- प्रकाश भुर्तेल
कम्युनिष्टमा प्रयोग गरिने “कमरेड” र “लालसलाम“, मुठ्ठी बनाएर उठाउने हात र अभिवादन शैली अनि ब्यानर र पोष्टरमा टाँसिने हसियाँ हथौडा चिन्ह र आन्दोलनका योद्धाका तस्वीरले के बुझाउँछ भने कम्युनिष्ट धारका पार्टीहरुको गोत्र एउटै हो, मूल मन्त्र, सिद्धान्त एउटै हो र पूर्खा उहीँ हुन् । यसले के पनि बताउँछ भने कम्युनिष्टहरु कतै न कतैबाट एक अर्कामा जोडिएका छन् । फरक केबल विचार हो, सिद्धान्त हैन अनि विचार र सिद्धान्तको अन्तरसम्बन्ध हुन्छ । एउटै व्यक्तिमा त परिस्थितिजन्य दुई फरक विचार आउनसक्छ भने एकबाट दुई व्यक्तिमा फरक विचार आउनु स्वभाविक हो “यसले शुद्धिकरण ल्याउँछ, उत्कृष्टता जन्माउँछ र निर्णयमा तथ्यपरक र प्रमाणित निखारता ल्याउँछ ।”
फरक विचार आउनुपर्छ, विचारको सम्मान गर्नुपर्छ, त्यसउपर वौद्धिक तवरले छलफल र विमर्श गर्नुपर्छ र सहि निष्कर्ष निकाल्नुपर्छ, यो नै संगठनको बलियो आधार हो । फरक विचारलाई निषेध र विरोध गर्नु उपयुक्त हुँदैन । तसर्थ फरक विचार राखेर फुट्नु आवश्यक होइन, सहि निष्कर्ष निकालेर जुट्नु अपरिहार्य हो । विचार फरक ठीक हो मात्र नियत फरक बनाउनु भएन । सात दशक बढी पुरानो ईतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टीमा भर्खर जन्मेको उरन्ठेउलो प्रवृत्ति र अपरिपक्व शैली पटक्कै सुहाउँदैन । फरक विचार त कम्युनिष्ट पार्टीमा सुरुवाती अवस्थादेखि नै नआएका होइनन् कम्युनिष्ट पार्टीको विशेषता पनि त्यही हो । तिनै फरक विचारहरुका कारण आवश्यक परिमार्जन र शुद्धिकरण हुँदै पार्टी र कम्युनिष्ट आन्दोलन शसक्त भएको हो । नेपालमा कम्युनिष्ट पार्टी कुनै व्यक्ति विशेषको एकल प्रयासमा जन्मेको होइन, सीमित व्यक्तिका कारण टिकेको पनि होइन त्यसमा कैयौं जनता, कार्यकर्ताको योगदान छ, पसिना बगेको छ र त्याग र बलिदान छ । यो यथार्थलाई मनन् गर्दै एउटै डालोमा रहेका सिङ्गो पार्टीभित्रका नेता र कार्यकर्ताबीच वैमनष्यता, शत्रुता विरोध र निषेध कुनैपनि हालतमा सुहाएको पटक्कै छैन र हितकारी पनि होइन । “सधैं पाउनुमात्र जित होइन, गुमाउनु पनि जित हुन्छ, सर्वहितकारी मुद्दामा लचकता र त्याग सधैं प्रसंशनीय हुन्छ, उच्चकोटीको हुन्छ, त्यसको मूल्य कुनै बलिदानभन्दा कम हुँदैन हामीले बुझ्नुपर्छ । नेता वा नेतृत्वमा रहने मान्छेले आफ्ना निजी स्वार्थ, कुनै व्यक्ति, तह र संगठनप्रतिको हेर्ने दृष्टिकोण, गरेको व्यवहार र भोगेको तीतामिठा भोगाइका कारण गुट र फुटको बाटोमा लाग्ने र आफ्नो विचारलाई मात्र सर्वोपरी ठान्नेमात्र नभई असल नेतृत्वले त सबैको विचारको सम्मान गरि त्याग, बलिदान र लचकता अपनाएर सबैलाई समेटेर एकताको सुत्रमा बाँध्न सक्नुपर्ने हो तर पार्टीमै आन्तरिक कलह र जुँगा लडाईका कारण फरक गुट हुनु र पार्टीफुटको अवस्थासम्म जानु साह्रै दुर्भाग्यपूर्ण छ यसले दुबै पक्षलाई असर गर्छ र सबैभन्दा बढी देश र जनतालाई असर गर्छ । केरा र छोरामात्र हो फुटेपछि सप्रने, संगठन त जहिलेपनि जुटेर सप्रिने हो ।
