सायद म त्यस्तै ४/५ वर्षको मात्रै हुँदो हो । उमेर त्यति याद गर्न सकिएन ।सक्ने कुरो पनि भएन । जे होस् भर्खर भर्खर मात्र केही मातृभाषा नेवारी टाकटुक बोल्न र बुझ्न, स्वतन्त्र ढङ्गले हिँड्न, उभिन सक्ने अवस्थामा मात्र थिएँ । त्यतिखेर आफू सानै भएको र बिस्तारै ठूलो हुँदै जान्छु भन्ने कुरामा त्यति ज्ञान भरिसकेको थिएन । त्यसैले कोही अरु ठुला मानिसहरू देख्दा आफू पनि त्यतिनै अग्ला÷ठुला हुनपाए कति हुन्थ्यो भन्ने मनमा अभिलाषा जाग्थ्यो । यहि भएर पनि होला मेरा ठुल्दाजु, माहिलो दाजुहरूसँङ्ग सङ्गै जाँदा कहिले काहीँ हिँड्न नसक्दा वा हिंडाइले लडिएला कि भन्ने हेतुले हुनसक्छ मेरा उनै दाजुहरूले आफ्नो काँधमा बोकेर÷राखेर यताउता लगिन्थ्यो÷गइन्थ्यो । यसरी दाजुहरूको काँधमा बसेर हिंड्न पाउँदा मलाई उनै दाजुहरूभन्दा वा, अरुपनि ठुला अग्ला मानिसहरू भन्दा म आफूलाई अग्लो भएको मान्थ्येँ । दाजुहरूको कुम(काँध) साँधे चारफुटका माथी आफू डेडफुटको अग्लो थपिँदा निकै अग्लो भए झैँ लाग्थ्यो । त्यतिखेर मलाई दाजुहरूको काँधमा बुइँ चढेर अग्लो भएँ भन्ने भान(अनुभूति) पटक्कै हुँदैनथ्यो । न कि मलाई आफू सानू छु र दाजुहरूको काँधमा छु भन्ने पटक्कै लाग्दैनथ्यो । जब अलि पछि हुँदै गए, आफै हिँड्डुल गर्न मज्जाले सक्ने भएँ, अलि बुझ्दै पनि गएँ म भर्खरको बच्चा रहेछु, म अरु जस्तै ठूलो÷अग्लो हुन बाँकी नै रहेछु भन्ने लाग्न थाल्यो र दाजुहरूको काँधको क्षणिक अग्लो भएको भन्दा म आफैंमा अग्लो हुन पाए पो हुन्थ्यो भन्ने लाग्न थाल्यो । हो यहि मेरो आफ्नो दाजुहरूको काँधमा बसेर अग्लो ठानेको बाल्य सोचाई जस्तै अहिले माधव नेपाल अर्थात् माकुनेको “एस” पार्टी र प्रचण्ड नेतृत्वको पार्टीलाई लाग्न पुगेको स्पष्ट हुन्छ । मानौं अहिले उनीहरू एमालेभन्दा, नेपाली काँग्रेस भन्दा अग्लो अर्थात् ठूलो पार्टी भएका छौँ भन्ने आत्मरतिमा रमाई रहेका छन् ।
जब नेकपा एमालेबाट केही ब्यक्तिहरू सहित माधव नेपालले अलग्गै पार्टी अर्थात् कथित नेकपा “एस” पार्टीको नाममा अर्को पार्टी खोल्न पुगे यो पार्टी खोल्नको लागि वा एमालेलाई फुटाएर अर्को पार्टी खोल्न अहोरात्र भुमिका निर्वाह गर्न पुगेका यहि पार्टी भित्रका केही पदलोलुप, अवसरवादी, पार्टी अपराधी ब्यक्तिहरू लगायत प्रचण्ड नेतृत्वको कथित माओवादी केन्द्रका नेता कार्यकर्ता वा समर्थकहरूबाट माकुनेका पार्टी फुटाउने गतिविधि र अभिव्यक्तिहरूलाई हो मा हो र स्वरमा स्वर मिलाई ताली बजाउन, मास भिड देखाउन र फेसबुक तथा सामाजिक सन्जालहरू मार्फत माकुनेलाई समर्थन र एमाले अर्थात केपि ओलीलाई गाली गर्नमा कम्मर कसेर सकृय भए । ताकी अब एमालेमा कोही छैनन्, एमाले पार्टी नै समाप्त भयो, सम्पूर्ण नेता कार्यकर्ताहरू नै एस पार्टीमा आए÷गए भन्ने किसिमले र एमालेभन्दा ठूलो पार्टी देखाउनको लागि निकै प्रचारबाजीमा लागे । पहिलो राष्ट्रिय सभा निर्वाचनमा राम बहादुर थापा “बादल” बिरुद्धमा खिमलाल देवकोटालाई