- जिएन प्रधान
अहिले नेकपा एमाले एक रहने वा बिभाजन हुने भन्ने दोषाँधको गम्भीर अवस्थामा रहेको छ । एक अर्कामा आफू वा आफ्नो पक्ष पूर्ण निर्दोष र अर्को पक्ष पूर्ण दोषी रहेको आरोप प्रत्यारोप बीच फेरि पार्टी एकताको लागि भनी दस सदस्यीय वार्ता टोली गठन भै दशबुँदे आधार तयार गरिए पनि नयाँ–नयाँ शर्तहरू अघि सार्दै आउनु र पार्टी फुटको दोष आफूमा नआओस् भन्ने अपजसबाट उम्किन खोज्नु बाहेक निष्कर्षमा फुटतिरै उन्मुक रहेको स्पष्ट हुन्छ । जसलाई यसरी विभिन्न उपशीर्षकमा राखेर हेर्न सकिन्छ ।
१. पार्टी अनुशासनमा आएको बिचलनः
खासगरी भन्ने हो भने अब पार्टी मिल्नु र नमिल्नुको खासै अर्थ छैन । जतिसुकै मन माझिएर पार्टी एक भएको घोषणा गरिए पनि वास्तवमा अब त्यो ठाउँमा पुग्न असम्भव छ कि जुन आजभन्दा ५÷६ वर्ष अगाडिको रहेको थियो । ठाउँ त्यो हो, जतिखेर पार्टी केन्द्र भित्र बहुमत अल्पमतको सैद्धान्तिक मतभेद रहेपनि जनवादी नीति, सिद्धान्त या कम्युनिष्ट विशेष गुणको आधारमा बहुमतको कुरालाई शिरोधार्य गरि अगाडि बढ्ने चलन रहेको थियो । अल्पमत पक्षकालाई जति नै चित्त नबुझे पनि बहुमतबाट पारित नीति, बिचारलाई आम कार्यकर्ता र जनता समक्ष विवाद रहित विचार, सिद्धान्तको रुपमा पार्टी संगठनलाई अगाडि बढाउनु पथ्र्याे । मोफसलमा खुल्ला रुपमा जथाभावी ढङ्गले भिन्न विचार लान निषेध थियो। लान पाउँथ्यो त महाधिवेशन शुरु हुन लागेपछि औपचारिक रुपमा घोषणा गरेरै फरक मत तथा भिन्न विचारलाई पनि संगसंगै लान पाइन्थ्यो । पार्टी कमिटीको अनुमति नलिई जतिखेर जहाँसुकै यस्ता फरक मत लगेमा पार्टीबाट कारवाहीको प्रकृयालाई अगाडि बढाइन्थ्यो तर अहिले त्यसको बिपरीत अवस्थामा आईपुगेको छ । कम्युनिष्ट सिद्धान्त के हो ?, अनुशासन के हो? एकादेशको कथा भएको छ । बहुमतको निर्णय अमान्य र अवैध हुन पुगेको छ तर अल्पमतको कुरा जबर्जस्ती मान्नुपर्ने भएको छ । अधिवेशनबाट चुनिएको पार्टी अध्यक्षलाई कुनै अमुक होटेलको बैठकले हटाएर हारेका अध्यक्षलाई बैधानिक अध्यक्ष मान्नुपर्ने पार्टीको विधि र पद्दती हुने भनी चर्को आवाज उठ्न थालिएको छ÷भएको छ । आफू मुनि परुन्जेल २०७५ जेष्ठ २ गते अघिको कुरो हुनुपर्ने अनि आफूले पाउने भए २०७५ जेष्ठ २ भन्दा पछि पनि नियम फेरिन सक्ने, अझै बिधान नियममा नभए पनि हुने भएको छ । आफूले गरे पार्टी बिरोधी जस्तो अपराध गरे पनि हुने भएको छ । पार्टी अध्यक्ष वा प्रम केपि ओलीले भए आफ्नै पार्टी भित्रका घाँस खाएका नेता साँसदहरूको कारण संसद् बिघटन गर्नु परी सार्वभौम जनता समक्ष जाउँ भन्दा महा अपराधी, प्रतिगमणकारी हुन थालिएको छ ।
