरै महिलाहरु पीडित हुनु परेको हो र ? पितृसत्तात्मक सोच र त्यसको पृष्ठभूमिका कारण हामी महिलाहरु सधैं पछाडि परेका छौं । अहिले पनि हाम्रा नाममा अनेक खाले टिका टिप्पणीहरु सुनिन्छन् । महिलाहरु असक्षम छन् । महिलाहरु केहि गर्न सक्दैनन् । अधिकार दिए पनि विश्वास नगरेपछि कसरी सक्छन् त गर्न ? शुरुमा चेतनाको कुरा गरियो । हो महिलाहरु त्यतिबेला विद्यालय जानु कल्पना बाहिरको कुरा थियो । बुबा आमाले घरमा जतिवटा बस्तुभाउ पाल्नु भएको थियो । तिनीहरुको रेखदेख, घरको काम बाहेक महिलाहरुले अरु गर्ने अवसर नै पाउँदैन थिए । अझ त्यसमाथी गरिबी पहिलो कारण थियो । सबै अभिभावकहरुको स्तर छोराछोरीहरुलाई विद्यालय पठाउने खालको थिएन । त्यसलाई समेत ध्यान दिदै केहि अभिभावकहरुले गाँस कटाएर भए पनि आफ्ना सन्तानलाई पढाउँदै आएका थिए । २१ औं शताब्दीमा आउँदा समेत श्रीमान्बाट महिलाहरु शोषित भएका उदाहरण छन् । दैनिक महिलाहरुले आत्महत्या गर्नुको मुख्य कारण श्रीमान् र घर परिवारको दवाब हो । भए पनि नभए पनि महिलाहरुले जसरी पनि पु¥याउनु पर्छ भन्ने सोचका कारण पुरुषहरुबाट महिलाहरु शोषित भएका छन् ।
१८ वर्षको थिएँ म । बुबाले विद्यालय पठाउछु भन्दा पनि सक्ने अवस्था थिएन । जिल्लाको साविक कुशादेवी गाविस मानेदोभानमा मेरो जन्म भएको थियो । सामान्य बाहेक मैले अरु अक्षर चिनेको छैन । बुबा आमाको पहिलो सन्तान थिएँ म । उहाँहरुको आशा र भरोसा थिएँ । बुबा आमा बाहिर जाँदा पनि मलाई जिम्मेवारी सुम्पिएर जानु हुन्थ्यो । दुई बहिनी सानै थिए । उनिहरुको रेखदेख पनि मेरो पहिलो कर्तब्य थियो । उतिखेर भेदभाव पनि धेरै थियो । कानुनमा जेजे भए पनि अहिले पनि जात अनुसारको विभेद ब्यवहारमा देख्न सकिन्छ । हामीले नै उत्पादन गरेका सामाग्रीहरु सबैलाई मान्य हुन्थ्यो तर हाम्रो जात अमान्य र अक्षुतो हुन्थ्यो । अझै गाउँघरमा देख्न सकिन्छ । शहरमा त्यस्तो हराईसकेको छ । सबै समान छन् । कसैले त्यस्तो ब्यवहार पनि गर्दैन । तर हामी भित्रका केहि सम्भ्रान्तहरु त्यसको खेतिपातीमा छन् । अधिकारका नाममा दुरुपयोग पनि गरिरहेका छन् । केहि केहिका कारण सिङ्गो समुदायलाई बद्नाम बनाउने प्रयास पनि भईरहेको छ । प्रलोभनमा पर्ने तर अधिकारका लागि स्वार्थका कुरा गर्नेहरु पनि छन् । थुप्रै आन्दोलनहरु पनि भए । शुरुमा क्रान्ति सफल पार्न दिएका आश्वासन सत्तामा गए पछि दलहरुले पनि भुले । जसले हिजो छुवाछुत गर्नु हुँदैन भन्थ्यो आज त्यहि ब्यक्ति छुवाछुतमा संलग्न छ । अधिकार दिन्छु भन्नेहरु चुपचाप छन् । विकास मान्छेको चेतना परिवर्तन गर्ने पहिलो माध्यम रहेछ । सिप र प्रविधि आत्मनिर्भरको खुट्किलो रहेछ । मान्छे आत्मनिर्भर भए पछि कसैको शोषणमा बस्दैन । कसैको बहकाउमा लाग्दैन ।