विजयी बनाउँदा होस् वा एमालेका नेता ब्यक्तिहरू मुख्य मन्त्री रहेको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र १ नं. प्रदेशको मुख्य मन्त्री समेत सरकार परिवर्तन गर्नमा होस् वा हालै भएको राष्ट्रिय सभाको १९ सीटका लागि भएको निर्वाचनमा होस् यी सबैमा भएको निर्वाचन परिणाम र प्रादेशिक सरकार परिवर्तनले खुब आफूहरू शक्तिशाली भएको दावी गर्नमा कुनै कसर बाँकी राखेको छैन । ताकी यी पाँचै ओटाको गठबन्धन दल नै सिङ्गो नेकपा एस हो अथवा सिङ्गो नेकपा माओवादी केन्द्र हो अथवा मधेशवादी दल र नेपाली कांग्रेस कोही पनि हैन÷छैन भन्ने किसिमको सोचाईमा रहेको स्पष्ट हुन्छ ।
अहिले माकुनेको “एस” पार्टी र प्रचण्डको माओवादी केन्द्र कहिले एमालेलाई आगामी निर्वाचननमा पत्तासाफ पारछौं भनी उफ्रिरहेका छन्, घोक्रो सुक्ने गरि चिच्याइहेका छन् भने कहिले एमालेभन्दा एकसीट मात्र भएपनि बढी ल्याउँछौँ भनी हुत्तीट्याउँको फुर्ति लगाइरहेका छन् । अझ एक पटक त मन्त्री नपाएर रन्थनिएका मेटमणी चौधरी जसको त जमानत जफत हुने अवस्थामा छ उही एमालेको बिषयमा कुनै पनि पत्र पत्रिकाका लागि समाचारको बिषय बन्ने छैन भन्नेसम्मका हाउगुजी छोड्न समेत पछि परेको छैन । जसको गठबन्धनको सहारामा हालैको राष्ट्रिय सभा निर्वाचनमा २÷४ सीट बढाउन सफल छ, यिनको फुर्ती “भुईँमा न भाँडामा” भने झैँ हुन पुगेको छ । एमालेको नाममा सूर्यको भोट पाएर केही अवसरवादीहरूको थपडीमा रम्दै काँग्रेसको झर्केलो छोरो बन्दै अगामी स्थानीय तहको निर्वाचन र संघीय संसद्को निर्वाचनसम्म धीत मर्ने गरि चुरीफुरी गर्ने कुरामा कुनै शंका छैन । यद्यपि मुखले जति नै फुर्ति लडाएपनि मनभित्र भने एमालेकै पल्लाभारीको सांसद् संख्या र जन प्रतिनिधि आउने निश्चित भएबाट भने मनभित्र शक्तिशाली मन्त्रका ढ्याँग्रेले बजाएको ढ्याङ्रोको भन्दा यिनीहरूको मनमा ढ्याङ्ग्रो ठोकिएको छ भन्ने पनि स्पष्ट भैसकेको छ । हालै भएको राष्ट्रिय सभाको १९ सीटका लागि भएको निर्वाचनमा सातै प्रदेशबाट १९ ओटै सीट जितेर एमालेको आठै सीट प्राप्त गर्ने पूर्वा उद्घोषमा धक्का लाग्न पुगेको छ । यति मात्र नभै पाँच दलीय गठबन्धनको र एमाले एक्लैको मत संख्या फरक पूर्व आँकलनमा निर्वाचन पछिको परिणामको मतमा सुधारात्मक मत प्राप्त भएबाट पनि अझैपनि एमालेतिर जन प्रतिनिधिहरू बृद्धि हुँदैछ भन्ने पुष्टि गरेको छ । यहि निर्वाचन परिणामले पनि बाहिर जति हौसिएको जस्तो देखाए पनि भित्र भित्रै भने आगामी निर्वाचनमा आफै पत्तासाफ हुने भयंकरको डर÷भय यिनीहरूमा रहेको छ । नत्रभने यीनै नेता र सांसद्हरू हुन् जसले निर्वाचन सम्बन्धित संविधान पनि बनाए, निर्वाचन ऐन पनि बनाए, निर्वाचन नियमावली बनाए र यही ऐन, यही संविधान यहि नियमावली अनुसार २०७४ मा गरिएका सबै चुनावहरू संविधान सँग, निर्वाचन ऐनसँग बाझिएन भयो । एमालेको सहयोगमा रमाइलोसँग सांसदहरू जित्न सफल भए कोही माओवादी केन्द्रको नाममा त कोही एमालेकै नेता साँसद