डा. शिवजी सापकोटा
सहकारी व्यवस्थापन विज्ञ
विश्वमा बेलायतबाट सहकारीताको अभ्यास शुरु भई विश्वमा यसको सञ्चालन विधि, सिद्धान्त र फरक छवीको आत्मसाथ र अनुकरण हुँदै आएको १७६ बर्ष भन्दा बढी भइसकेकोछ । यी वर्षहरुमा सञ्चालन, विकास, विधि र तौरतरिका, सदस्यहरुलाई सेवा, समुदायमा उपस्थिती र विस्वसनीयता हेर्दा यो वास्तबमै सदस्यहरुको आफ्नै स्वामित्वको सदस्यहरु प्रति जिम्मेवार संगठनको रुपमा लिन सकिन्छ त्यसैले त यो विश्वमा प्रभावकारी बन्दै गएकोछ । विश्वका ३० लाख सहकारी संस्थाहरुमा विश्वको १२% जनसंख्या आवद्ध रहेको र विश्वमा रोजगार जनशक्तिहरु मध्ये १०% अर्थात २८ करोडलाई रोजगारी दिएको तथ्यांक अन्तराष्ट्रिय सहकारी महासंघले प्रकाशन गरेकोछ ।
समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका बहुपक्षीय विकासमा सामुहिक जिम्मेवारी र दायित्व वहन गर्ने गरी गठित सहकारीहरु विभिन्न विषयगत र वित्तीय कारोबारमा संलग्न छन् भने नेपालमा एकिकरण पश्चात वा निस्क्रिय भएका संस्थाहरुलाई अलग गरी क्रियाशिल सहकारी संस्थाहरु २९ हजार ८८६ रहेको जसमा आवद्ध ७२,०७,४६२ जना व्यक्तिगत सदस्यहरु आववद्ध रहेको सहकारी विभागले बताएकोछ । यी मध्ये अधिकांश सहकारीहरुले प्रत्यक्ष रुपमा बचत र ऋणको मात्र कारोबार गरी बचत, ऋण र अन्य वित्तीय सेवाहरुमा विविधीकरण गरेको अवस्था छ ।
सहकारी ऐन २०४८ ले सहकारी गठन गर्न दिएको अधिकार प्रयोग गरी गठित नेपालका वित्तीयस सहकारीहरुले आधारभूत तह ः संघ संस्थाको विनियम, नीतिहरु निर्माण र सदस्यता अभिवृद्धिको क्षेत्र, सदस्यता विस्तार, नेतृत्वको जिम्मेवारी र स्वयमसेवी भूमिकाको विषयमा जानकारी लिएको अवस्था । संस्थागत विकास तह ः आवश्यक अनिवार्य नीतिहरु, वित्तीय अनुगमन औजार मार्फत वित्तीय एवम् आत्मनिर्भरता÷दीगोपना परीक्षण, सुशासन मार्फत भूमिका र जिम्मेवारी विषयमा छलफल र वहस, सहकारी एवम् लेखा व्यवस्थापन मार्फत दैनिक संचालनमा चुस्त एवम् दुरुस्तता कायम भएको अवस्था
स्तरीकरण तह ः जोखिम सुपरिवेक्षण, पल्र्स अनुगमन, राष्ट्रिय अन्तराष्ट्रिय मापदण्डहरुको निर्माण, कार्यान्वयन र परीक्षण सहित स्तर निर्धारणको अवस्था । प्राविधिकीकरण र सदस्य समृद्धिको तहः सहकारी संस्थाहरु सदस्यहरुको आर्थिक क्षमताको विकासका लागि उद्यमशिलता, व्यवशाय विकास, बजारीकरणमा सहयोग र उत्पादक, वितरक र उपभोक्ता सम्म पु¥याउने च्यानलहरु निर्माण गरी वित्तीय
र प्राविधिक रुपमा उक्त संयन्त्रमा सहकारीलाई केन्द्रमा राख्ने अवस्थामा क्रियाशिल रहेकाछन् ।
