2026 June 06/ 01:55: 17pm

— राकेश प्रसाद चौधरी
राणाकालीन सम्राज्यका संस्थापक जंगबहादुरबारेको जानकार अझैसम्म खोजीनीति गर्ने क्रम जारी छ । नेपाली शासन ब्यबस्थाको बागडोर कब्जा गर्नुभन्दा अगाडि उनको प्रवेश सेनामा भएको थियो । सेकेन्ड लेफ्टिनेन्टसम्ममा बढुवा पाँए । सन् १८३७ मा भिमसेन थापाको शक्ति खोसिएपछि बुवा बालनरसिंह कुँवरसँगै उनी पनि सेनाबाट बर्खास्त गरिए किनभने जंगबहादुर कुँवर थापाका नातेदार थिए । नेपाली इतिहासमा फरक फरक लेखिएपनि जंगबहादुरको सन् १८३७–३९ सम्मको दुईबर्षे संघर्षबारे धेरै कुरा लेख्न छुट्टाइएको देखिन्छ ।
जंगबहादुरको आर्थिकस्थिती जुवाको लतका कारण दयनीय भएको थियो अथवा पारिवारिक जिम्मेवारीबाट भाग्न उनी काशी पुगे । उनी त्यहाँ शान्त रहन सकेनन, कुनै काम पनि गर्न नपाउँदा मधेशमा छिरेका थिए । त्यसमा पनि महोत्तरीको मटिहानी क्षेत्र ।  
मकवानपुरे राजाको शासन कालमा महोत्तरी एउटा प्रान्त थियो । जलेश्वर शैव सम्प्रदायको र मटिहानी बैष्णव सम्प्रदायको प्रमुखस्थलको रुपमा बिकास गरिएको थियो । मकवानपुर राज्यमाथि अधिपत्य जमाएपछि राजा पृथ्वीनारायण शाहले समेत यस क्षेत्रलाई गुलजार नै राखेका थिए । यस सम्बन्धमा लेखक डेविड क्यानाडी र सिमन प्रीसले ‘रिचुअल्स अफ रोयाल्टीःपावर एण्ड सेरोमोनियल इन ट्रेडिशनल सोसाइटिज’ ले पृष्ट २५५ मा लालमोहर मटिहानी मठबारे चर्चा गरेका छन् । यसै ठाउँमा सन् १७१८ मा स्थापित संस्कृत पाठशाला जिबन्त राख्न शाहवंशीय राजाले अधिकार नै दिएका थिए । त्यतिबेला छिमेकमा दरभंगा राजाको शासन चलिरहेको थियो । दरभंगा राजाले बंगालका नबाबसँग बार्षिक एक लाख रुपैयाको नजरानामा शासन अधिकार पाएका थिए । केही इतिहासकारले राजा राधव सिंहको शासनकाल(सन् १७००–१७३६) तथा केही सन् १७३९ सम्म शासन कायम रहेको लेखेका छन् । मकवानपुरे राजाले दरभंगा राजालाई आफ्नो कालमा कर तिर्ने गरेको तथा शाह राजाहरूले केही समयसम्म कर तिरेको इतिहास पनि छ ।
मटिहानी स्थान जंगबहादुर एकदम मन परेको थियो किनभने यहाँ शस्त्र र शास्त्रको कुरा हुने थलो थियो । जंगल क्षेत्र भएको शस्त्र र संस्कृत पाठशाला भएको शास्त्रको कुरा यहाँ नियमित हुने गरेको थियो । त्यही भएर मन परेको यो ठाउँमा भोजनको समेत कुनै समस्या थिएन । हात्तीसँग धेरै लगाव भएकै कारण उनी हाथीको रखबार भएर काम गर्न थाले । 
प्रमोद शम्शेर राणा (सन् २००९)को पुस्तक राणाशासनको बृतान्तमा जंगबहादुर तराईमा माउतेको काम गरेको चर्चा छ । काशी(बनारस) को छोटो बसाईपछि जंगबहादुर तराईमा काम गरेको पुस्तकमा उल्लेख छ । जंगबहादुरबारे मटिहानी क्षेत्रकै तुलसीयाहीमा अझैसम्म केही किम्बदन्ती छ । यसबारे अध्ययन हुन बाँकी रहेपनि यहाँको पुरातत्व महत्वका धार्मिक सम्पदाबारे कुरा हुँदा जंगबहादुरकै नाम आउँछ । 