भएर जिते । तर आज यहि नेताहरू र साँसद् हुन जसलाई निर्वाचन ऐन संविधानसँग बाझिन पुगेको छ, यसलाई संशोधन गरेर मात्र निर्वाचन गर्नु पर्छ भन्ने पक्षमा रहेका छन् । स्थानीय जनप्रतिनिधिहरूको निरन्तरता हुनुपर्छ वा जन प्रतिनिधि बिहिन बनाउन नपाइने भन्ने कुरालाई लत्याएर २०७९ को चैत्र तिरमात्र निर्वाचन गराउन सकिन्छ वा ६ महिनासम्म पर लान÷धकेल्न मिल्छ भन्ने जस्ता कुतर्कहरू गरेर कथित आफूहरू पहिलो पार्टी बन्छौँ भन्ने कुरालाई उल्टोबाट प्रमाणित गरिसकेको छ ।
अहिले यिनीहरूको भुइँमा खुट्टा यसकारणले पनि टेकिरहेको छैन भने अहिले देशको सबभन्दा ठूलो पार्टी एमाले भएपनि यो पार्टीको ठूलो हिस्सा हाम्रो पक्षमा छ अर्थात् माधव नेपालको “एस” पार्टीमा छ र अहिले सबभन्दा ठूलो पार्टी नेपाली काँग्रेस हो जुन पार्टीसँग आगामी तीनै तहको निर्वाचनसम्म यो गठबन्धन काँग्रेसले नचाहे पनि कायम राख्नुपर्छ भन्ने कुरामा जोडबल रहने यो पक्षको भनाइहरूबाट स्पष्ट हुन्छ । यिनीहरू हालै (२०७८ माघ १२ गते) भएको राष्ट्रियसभा निर्वाचनबाट यति खुशी र यति हौसिएका छन कि मानौ संसारमा सबभन्दा ठूलो उपलब्धी नै यहि भएको छ । संसारमा कसैले प्राप्त गर्न नसकेको जित अहिले जित्न पुगेको छ । एक अर्थमा काँग्रेस नै यिनीहरूका लागि आशलाग्दो अभिभावक पार्टी हुन पुगेको छ । यहि आशय र यस्तै ब्यवहारको कारणले नै यसै चेष्टा साप्ताहिकको मेरै अघिल्लो लेखमा “नेपाली काँग्रेसको झर्केला पार्टीहरू” शीर्षकको लेख प्रकाशित गराएको थिएँ । सायद यहाँहरूले पढिसक्नु भएको हुनुपर्छ । यसैले पनि आफ्नो औकात र जन समर्थनको क्षमताले भन्दा पनि काँग्रेससँगको गठबन्धनले आफूहरूलाई ठूलो पार्टी ठानिरहेका छन् अर्थात अर्काको काँधमाथी बसेर आफूहरूलाई अग्लो भएको देखिरहेका छन् ।
तथापि याद गर्नुहोस् कि गठबन्धनमा सम्मिलित अरु पार्टीहरूमा यो गठबन्धन कायम राख्ने नराख्नेमा त्यति चिन्ता र चासोको बिषय नबने पनि माधव+प्रचण्डको यो जुम्ल्याहा झर्केलोलाई भने गठबन्धन कायम राख्नु पर्नेमा बढिनै जोड रहेको पाइन्छ । यसो त नेपाली काँग्रेसमै पनि नेपाली काँग्रेसको आफ्नो पहिचान र जनताहरूको नेपाली काँग्रेसप्रतिको आस्था र विश्वासलाई जिवित राख्नुपर्छ भन्ने पक्षकाहरू भने सरकार संचालनको गठबन्धन कायम रहेपनि निर्वाचनमा भने गठबन्धनको साझा उम्मेदवार हुनुहुन्न भन्ने पक्षमा रहेका छन । यसमा पनि नेपाली काँग्रेसको एक पक्ष जसले शुरु देखि नै प्रचण्ड+माधव नेपालसमेत भएको गठबन्धनमा जानू हुन्न अथवा यी वाम विचारका दलहरूसँग कुनै पनि हालतमा मिलेर सरकार बनाउनु हुन्न भन्नेमा रहेका थिए । एमालेबाट माधव–झलनाथको एउटा समूह छुट्टिने निश्चित नभएसम्म हामी सरकारमा जान्नौँ हामीलाई प्रमुख प्रतिपक्षी भएर बस्ने जनादेश छ भन्ने प्रचण्डको पारम्भिक अनुरोधलाई अश्विकार गर्दै आएका देउवा एकाएक आफ्नै नेतृत्वमा सरकार बनाउन पाउने निश्चित भए पछि यिनै प्रचण्ड+माधवको लहैलहैमा लागेर सर्वोच्चमा सरकार