यी रहे दिनानुदिन सहकारी सञ्चालन र व्यवस्थापनको विषय, यसका लागि सदस्यहरुबाट संस्था सञ्चालनको लागि चयन भई नेतृत्वलिने व्यक्तिहरु वा समितिको काम कर्तव्यको बारेमा सहकारी ऐन २०७४ को दफाल ४३ ले सञ्चालक समितिको र दफा ४९ ले लेखा समितिको काम कर्तव्यको विषयमा मार्गनिर्देश गरेको छ । समग्रमा संस्था सञ्चालनका लागि सञ्चालक समिति र लेखा समिति रथका दुई पांग्रा जस्तै हुन तथापि भूमिका फरक फरक छ, यी दुई पाग्रा मध्ये कुनै एकमात्र कमजोर भयो भने संस्थाले आफ्नो गति लिन सक्दैन दुबै सशक्त रुपमा परिचालन गर्नुपर्दछ । विशेषगरी सञ्चालाकीय सरोकारका विषयहरु, अभियानको दुरदर्शिता र निरन्तरताका विषयहरुमा सञ्चालक समिति बढी क्रियाशिल रहनुपर्ने साथै संस्थागत सुशासन र नीति एवम् कानूनी संहिताको परिपालनाको
प्रत्याभूतिका विषयमा लेखा सुपरिवेक्षण समिति क्रियाशिल रहनुपर्ने विषय मुख्य जिम्मेवारी भित्र पर्दछ । यहाँ बुँदागत रुपमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका जिम्मेवारीका विषयमा सन्दर्भका लागि उल्लेख गरिएकोछ । यी बुँदाहरु विश्व बचत तथा ऋण सहकारी परिषदले सन् १९८८ मा प्रकाशन गरेको बचत तथा ऋण सहकारीमा स्वयमसेवीहरुको संलग्नता नामक पुस्तका आधारमा तयार गरिएको हो ।
क) सञ्चालक समितिको मूख्य भूमिका
सञ्चालक समितिभित्र रहने सञ्चालकहरूको संस्थागत विकासको क्षेत्रमा विविध भूमिकाहरु रहन्छन् ती
मध्ये ५ वटा भूमिका यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
१) प्रमुख निर्णयकर्ताः सञ्चालक समिति सहकारी संस्थाको पहिलो र प्रमुख निर्णयकर्ता हो । सञ्चालकहरूले समितिको बैठकमा प्रवेश गरेपछि आफूलाई गौरवान्वित ठान्दै निर्णय लिनुपर्ने विषयसूचीहरूमा सूक्ष्म र गहन छलफल गर्नुपर्छ । संस्थाका सदस्यहरूलाई सर्वोपरी स्थानमा राखी गरिने हरेक निर्णयहरू सदस्यको हितमा भए÷नभएको पुनरावलोकन पनि गर्नुपर्छ । संस्थाको प्रमुख निर्णयकर्ता भएका कारण ती निर्णयहरूले समुदायमा पार्ने भावी असरबारे जिम्मेवारी वहन गर्नु आवश्यक छ । सहकारी संस्थाका परिकल्पना, उद्देश्यहरू, नीतिहरू, कार्यक्रमहरू, व्यावसायिक योजनाहरूका बारेमा यथेष्ट छलफल र निर्णय लिई कार्यान्वयनको मार्गचित्र समेत तय गर्नुपर्दछ ।
२) अभियान र व्यवस्थापनको सल्लाहकारको भूमिकाः सहकारीका सञ्चालकहरु आफ्नो सहकारी भएको वा सहकारीको कार्यक्षेत्र भित्र रहने समुदायका हरेक विधाहरुमा संलग्नता र सलाहकार लिने दिने कार्यलाई तिब्र बनाई सामुदायिक विकासको क्षेत्रमा अत्यधिक चासो राख्ने हुनु पर्दछ । त्यस्तै गरी सहकारी भित्र विशेष गरी व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतलाई सल्लाह दिने कार्य लगायत समुदायका सदस्य वा सम्भावित सदस्यहरूसँग औपचारिक वा अनौपचारिक रूपमा वित्तीय परामर्श वा पैसाको उचितसदुपयोग गर्ने उपायहरु बताउने काम पनि सञ्चालकहरूको रहन्छ ।
