2026 June 06/ 01:55: 22pm
  • जिएन प्रधान

नेपाली समाजमा कमै मात्र प्रयोग हुने शब्द हो “झर्केलो” । सायद यो शब्द आजकलका स्कुले बालवालिकाहरूले यो शब्द सुनेका छन वा छैनन अथवा नेपाली भाषा शिक्षकले यो शव्द प्रयोग गरेर आफ्ना बिध्यार्थीहरूलाई बुझ्ने गरि अर्थ्याइ दिएका छन कि छैनन त्यो मैले नीरिक्षण गर्न भ्याएको छैन । यद्यपि यो झर्केलो शब्द आजभन्दा चार दशक अघिसम्म निक्कै चर्चामा रहेको थियो। जे होस आजभोली धेरै जसो वालवालिकाहरू सरकारी(सार्वजनिक) विद्यालयमा भन्दा पनि नीजि आवाशीय विध्यालयहरूमा अध्ययन गर्ने भएकाले पनि यो झर्केलो शब्द त्यति प्रयोग नभएको हुन सक्छ किनभने निजि अवाशीय विद्यालयहरूमा अंग्रेजी भाषालाई बढी प्राथमिकता दिएको हुनाले पनि यस्ता शव्दहरूको कमै मात्र प्रयोग भएको हुनसक्छ । यसो त आजभोली कोही कसैले आफ्ना बालबच्चाहरू सहित दोस्रो लोग्नेसँग गएपनि यो झर्केला झर्किली शब्दको प्रयोग त्यति प्रयोग भएको पाइन्न अर्थात हुन छोडेको छ । सायद यो झर्केलो शब्दको प्रयोग गरेर कोही निर्दोष सन्तानलाई किन अपमान गर्ने भनेर पनि हुनसक्छ यो शव्दको प्रयोग नेपाली समाजमा कम हुँदै गाएकोछ भन्दा अत्युक्ती नहोला ।
माफ गर्नुहोस कि नेपाली भाषा शव्दकोषमा “झर्केलो” लाई के कसरी परिभाषित गरिएकोछ त्यो हेर्ने भुझ्ने समय रहेन । तर मैले जाने बुझे अनुसार भन्ने हो भने झर्केलो भन्नाले कुनै बिवाहित महिलाले पहिलो लोग्नेबाट जन्माएको छोरा वा छोरीलाई आफ्नो साथमा लिएर दोस्रो लोग्नेका साथमा लिएर गयो भने उक्त दोस्रो लोग्नेको तर्फबाट बन्न जाने ल्याइते छोरा छोरी वा श्रीमतीको साथमा आएका सन्तानलाई “झर्केलो” सन्तान भन्ने चलन छ । त्यसैले यहि अर्थले पनि होला कोही कसैले कसैका छोराछोरीलाई अलि माया गरेन, खानपानमा अलि विभेद ग¥यो भने त्यस्ता पक्षपात युक्त व्यवहार गर्ने बाबू आमाप्रती इङ्गित गरेर भनिन्छ कि हेर त तिमिलाई “झर्केलो” सन्तानको व्यवहार गरे आदि इत्यादी ।
तर यहाँ चर्चा गर्न खोजिएको बिषय बस्तु ठ्याक्कै झर्केलो सन्तान वा कसैका ल्याइते छोराछोरी नभए पनि यस्तै चरित्र र ब्यवहारसंग मिल्दो जुल्दो राजनीतिक दलहरूको बारेमा चर्चा गर्न गै रहेको छु । जुन मानिसको एउटा बेग्लै सन्तानलाई जे जसरी हेर्ने गरिए पनि वा ब्यवहारमा जति फरक परिवारको दृष्टिले हेरिए पनि यहाँचर्चा गर्न खोजिएको राजनीतिक पार्टीहरूको मनसाय र व्यवहार भने ठिक यसको उल्टो रहेको देख्न पाइन्छ ।