यतिमात्र नभै आफ्नै पार्टीका प्रमलाई अबिश्वासको प्रस्ताव ल्याएर हटाउने पार्टीको नौलो सिदान्त बन्न पुगेकोछ। आफ्नो पार्टीको प्रमलाई जसरी पनि हटाएर प्रमूख बिपक्षिका नेतालाई प्रम नबनाई नछोड्ने नेपाली कम्युनिष्ट त्यसमा पनि नेकपा एमाले माकुने पक्षको विशिष्ट सिद्दान्त बन्न पुगेकोछ। अरु त कुरै छोडौँ प्रचण्डको इसारामा नाच्ने , नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको कार्यकर्ता बनेपनि हुने भएको छ । नेकपा एमालेको घोषणा पत्रलाई साक्षी राखेर सूर्य चिन्हबाट निर्वाचन जितेर पार्टीको व्हिप उल्लंघन गरि पार्टीका आधिकारिक उम्मेद्वार बिरुद्धका उम्मेदवारलाई मतदान गर्ने पनि माकुने पक्षको विधि पद्दति बनेको छ । आफ्नो पार्टीको लागि जतिसुकै बेइमानी र पार्टीका धोकेबाज नेता भएपनि बिपक्षीका लागि अत्यन्त इमान्दारी, विश्वासी नेता बन्न कुनै कसर बाँकी नराख्ने बरिष्ठ नेता भैसकेको छ ।
२. नवौँ पार्टी महाधिवेशमा पराजित हुनुको बदलाभाव(इगो) र प्रचण्डको षड्यन्त्रः
१५ वर्षसम्म पार्टी महासचिव भएर नेतृत्व हाँकेका वर्तमान एमालेका कथित बरिष्ठ नेता र नवौँ महाधिवेशनमा यसैका पक्षका प्यानल(समूह) बनेर हारजित भएकाहरू समेत यहि माकुने गुटको नाममा पार्टी भित्रको स्थायी प्रतिपक्ष जस्तो बनेर जुन भुमिका निर्वाह गरे र आफू अध्यक्षबाट पराजित हुन परेकोको इगो अर्थात् बदलाभको भावलाई केपि ओलीलाई प्रधानमन्त्रीबाट च्युत गर्न पुगेपछि मात्र बल्ल आनन्द आएको महसुस गरेको पाइन्छ । जब केपि ओलीले आम निर्वाचन २०७४ को मंसिरमा भएको संघीय र प्रदेश निर्वाचनमा नेपालका दुई ठूला कम्युनिष्टहरू मिलेर लड्ने र दक्षिणपन्थी चिन्तन भएका (खासगरी नेपाली काँग्रेस) लाई सजिलै पराजित गर्न सकिन्छ भन्ने मान्यताकासाथ चुनावी एकता गर्न पुगे । पछि पार्टी एकता गर्ने भन्ने समेतको कुरा अघि बढ्यो । यसबाट आम पार्टी कार्यकर्ताहरू, समर्थक, शुभ चिन्तकहरूमा एक किसिमले देशब्यापी रुपमा माहौल सिर्जना भयो । विगतमा गरिएका माओवादी ज्यादतीको पीडा र प्रतिशोधको भावनालाई पैतालाले कुल्चिएर भएपनि आफ्नो मत राखेर बिजयी बनाउने काम गरे । अस्तित्वको रक्षामा रहेको नेकपा माओवादीको प्रत्यक्षतर्फबाट मात्रै झण्डै ३६ सीट प्राप्त गर्न सफल भयो । जुन नेपाली काँग्रेसको भन्दा बढी स्थानको सीट थियो । यो सीट संख्या माओवादी केन्द्रको बलबुट्टाको भन्दा धेरै माथिको हैसियत राखेर आएको थियो । जब कि दलगत लोकप्रियताको आधारमा प्राप्त मत भनेको एमाले र नेकाको तुलनामा निकै कम प्रतिशत मात्र मत आयो । यसलाई हेर्दा प्रत्यक्षतर्फ बढीमा ५ सीटभन्दा बढी नआउने स्पष्ट हुन्छ ।
जब प्रत्यक्ष निर्वाचनको अन्तिम परिणामको अवस्था हुँदै समानुपातिक तर्फको मत परिणाम आउँदै थियो । नेकपा माओवादीले यहिबाट नै बेइमानीको चाल खेल्न थालेको संकेत मिल्थ्यो । माओवादीको जे जस्तो भित्री तिकडम, षड्यन्त्र भएपनि वा नेकपा एमालेको केपि ओली नेतृत्वमा सकभर सरकार बन्न नदिउँ भन्ने भित्रभित्रैको षड्यन्त्र रहेपनि बाहिरी वातावरण चुनावी माहोल भिन्न भएकोले