३) संरक्षकको भूमिकाः सहकारीमा सञ्चालकहरूको अन्य भूमिकाहरु मध्ये यो अत्यन्तै महत्वपूर्ण भूमिका हो । संस्थाको पहरेदारको रूपमा हरदम क्रियाशील हुनु जरुरी छ । समुदायको अपार सम्पत्ति वचतको रूपमा स्वीकारी सकेपछि त्यो धनराशीको संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । समुदायका व्यक्तिहरूले गरेको असीम विश्वासलाई कायम राख्दै शेयर र वचतको सुरक्षा दिनु सञ्चालकको कर्तव्य रहन्छ । आफू सञ्चालक समितिबाट बाहिरिए पनि आफ्नो समयमा गरिएका निर्णयहरूको भागिदारी आफूपनि हुने हुँदा हरेक निर्णयमा सजगता अपनाउनु जरुरी छ किनकी सञ्चालक समितिमा ती व्यक्ति रहेका कारण सदस्यहरुले आफूले दुःख गरी आर्जन गरेको बचत विस्वासका साथ सहकारीमा राखेकाछन्
४) सांकेतिक भूमिका ः सांकेतिक भूमिकालाई वाह्य आवरण वा मुखाकृति भन्दा पनि सूक्ष्म रूपमा लिनुपर्ने हुन्छ । सहकारी संस्थामा काम गर्ने सञ्चालकहरूको आचरण, व्यवहारशैली र उठबसले समुदायमा प्रभाव पारिरहेको हुन्छ । उनीहरूको असल व्यवहारलाई समुदायका व्यक्तिहरूले अपनाउन पनि सक्ने हुँदा उच्च तहको असल व्यवहार प्रस्तुत गर्दै जाने भूमिका सञ्चालकहरूको हुनुपर्दछ । समुदायको प्रतिनिधिको रूपमा सञ्चालकको हैसियतले संस्थामा प्रवेश गर्ने हुँदा विभिन्न संघ÷संस्था, सरकारी, गैरसरकारी संस्थाहरूमा प्रस्तुत हुँदा सञ्चालकको व्यवहार र शैलीलाई नै संस्था ठानिने वा बुझिने हुँदा बोलीमा माधुर्यता, मिठास र व्यवहारमा झुकाई र नम्रता प्रस्तुत भएमा संस्थाप्रतिको उनीहरूको अवधारणा सकारात्मक बन्दै जानसक्छ । तसर्थ सञ्चालकहरूको छनौट गर्ने समयमा नै सबैलाई पदहरू भाग लगाउने भन्दा पनि कस्तो व्यक्तिकुन पदमा राख्नु वा चुन्नु उपयुक्त हुन्छ यसबारे संस्थामा सक्रिय रूपमा लागि परेका सदस्यहरूमाझ गहन छलफल गर्नु÷गराउनु जरुरी हुन्छ ।
५) अभियान निरन्तरताको भूमिका ः आफूले प्रतिनिधित्व गरी जिम्मेवारी बहन गरेको सहकारी संस्था भविष्यमा अझ दीगो र भरपर्दो बनाउनु पर्नेछ भन्ने विषयमा समुदायलाई विश्वस्त बनाउनका लागि सञ्चालकहरूबाट नियुक्त कुशल व्यवस्थापक र व्यवस्थापनबाट नियुक्त असल कर्मचारीहरूबाट मात्र सम्भव छ । त्यतिमात्र नभई उपसमितिहरूमा कुशल र असल सदस्यहरूलाई मौका दिँदै अगुवाहरूको क्षमता विकास गर्दै भावी नेतृत्वमा उनीहरूलाई भित्र्याउँदै आफूले सम्हाली आएको नेतृत्वको नासो खुल्ला दिलले हस्तान्तरण गर्दै जानुपर्छ । किनकि सहकारीसंस्था कुनै पसल होइन जुन मन लागेको समयमा बिक्री गर्ने र फेरि खोल्ने । यो त अविरल प्रवाहित रहने गङ्गासमान हो जुन युगयुगान्तरसम्म सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय रूपान्तरणमा लागिरहन्छ । नेतृत्व तयार गर्ने र आफ्नो पदावधि नयाँ समिति चयन गरी उनीहरुमा हस्तान्तरण गर्ने जिम्मेवारी पनि सञ्चालक समितिको रहनेछ ।
ख) लेखा समितिको मूख्य भूमिका