यहँ उल्लेख गर्न खोजिएको झर्केलो पार्टीहरू हो नेकपा माओवादी केन्द्र र नेकपा (एस) । जुन पार्टीहरूले आफ्नो पार्टीको पहिचान या पार्टीको पूरै अस्तित्व समाप्त हुने गरि नेपाली काँग्रेसको झर्केलो छोरा(पार्टी)हरू बन्न पुगेका छन् । यसो भन्दा यो स्तम्भकार लेखकले के लेखेका हुन भन्न बेर लाग्ने छैन।मैले यहाँ किन यी दुई पार्टीलाई नेकाको झर्केलो पार्टीको संज्ञा दिन पुगेको हो भने नेपाली काँग्रेस र नेपाली कम्युनिष्टहरूको बिचार,सिद्दान्त नै चुम्बकको दुई ध्रुव जस्तै ठिक उल्टो रहेको हुनछ। कम्युनिष्ट बिचार सिदान्त माक्र्सवाद, लेनिनवादमा आधारित छ।यो दर्शन र सिद्धान्त अनुसार यसको अन्तिम लक्ष्य भनेको नै साम्यवाद हो । साम्यवादको पूर्ण अर्थ वा उदेश्य नै कुनै एक देशमा मात्र नभै बिश्वमा नै बर्ग बिहिन समाजको स्थापना गर्नुमा रहन्छ। जहाँ आर्थिक,सामाजिक मात्र नभै जातीय र लैँगिक समानताको समेत महत्व राख्दछ । कुनैपनि ब्यक्तिले अरु कुनैपनि ब्यक्तिलाई कुनै पनि अर्थ र बहानामा थिचोमिचो या श्रम शोषण, लैँगिक शोषण या जातीय शोषण गर्न पाउने छैन । सबैका लागि श्रम अनिवार्य हुन्छ । अशक्त, अपाङ्ग बृद्धहरूको लागि आदर, सम्मान या मायाको अनिवार्यता हुन्छ । जब कि नेपाली काँग्रेस पार्टी लगायत अन्य बुर्जुवा पार्टीहरूको मूल ध्यय नै आय आर्जनको नाममा आर्थिक शोषणसंग जोडिएको हुन्छ । जसरी होस आफू र आफ्नो परीवार आर्थिक सम्पन्नताको लागि अघि बढ्नु पर्छ, जसरी होस कमाउँ र आफू बनौँ भन्ने नै यसको एकमात्र उद्देश्य रहेको हुन्छ । यसमा पनि कम्युनिष्ट बिचार सिद्धान्त अनुसार समाजको सबै पक्षको सामूहिक आर्थिक उत्थान गर्नुमा रहेको हुन्छ । आर्थिक समानताको साथै सामूहिक सेवाभावसंग जोडिएको हुन्छ । तर  नेका, राप्रपा जस्ता पार्टीहरू पूँजिवादी चिन्तनको पृष्ठपोषक हुनाले यिनिहरूमा सेवाको भाव गौण हुन्छ भने पूँजिको जगेर्नामा बढी जोड रहेको हुन्छ । यो पार्टी या बर्गको चिन्तनमा आफ्ना सहोदर दाजुभाइ भन्दा बढी महत्व धन वा पूँजिलाई नै दिएको हुन्छ।यसको अर्थ यो पनि होइन कि कम्युनिष्ट समाज या समाजवादी समाजमा पूँजिको आवश्यक छँदै छैन भन्न खोजिएको पनि हैन । र,  पूँजिवादी बिचारमा लागेका ब्यक्तिहरू सम्पूर्ण नै सेवाभाव नभएको निर्मोही हुन्छन र कम्युनिष्ट बिचारका सवै सेवामूखी नै हुन्छन भन्न खोजिएको होइन।अपवादमा यी दुवै पक्षमा माथी उल्लेख गरिएको बिचार र स्वभाव भन्दा ठिक उल्टो व्यवहार शैलीका पनि रहेका पाइन्छन, छन् पनि ।
 सन्दर्भ नेकपा (माओवादी केन्द्र) र नेकपा(एस) को हो । जब कि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को करिब दुई तिहाइको सरकार ढालेर सिद्दान्ततः कम्युनिष्टको ठीक उल्टो बिचार भएको पार्टी नेपाली काँग्रेसलाई सत्ताको साँचो सुम्पन्न नेका सभापति शेरबहादुर देउवाको घरमा करिब आधा दर्जन बिन्ती गर्न पुगे । जन्मजातै पूँजीवादी ब्यवस्थाको अन्त्यको लागि कथित जनयुद्धको क्रान्ती गर्न पुगेका नेकपा माओवादी केन्द्र र आफैले ५० सौँ वर्ष लगाएर निर्माण गरेको अझै भन्ने हो भने १५ वर्षसम्म एकछत्र पार्टीको महासचिव भै एमाले पार्टीको ईतिहास राख्न पुगेका माधव नेपाल नेतृत्वको नेकपा(एस) पार्टीले अहिले आएर एमालेलाई सत्तोसराप गाली गर्न पुग्नु र नेपाली काँग्रेसलाई परम हितैषी मान्नुलाई केनै भनेर कुन कम्युनिष्टको उपनाम दिउँ, उत्तर जटिल छ।