मेरो मागि विवाह थियो । पहिलो छोरी भएकाले बुबाहरुले आफ्नो परम्परा अनुसार मलाई पराई घर पठाई दिनु भयो । १८ वर्ष भन्या धेरै ठुलो उमेर थियो । हाम्रो आमाहरुको पालामा ७ वर्षमै विवाह गरेर घर जानु पर्दथ्यो । मैले त ११ वर्ष थप माईतीमै बिताईसकेको थिएँ । पराई घर जानु छोरीहरुको लागि मुटुको टुक्रा लुछिनु सरह थियो । जन्मेर, हुर्केर, जीवनका आधा उर्बर समय माईती घरमा आफन्तसँग विताईएको थियो । फेरी शुरु देखि नै नयाँ घरमा रम्न कम्ति चुनौती थिएन । विस्तारै सिक्दै गएँ । रम्दै गएँ । मबाट एक छोरा र एक छोरीको जन्म भयो । सामान्य खालको परिवार थियो हाम्रो । अहिले म ४३ वर्षको भएँ । मेरो पहिलो छोरा २४ वर्षको छ । छोरी २१ वर्षकी छिन् । विवाहको पहिलो वर्षमै मेरो सन्तान जन्मिएको थियो । छोरा जन्मिएको ३ वर्षमा अर्काे सन्तान छोरी जन्मिईन् । उनिहरुले पनि सामान्य लेखपढ बाहेक अरु गर्न पाएनन् । छोरा छोरीको हुकाई बढाईमा केहि समय म घरमै थिएँ । छोरी जन्मिएको केहि महिना पछि म विरामी परें । मलाई एक्कासी छोप्ने रोग लाग्यो । बेहोस हुन थालेछु । त्यसको उपचारमा शुरुमा उनले झारफुक र अस्पताल समेत पु¥याए । तर लामो समयसम्म म विरामी परेकाले मलाई श्रीमान्ले घरमा राख्न चाहेनन् । त्यहिबेला मलाई अत्यन्तै च्याप्यो । सायद मर्ने अवस्थामा पुगेको थिएँ होला । छोरी मान्छेहरुको जीवन त्यस्तै रहेछ । सक्दासम्म श्रीमानहरुले लुट्ने जब विरामी पर्छ त्यसपछि फोहोरको डंगुर जस्तो मिल्काईदिने । दुई सन्तान जन्मँदा समेत ठिक भएको मेरो शरीर विस्तारै विग्रँदै जान थालेको रहेछ । केहि दिन विरामी हुने केहि दिन निको हुन् । कति बेला के हुन्छ पत्तै नहुने ? विरामी भएकै अवस्थामा ससुराले मलाई डोकोमा राखेर माईती पु¥याई दिएछन् । तिम्रो छोरी हामीले राख्न सकेनौं । आफै हेर्नु ? कति पीडा भयो होला मेरो बाबा आमालाई ?
घर गरेर खानु पर्ने । साना साना केटाकेटी । ससुराले डोकोमा लगेर छोरी पु¥याई दिए पछि कम्ति सास्ति ब्यहोर्नु परेन । विस्तारै मलाई फुकेर निको हुँदै गयो । हुन त अहिले पनि मलाई कहिलेकाँहि त्यस्तो हुन्छ । धेरै अस्पताल गई सकें । तर पनि जीवन भर निको हुँदैन । अस्पताल र झारफुक दुबै गर्दा हिड्डुल गर्न सक्ने भएको थिएँ । श्रीमान् र ससुराले नै मलाई चाहिँदैन भनेपछि त्यो घरमा कसरी जानु ? पटक–पटक गएँ पनि तर वेवास्ताका कारण बस्न सक्ने वातावरण भएन । फेरी माईतीमा बस्न थालें । माईतीमा बसेको ३ वर्ष नपुग्दै श्रीमानले अर्काे विवाह गरे । अर्काे विवाह गरेपछि मैले उनलाई किन त्यसो गरेको भन्दा उल्टै म माथी खनिए । फेरी म छोराछोरीका साथ माईती बस्न थालें । दोश्रो विवाह गरेको केहि वर्षमै उनले तेश्रो विवाह गरे । अर्की श्रीमतीबाट ३ छोरा र एक छोरी छन् । मेरो छोरीको भने उनले जन्मदर्ता गरिदिएका छन् । छोरा सञ्जयको भने जन्मदर्ता समेत भएको छैन । मैले पटक पटक उनलाई छोरा छोरीको जन्मदर्ता र नागरिकताका लागि अनुरोध गरें गर्न मानेनन् । एकपछि अर्काे श्रीमती ल्याउँदै गएका उनलाई दोश्रो श्रीमतीले पनि छाडिदिईन् । भएको केहि जग्गा पनि उनले बेचेर खाएका छन् । सुकुम्बासी जस्तै छन् । अहिले अर्काको जग्गामा बसिरहेका छन् । जसको सम्पति छैन । उसले श्रीमतीहरु जम्मा गर्ने अनि सन्तानको थुप्रो लगाउने ? यस्तै छ समाज । अरुलाई बहुविवाहको कारवाही हुन्छ । उनलाई के कारवाही ? के बहुविवाह ? गरौ के ? नगरौ के ?