सहकारी सञ्चालन, व्यवस्थापन र बृहत उद्धेश्य प्राप्ति सहित सदस्यको आर्थिक सहभागिता बमोजिमको प्रतिफलको वितरणका लागि क्रियाशिल सञ्चालक समिति, व्यवस्थापन जस्तै लेखा सुपरिवेक्षण समितिको पनि उतिकै जिम्मेवारी र काम कर्तव्यहरु रहन्छन् । भनिन्छ लेखा समिति सवारी साधनमा सवार यात्रु वा सडकमा गुडिरहेका सवारी साधनहरु होइनन् यी त संकेत गर्ने ट्राफिक बत्तीहरु जस्तै हुन् । उनीहरु आफैँ गाडी रोक्न जाँदैनन् रोक, पर्ख वा जाउ भन्ने संकेत दिन्छन् । नियमको परिपालना, कानूनी संहिता र सुशासन कायम गर्नका लागि नियमित परीक्षण, आन्तरिक कार्यविधिहरु, कानून वा विनियमको अधिनमा रही बने नबनेको त्यसको परिपालनाको अवस्था, सम्बन्धीत नियमक निकायहरुमा पेश गर्नुपर्ने प्रतिवेदन वा जानकारीहरु, समायावधी भित्र सम्पन्न गर्नुपर्ने सहकारीका सुशासन सँग सम्बन्धीत क्रियाकलापहरु, साधारण सभा, विस्तारित मञ्च, लेखापरीक्षण, संस्थालाई आकर्षित हुने ऐन नियमहरुको पालनाको अवस्थाका बारेमा तोकिए बमोजिमको अवधिमा परीक्षण गर्ने र सोको यथार्थ स्थिती सञ्चालक समितिलाई अवस्था चित्रण गरेर बुझाउने कार्य गर्नुपर्दछ भने समग्र प्रतिवेदन साधारण सभा समक्ष पेश गर्ने दायित्व लेखा सुपरिवेक्षण समितिको रहन्छ ।
१) नीति, विधि निर्माण र कार्यान्वयनको सहकजर्ता ः सहकारीहरुमा विद्यमान अनिवार्य नीतिहरु
कार्यविधिहरु, निर्देशिकाहरु, निर्णयहरुको कार्यान्वयनको अवस्था र कानूनले, सुशासनले वा आचारसंहिताले मागेका दस्तावेजहरुको तयारी एवम् प्रभावकारीताको विषयमा जानकारी लिने र तयार छैनन् भने तयार गर्नका लागि लेखा सुपरिवेक्षण समितिले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ ।
२) समग्र अवस्था वा विधिको प्रतिवेदकः सहकारी संस्थाको सञ्चालन, वस्तु एवम् सेवाको विकास र त्यसमा सदस्यहरुको सहभागीताको दर, उपयुक्तता, संस्थागत सुरक्षण, जोखिम व्यवस्थापन लगायत संस्थाको सम्पत्ति व्यवस्थापनका विषयहरुमा सुक्ष्मअध्ययन गर्नु पर्दछ ।
३) संस्था सञ्चालनको सुपरिवक्षक ः संस्थाको दैनिक सञ्चालनमा हुने विभिन्न विषयगत खर्चहरु, सुशासन खर्च, समिति उपसमिति खर्च एवम् व्यवस्थापन प्रमुखको सेवा सुविधा वा संस्था भित्र कसरी र कति खर्च हुन्छ र तीनिहरुको औचित्यता कस्तो छ सदस्यहरुको प्रतिनिधि भई परिक्षण गरी जस्ताको तस्तै तोकिए बमोजिमको ढाँचामा प्रतिवेदन साधारण सभा समक्ष पेश गर्ने जिम्मेवारी लेखा सुपरिवेक्षण समितिको रहन्छ ।
यसरी सहकारी संस्थाको सञ्चालन व्यवस्थापन र श्रोतहरुको उपयोगिताको सुपरिवेक्षण गर्नका लागि दुईवटा समितिहरु क्रियाशिल रहन्छन् र आआफ्ना जिम्मेवारी एवम् भूमिका निर्वाह गरी नेपालमा सहकारी क्षेत्रलाई एक विश्वसनीय एवम् पारदर्शि संस्थाको रुपमा स्थापित गर्न कटिबद्ध रहेकाले आवधिक रुपमा यीनीको क्षमता विकासका लागि राज्य, संघहरु र विभिन्न सरोकारवाला निकायहरुले पहल गर्दा वास्तवमै सहकारी क्षेत्रको छवी निर्माणमा सहयोग पुग्नेछ ।