यो आश्चर्यको बिषय बनेकोछ कि कुनै पनि सच्चा कम्युनिष्टले गर्ने काम गर्न पुगेको छैन यसै अर्थले पनि नेपाली काँग्रेसको झर्केलो पार्टीको रुपमा यो स्तम्भमा उल्लेख गर्न बाध्य भएको छु । नेकपाको नाम लिएर एमालेको सूर्य चिन्हबाट बिजयी भै सिङो नेपाल कम्युनिष्ट पार्टीको मूलशत्रु, सैद्धान्तिक रुपमा मूख्य प्रतिस्पर्धी नेपाली काँग्रेसलाई नजिकको मित्र शक्ति मान्न पुग्ने यी जस्ता कम्युनिष्टहरूलाई काँग्रेसको झर्केलो पार्टी नभनेर के भन्ने? नेकपाको अहिलेसम्मकै दस्तावेजमा नेपाली कम्युनिष्ट क्रान्तिको मूल शत्रु दक्षिणपन्थी राज नीतिक दल नेपाली काँग्रेस र परम्परावादी राज संस्था निकटको रुपमा चिनिने वर्तमान राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लिईँदै आएको छ तापनि यहि देशमा रहेका नेकपा ( माओवादी केन्द्र ) र हालैमात्र एमालेबाट चोइटिएर बन्न÷बनाउन पुगेको माधव नेपाल उर्फ माकुने नेतृत्वको नेकपा(एस) पार्टीको लागि एमाले सबभन्दा ठूलो दुष्मण र नेपाली काँग्रेस सबभन्दा नजिकको मित्र बन्न पुगेकोछ । उदाहरणको लागि केन्द्रको संघीय सरकार केपि ओली नेतृत्वको कम्युनिष्ट सरकार लगायत प्रादेशिक सरकारहरू समेतमा गठबन्धन नामक सरकार बनाउन पुग्नुलाई अवपनि कसरी कम्युनिष्ट भन्न सुहाउँछ ? के यिनीहरूसँग अलिकती मात्र पनि गुण बाँकी छ भन्ने कुरामा सवैका लागि जिज्ञासाको बिषय बनेकोछ, कौतुहलता उब्जिएकोछ।अनि यिनिहरूको दस्तावेजमा कुन पार्टीलाई बर्गिय रुपमा मूल शत्रु उल्लेख गर्छन भन्ने बिषयमा पनि सम्पूर्ण बाम बिचारक वा समर्थक जनताहरू निक्कै चासोका साथ हेरिरहेको पाइन्छ। यतिसम्म कि आगामी निर्वाचनमा एमालेको पत्तासाफ गर्ने झिङ्गे फुर्तिका बीच आगामी निर्वाचन सम्म नै यो गठबन्धन कायम रहन्छ भन्न पुग्नुबाट पनि यी पार्टीहरू कम्युनिष्ट पार्टीको रुपमा नरही कम्युनिष्टको नक्कली खोल ओढेका नेपाली काँग्रेसका झर्केला पार्टी(छोरो) हुन पुगेकोमा अब कसैलाई ढाँट्न, छक्याउन नपर्ने भैसकेकोछ।अब यिनिहरूलाई कम्युनिष्ट हुन भनी भोट दिईरहन पर्दैन।यिनिहरूलाई भोट दिइ जिताउनु र नेपाली काँग्रेसको रुख चिन्हमा भोट दिई जिताउनुमा केही फरक नहुने भैसकेकोछ।यसको प्रत्यक्ष प्रमाण त नेका सभापती शेर बहादुर देउवालाई प्रम बनाइ पाउँ भनी सर्बोच्चमा लाइन लागेर सनाखत गर्न पुग्नु, आफ्नै पार्टीका प्र म केपि ओलीले बिश्वासको मत माग्दा अनुपस्थित हुनु, शेर बहादुर देउवाको बिश्वासको मतमा उपस्थित भै समर्थन जनाउनु ,आउने निर्वाचनसम्म नै गठबन्धन कायम हुन्छ भन्नू आदि यवहार र भनाइहरूबाट स्पष्ट भैसकेको छ कि अब यिनिहारू लाई कम्युनिष्ट भनिरहन कुनै आवश्यक छैन ।कम्युनिष्ट भन्ने गुण कुनै बाँकी छैन । जनता छक्याउन जुनसुकै चिन्ह र नारा लिएर आएपनि यो चिन्ह र नाराको औचित्य समाप्त भएको छ।