बनाउनेको अगुवाई गरेर निवेदन हाल्न पुगे । परिणाम स्वरुप सर्वोच्चका न्यायाधिशहरू समेतको सुनियोजित सेटिङ्गमा परमादेशको गैर संसदीय मूल्य र मान्यता विपरीत फैसला गर्न पुगेबाट ठुलै बिजय प्राप्त गरेको सोचकासाथ सरकार संचालनमा पटक पटक असफल तर प्रधानमन्त्री हुने रहरबाट नअघाइएका शेरबहादुर देउवा प्रम बन्नबाट किन पछि हट्थे । यसमा नेपाली काँग्रेसमा पनि दुईधार भए पनि एउटाधारको कमजोरीको फाइदा उठाइ देउवाले यो मौका गुमाउन चाहेन । र, नेपाली काँग्रेसकै देउवा पक्षधर काँग्रेसहरूको पनि बलियो दवाबबाट सरकारको नेतृत्व गरि सरकार चलाउन पाउने यो अवसर किन गुमाउने यो मौकामा सरकारमा जानु पर्छ भन्ने तर्क र सोचमा अगाडि बढ्न पुग्यो÷रह्यो । यहि सोच र तर्कको आधारमा अहिले सरकारको नेतृत्व गरिरहेको छ ।
तर नेपाली काँग्रेसलाई यो आशंका र डर कायम रहेको छ कि अघिल्लो स्थानीय निर्वाचनमा प्रचण्डको नेकपा माओवादी केन्द्रसँग मिलेर निर्वाचनमा गएबाट कतिपय आफ्नो पकड मानिएको स्थानीय क्षेत्रहरू गुमाउनु पर्दाको पीडा र संघीय र प्रदेशमा दिएको धोकाले अझै झस्किरहेको उनीहरूकै कतिपय नेताहरूको तीतो अभिब्यक्तिबाट स्पष्ट हुन्छ । यता अघिल्लो स्थानीय निर्वाचनमा नेपाली काँग्रेससंग मिलेर निर्वाचनमा गएकै कारण अपेक्षाकृत लाभ हासिल गर्न पुगेको स्वाद पनि प्रचण्ड माओवादीमा रहेको छ । यसैले पनि आगामी तीनै तहको निर्वाचनमा गठबन्धन एकजुट भएर जानुपर्छ भन्नेमा जोड रहेको छ ।
अहिले माधव प्रचण्डको झिनो आश के मा रहेको छ भने एक त एमालेकै माधव नेपाल समूह चोइटिएर कमजोर बनेको अवस्था, अर्को प्रचण्ड माओवादीसँग चुनावी तालमेल गरि वर्तमान संघीय साँसद् र प्रदेश साँसदहरू जित्न सफल भएको भन्ने उनीहरूको तर्क र विश्वास रहेको पाइन्छ । यसैले पनि एमालेको प्रतिस्पर्धी पार्टी नेपाली काँग्रेससंग मिलेर चुनाव लड्न पाएको अवस्थामा एमालेलाई क्लिनस्वीप गर्ने मौखिक हाउगुजी जनता बीच छरेर भित्री रहस्य भने आफूहरू नै क्लिनस्वीपबाट कसरी जोगिने भन्नेमा रहेको छ । यसैले चुनाव सार्ने विभिन्न बहानाहरू अगाडि सारे पनि निर्वाचनलाई पछि सार्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । किनभने वर्तमान नेपालको संविधानको कुनै धारा, उपधारासँग पनि वर्तमान निर्वाचन ऐन, नियमहरू बाझिएका छैनन् र ऐन नियमहरू सवै स्वतन्त्र रहेको कुरामा ढुक्कका साथ भन्न सकिन्छ । सबै जनताले हेरेर पढेर स्पष्ट हुन सकिन्छ ।
अन्तमाः प्रचण्ड+माधवले आगामी निर्वाचनमा सबभन्दा ठूलो दल हुन्छु÷हुन्छौँ वा एमालेभन्दा एकसीट मात्र भएपनि बढी ल्याउँछौँ भने पनि यो दुवैको दावी र घमण्ड उहीँ नेपाली काँग्रेसको सहायताले अर्थात नेपाली काँग्रेसको काँधमाथी बसेर सबभन्दा ठूलो दल हुन्छौँ भन्नु आत्मसन्तुष्टि मात्र रहेकोमा घाम जैतिकै छर्लङ्ग छ । उहीँ म सानैछँदा दाजुहरूको काँधमा बसेर अरु अग्ला मान्छे भन्दा अग्लो भएँ भनेर फुर्किएको भन्दा केही भिन्न छैन÷देखिन्न ।