विस्तारै हामी पनि काठमाडौ बस्न थाल्यौं । माईतीमा पनि बुबा आमाको कति समय बोझ बन्ने ? हामी सबै सन्तान काठमाडौमा मुर्ति कुद्ने काम गर्न थाल्यौं । बहिनीहरुको विवाह पनि भईसकेको थियो । छोरा छोरीहरु हुर्कदै गए । विवाह पनि गरिसकेका छन् । दुबैको विवाह भईसक्यो । छोराको नाति त झण्डै २ वर्षको छ । छोरीको पनि सन्तान ठुलै भईसकेको छ । छोरीको जन्म दर्ता भएकाले उनलाई खासै समस्या भएन तर नागरिकता बनाउन बाबु वा आमामध्ये एकको नागरिकता आवश्यक भएकाले उनको पनि हुन सकेन । सुकुम्बासीसँग हामीले केहि मागेनौं । कारवाहीका लागि पनि मतलब गरेनौं । तर उसले त हाम्रो न जन्म दर्ता गरिदियो ? न नागरिकता नै बनाईदियो ? उमेरमा उसले जे जे ग¥यो त्यो सबै क्षम्य हुन सक्छ र ? यो उमेरसम्म मैले पनि छोरा छोरीहरुका लागि भनेर अर्काे विवाह गरिनँ । श्रीमान्ले गरेका सबै कृयाकलापहरुमा हामी सधै चुप मात्रै रह्यौं । हरेक दिन हामीले उनलाई जन्मदर्ता र नागरिकता बनाउने विषयमा सोधिरह्यौं । तर उनि कहिल्यै सकारात्मक भएनन् । छोरा २५ वर्ष हुन लागिसक्यो । नाति २ वर्षको भईसक्यो । छोरी पट्टिको त अझ ५ वर्ष पुग्न लागिसक्यो । न आमाको नागरिकता छ । न छोरा छोरीको ? मलाई उसले नागरिकता पनि बनाउँदिन भन्यो छोराछोरीको हकमा पनि आलटाल गरिरह्यो । जिल्लामा १६ दिन महिला हिंसा विरुद्धको अभियान शुरु भएको बखत धुलिखेल सदरमुकाम आएँ ।
छोरा र म दुबै आएका थियौं । प्रहरीको महिला सेलमा निबेदन दिएका थियौं । पछि पाँचखाल प्रहरीले उनलाई पक्राउ गरेर ल्याएछ । उनले भएभरका नेताहरु उठाएर ल्याएछन् । नेताहरुलाई चाँहि अलिकति पनि लाज रहेनछ । एउटी महिला जो श्रीमान्कै कारण २० वर्ष देखि घर बाहिर बसिरहेकी छे । उसले अधिकारका लागि निवेदन दिँदा पनि दबाब दिने ? उसँग अंश त के लिनु छ र ? काटे रगत आउँछ । मात्र उसले हामीलाई दिनु पर्ने अधिकार हो । कानुनले दिएको अधिकार दिन पनि किन कञ्जुस्याई गर्छन् पुरुषहरु ? नयाँ संविधान आउँदा समेत हामी महिलाहरु नागरिकता, जन्मदर्ताका लागि लडिरहनु पर्ने हो ? स्थानीय तह गठन भएको चार वर्ष वितिसकेको छ । यस्ता तमाम समस्याहरु छन् । समस्याहरुका बीच न्यायिक समितिले पनि काम गरिरहेका छन् सन्तुष्ट भने छैनन् । सन्तुष्ट नभएका नागरिकहरुको भावना बुझिदिनु पर्ने निकाय सधै मौन छ ।
शितल विक
धुलिखेल, काभ्रे