यिनिहरूलाई भोट दिनुको कुनै औचित्य छैन।यिनिहरू एक ब्यक्तिको रिस र पद प्राप्तिको कुण्ठाले कुनैपनि दिन कुनै पार्टीमा नबिक्ला भन्न सकिन्न । पार्टी र आम मतदाताको भावना र विश्वासलाई बिश्वासघात गर्नमा कुनै कसर बाँकी राख्ने छैन।पार्टी र आफ्ना मतदाता जनतालाई धोका दिने पदमुखी, अवसरवादी लोभिपापिहरूलाई अब चिनाइ रहनु पर्ने छैन । जनताका पक्षका पार्टी र श्वाभिमानमा अडिग रहने नेताहरू को हुन र कुन पार्टीमा छन चिन्न जरुरी छ । आफ्नो देशको भू–भाग फिर्ता लिने प्रयास गर्दा भारत चिढिन्छ भनी डराउने,जानाजानी ट्वीन काटेर नेपाली नागरिक मर्दा चुइँक्क बोल्न नसक्ने भार परस्त ब्यक्तिहरूलाई जिताउनु, सरकारमा पठाउनुको के औचित्य? देश बिकासको कार्यक्रमहरू ल्याउँदा छटपट्टी हुने, जन सरोकारका बिषयमा बिकास गर्न खोज्दा अवरोध गर्ने,प्रजातान्त्रिक  मूल्य र मान्यतालाई लत्याउँदै परमादेशको बलमा सरकार बनाउन उत्साहित हुने यी जन बिरोधी, देश बिरोधिहरूलाई फेरि पनि के आशाले जिताउन लाग्ने ?यो सबै प्रश्नहरूको जवाफ खोज्न आवश्यक भएकोछ। अब यिनिहरूको एउटै ध्यय  नै बरु आफ्नो पार्टीले एउटै सीट नजिते पनि एमालेलाई हराउनको लागि नेपाली काँग्रेसलाई जिताउनमा मरिहत्तेले लागि पर्नेछ।यसैमा यी झर्केलोहरूको सान हुनेछ।देशको बिकास र जनतामा सुबिधा दिनमा भन्दा पन पनि सदैव नेपाललाई अस्थिर राजनीतिमा ढकेल्न सक्नुमा ठूलो पौरख सम्झिने छ । अबको निकट वर्षमा नेकपा एमाले मुर्दावाद र नेपाली काँग्रेस जिन्दावादको नारा प्रमुख बनाउन पुग्नेछ । यसैले पनि यिनीहरूलाई कम्युनिष्टको नक्कली लेपन लागेको अघोषित कांग्रेस हुन भन्दा फरक पर्ने छैन । अहिलेकै गतिबिधिलाई हेर्दा स्वयम् नेपाली काँग्रेसका पुराना एउटा जमातलाई उछिनेर हामी नै खाँती काँग्रेस हौँ भन्ने पाराले अघि बढेको देख्न पाइन्छ ।

तसर्थ तथाकथित नेकपा ( माओवादी केन्द्र) र नेकपा ( एस) को काँग्रेसप्रतिको बढ्दो हिमचिमले ,शेर बहादुर देउवालाई प्रमको अवसर प्रदान गरेर खुशी तुल्याउन सफल भएपनी वास्तविक काँग्रेसकरूको लागि चिन्ताको बिषय बन्न पुगेकोछ।
सारमा भन्नु पर्दा अब यिनिहरुमा कम्युनिष्टको नक्कली आवरण वाहेक कम्युनिष्टको थोरैमात्र पनि गुण र बिशेषता बाँकी छैन भन्दा हुन्छ।हिजोका दिनमा एमालेको सूर्य चिन्हबाट भोट बिजयी बनेर नेकालाई सत्ता र पदका लागि बिक्री गरिन्छ भने भोलि फेरि कसलाई बिक्री गर्न पुग्ने हो ठेगान छैन।अहिलेको परिस्थितिमा बिशेषतः नेपाली काँग्रेसको झर्केलो पार्टी बन्न पुगे पनि आफ्नो र पार्टीको इतिहासको ख्याल नगर्नेहरू भोलि फेरि के भनेर जनताको अभिमतलाई बलात धोका दिने हुन निश्चित छैन। जे होस भविष्यमा के क्सलाई धोका देलान त्यसलाई चिन्ताको बिषय बनाइ रहनु त्यति उपयुक्त नहोला तर अहिल्यकै अव्स्थालाई हेरेर भन्ने हो भने निर्धक्कसाथ नेपाली काँग्रेसको झर्केलो पार्टीहरू हुन भन्दा कुनै फरक नपर्ला।