यसले गर्दा एउटै कोठामा बस्ने मान्छेसँग मतभेद हुनसक्छ, पानी बाराबार हुनसक्छ र रगतको नाताबराबरको नाता भएको मान्छेसंग नाता टुटे बराबरको व्यवहार हुनसक्छ । वर्षौंदेखि सँगसँगै सक्रिय राजनीतिमा लाग्ने, दबाव, प्रभाव र स्वभावले राजनीति गर्ने मान्छेहरुबीच पार्टी नेतृत्वको सामान्य फरक विचार र मतभेदका कारण फाटो आउँदाको अवस्थामा आस्था र विश्वासको घर भाँडिदा, न यता न उताको अवस्थामा हुने र चेपुवामा पर्ने कैयौं निष्ठावान, मूल सिद्धान्त र आस्थाको धरातलमा टेक्ने जनता, कार्यकर्ता र नेतालाई हदैसम्मको अप्ठेरो परिरहेको प्रष्टै अनुमान लगाउन सकिन्छ ।
राजनीतिभित्र झूठ, छल, कपट, विरोध, समर्थन, एकता, विभाजन, प्रवेश, वहिर्गमन, विजय, पराजय, ताली, गाली आदि धेरै चिजहरु पर्दछन्, महाभारत कालमा स्वयं कृष्णले यी कैयौं चिजहरु गरे भोगे तर त्यो उनको हितको लागि थिएन । नेपाली राजनीतिमा पनि पर्दा र गर्दा यी चिजहरु केवल जनताको हितका लागि हुनुपर्नेमा आफ्नो र आफ्नाको हितको लागि बढी केन्द्रित देखिनुले नै राजनीति र राजनीतिज्ञलाई हेर्ने जनताको दृष्टिकोण बदलिएको हो । आफू राम्रो बन्नमा भन्दा नि अरुलाई नराम्रो बनाउनमा हामीले बढी समय र उर्जा खर्चिरहेका हुन्छौं, जुन नितान्त गलत हो । अरु नराम्रो हुनु तपाईं राम्रो हुनु होइन, तपाईं राम्रो हुन आफैं राम्रो हुनैपर्छ, अनि जुन तपाईले भन्नेपनि होइन, अरुले भन्नुपर्छ । तपाईले गरेका हरेक कृयाकलाप र बोलेका हरेक शब्दले तपाईको सोचाई, उचाई र भावी गन्तव्य निर्धारण गरिरहेको हुन्छ, किनकी आम मानिसले सबचिज जो नियालीरहेको हुन्छ ।
नेतृत्वमा पुग्नेले जहिले पनि बुझ्नुपर्छ कि त्यहाँ पुग्न कुनै एक व्यक्तिको निजी प्रयासले संभव छैन, प्रत्यक्ष अप्रत्क्ष रुपमा धेरै व्यक्तिको समय, मेहनत र प्रयास लागेको हुन्छ र ती सबैप्रति जिम्मेवार भइ जवाफदेही तवरले काम गर्नुपर्ने हुन्छ जुन कम्ता चुनौतिपूर्ण छैन । साथै समय र परिस्थिती सधैं उहीँ रहँदैन । नेपाली राजनीतिमा साझेदारी सरकार बनाउँदा र चुनाव केन्द्रित भोटको राजनीति गर्दा ठ्याक्कै विचार, सिद्दान्त मर्म उल्टो भएका र फरक धार अझ भनौं उत्तर र दक्षिण ध्रुवका नेता तथा कार्यकर्तामा त एकता गरिन्छ भने सगोत्री अझ एउटै कोखका दाजुभाइमा कुनैपनि बेला आत्मीयता बढ्नसक्छ, मनमुटु जोडिनसक्छ र एक हुनैपर्छ र हुन्छ भन्ने सोच्नुपर्छ । बोलचाल बन्द गरेर, घुराघुर र पानी बाराबारको स्थिति ल्याएर, जोरीपारी हँसाएर, भाइ–भाइ फुटेर, घरभित्रदेखि छर–छिमेक, साथीभाइ नातागोता र एउटै थालमा खाइ हुर्केकाबीच फाटो कुनैपनि हालतमा गर्नु आवश्यक छैन, जुन केवल शीतको थोपा जस्तै छ, कतिखेर खस्छ र मुक्का तेर्स्याएकोलाई अँगालो हाल्नुपर्छ थाहा हुन्न । चोइटिएर जाने ठक्कर खाएर फर्किएका धेरै उदाहरण छन् । त्यसमाथि “फरक विचारका बावजुत धैर्यता गुमाएर विहान घर छोडेर हिडेको मान्छे बेलुकासम्म घर फर्कन्छ भन्ने सोच्नु आवश्यक छ र साँझमा आउँदा घरकाले हरायो भन्नू र जानेले फर्किंदा लाजमान्नुपर्ने केही हुँदैन ।“ तसर्थ फरक विचार राखेर फुट्नु आवश्यक होइन, सहि निष्कर्ष निकालेर जुट्नु अपरिहार्य हो, सबैले मनन् गरौं । (उपाध्यक्ष, ने.क.पा एमाले, बनेपा ६ नं वडा कमिटी)