मटिहानी क्षेत्र भन्दा दक्षिणमा दरभंगा राजको शासन रहेपनि मुख्य अधिकार ब्रिटिश इष्ट इन्डिया कम्पनिकै थियो । त्यहाँ महाराजा छत्र सिंहले(सन् १८०७–३९) शासन गरिरहेका थिए । नेपाल–अंग्रेजबीच सन् १८१४–१५ मा भएको युद्धमा अंग्रेजलाई साथ दिएको कारण दरभंगाका राजा छत्र सिंहलाई महाराजाको उपाधि दिइएको थियो । 
मटिहानी क्षेत्रकै तुलसीयाहीमा एउटा भगवतीको मूर्ति थियो । जंगबहादुरले नियमित रुपमा यो मूर्तिको पुजा गर्थे । हात्तीको बथान रेखदेख गर्ने जिम्मा जंगबहादुरकै थियो । ब्रिटिश इष्ट इन्डिया कम्पनिले यस क्षेत्रबाट हात्तीको शिकार गरेर लान चाहन्थ्यो । त्यतिबेला जंगबहादुरले उनीहरूसँग बहादुरी देखाए तर सकेनन् । तुलसीयाही गाउँका बासिन्दाहरूको जनश्रुति अनुसार यही भगवतीको आराधनाले उनी जेलमुक्त भएका थिए र त्यसको केही समयपछि काठमाण्डौ फर्किएका थिए । के त्यतिबेला जंगबहादुरले आफ्नो परिचय दिएर अंग्रेजका माथिल्लो तहका अधिकारीसँग केही सम्झौता गरेका थिए अथवा अरु नै केही कुरा भएको थियो । यसबारे इतिहास मौन छ । अनुसन्धानको खाँचो छ । 
जंगबहादुर काठमाण्डौ फर्किदा श्रीमति र छोराको मृत्यु भइसकेको थियो । उनको ११ बर्षकै उमेरमा सन् १८२८ मा काजी प्रसादसिंह बस्न्यातकी भित्रिनीपट्टिीकी छोरी प्रसाद लक्ष्मीसँग भएको थियो । त्यसपछि काठमाण्डौ फर्किएकै बर्ष सन् १८३९ मा उनको विवाह सनक सिंहकी बहिनीसँग भएको थियो । त्यसको केही समयपछि सन् १९४० मा राजा राजेन्द्र सँग तराई भ्रमणमा रहँदा बीरता देखाएको कारण कप्तान पद पाँएर पुनः राजकाजमा आएका थिए । छ÷सात वर्षभित्रमै गराइएको रक्तपातका कारण प्रधानमन्त्री एवं कास्की र लम्जुङ्ग महाराज र श्री ३ सम्म भए । 
सन् १८५७ मा भारतमा भएको सिपाही बिद्रोह शान्त गर्न जंगबहादुर आफै लखनउ पुगेका थिए । सन् १८५८ मा लखनउमा अंग्रेजी प्रभुत्व कायम गराएर उनी फर्किएका थिए । उपहार पाएको नयाँ मुलुकसहित सन् १८६० मा सीमा सन्धी भएको थियो । सन् १८७५ मा शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणा तराई भ्रमणमा आएका थिए । तुलसीयाही गाउँमा रहेको जनश्रुति अनुसार उनले यस क्षेत्रमा लक्ष्मीनारायण मन्दिर निर्माण गराएर दश हजार बिघा जग्गा प्रदान गर्ने घोषणा गरेका थिए । तर उनीसँग रहेका कर्मचारीहरुले आपसमा पाँच हजार बिग्हा जग्गा खाइदिए । त्यहाँ गरुड शिलालेख र हनुमानको प्रतिमा राख्न लगाएका थिए । हात्तीको रेखदेख गर्दा सधै स्मरण गर्ने भगवतीको नाममा उनले श्वेतकालीको प्रतिमा स्थापित गरेका थिए । 
सोही समयमा मटिहानी मठका मठाधीश रामरक्षा दासलाई प्रदान गरिएको श्री मान् महन्थको उपाधि श्री मान् महन्थ ललित दासको पालामा लालमोहरबाट स्थायित्व गराएका थिए । हालको समयमा तुलसीयाही र मटिहानी मठकोे अधिनमा के कत्ति सम्पति रहेको बारे यकिन तथ्यांक सार्वजनिक हुन सकेको छैन । (मधेश दर्पण फिचर सेवा)