आखिर केपि ओली नेतृत्वमै सरकार बन्ने निश्चित भयो र बन्यो पनि । यता बाहिरी रुपमा मुखले केही नबोले पनि भित्रभित्रै भने केपि ओली प्रम बन्न पुगेकोमा माधव नेपाललाई औडाहा चल्न थालेको संकेत मिल्थ्यो । सुखी नेपाल, सम्वृद्ध नेपालको देश जनताको सम्मुन्नत विकासको नारा “कार्यक्रम र नीतिमै” समावेश भएपछि प्रचण्ड र माकुनेको भित्रभित्रै १०६ डिग्रीको ज्वरो आउन थाल्यो । हो, यहिँबाट यी दुवैमा केपिलाई तल झार्ने भन्ने योजनाको तानावानामा लाग्न पुगे । हुने मात्र भए छ महिना पनि नपुग्दै अविश्वासको प्रस्ताव ल्याउने सम्मको स्थितिमा पुगेका थिए माकुने, प्रचण्ड ।
३. झलनाथ, माधव नेपाल नेतृत्वको नेकपा एमालेः
माकुने र झलनाथको जुन १५ वर्ष र १२ वर्ष पार्टी महासचिव भई सफल पार्टी नेतृत्व हाँकेको भन्ने हाउगुजी मचाएपनि त्यो यथार्थमा सहि थिएन । सिङ्गो पार्टी केन्द्रीय कमिटीको बलियो सहयोग र पार्टी भित्र फलामे अनुशासन बलियो रहेकोले पनि माओवादी द्वन्द्वकालको ज्यादती, राजा ज्ञानेन्द्रको शाही “कु”को बाबजुद पनि पार्टीका आम कार्यकर्ता र समर्थकहरू ऐँठन जमाएर बस्न सफल भयो । यो माकुने र झलनाथको सफल नेतृत्वदायी भुमिका नभै जन आधारित आम कार्यकर्ता र शुभ चिन्तकहरूको एमाले प्रतिको गहिरो बिश्वासको परिणाम थियो । माक्र्सवाद, लेनिनवाद र माओ बिचार धारामा आधारित कम्युनिष्टको फलामे अनुशासन कायम थियो । बरु स्वयम् झलनाथ, तत्कालिन माकुने नेतृत्वको सरकार गिराइ आफू सरकारमा जानका लागि माओवादी तिर नजिक हुँदै जहिल्यैसुकै “राष्ट्रिय सहमतिको सरकारको” सुगा रटाईमा रहि रह्यो । जुनबेला पार्टीको नीति, बिचार, सिद्दान्तलाई धुमिल बनाउने काम गर्न पुग्यो र पार्टीलाई नै “न हाँसको चाल, न बकुल्लाको चाल” भने झैँ अर्थात् अझै अर्को अर्थमा भन्दा “न भाले न पोथी” भन्ने सम्मका नपुँसकताको प्रतीक जस्तै गरि पार्टीको छविलाई नै धुमिल बनाउने काम गरे । जब नवौँ महाधिवेशनबाट क.केपि ओली नेतृत्वको एमाले नयाँ पार्टीको रुप धारण गरेर अघि बढ्यो तब मात्रै पार्टीले गतिलिन पुग्यो । केपि ओलीको राष्ट्रियताप्रतिको अडान, सुखी नेपाली, सम्बृद्ध नेपालको राष्ट्र उत्थानको लोकप्रिय नाराबाट सबै प्रभावित भए । पार्टीको नवौँ महाधिवेशन अघिसम्म झन्दै महिनौँ दिनसम्म टिवि रोगले थलिएर बसेको बिमारी मान्छेको अवस्था झैँ शिथिल अवस्थामा रहेको पार्टीलाई एक्कासी माथी उठाउने काम गरे । जतिखेर माकुने र झलनाथले पार्टीलाई शिथिल बनाईसकेका थिए ।
यस्तै गरि माकुने स्वयं पार्टी महासचिव भै पार्टी हाँकीरहेको बेला जतिखेर राजा ज्ञानेन्द्रले नेका नेता शेरबहादुर देउवाले सत्ता दरबारमा बुझाए पछिको आन्दोलनको माहोलको उत्कर्षको रिक्त अवस्थामा राजा ज्ञानेन्द्रले “स्वच्छ छवि भएका” कुनैपनि ब्यक्ति वा दलका नेतालाई प्रमको लागि दरखास्त आव्हान गरिए पछि तत्कालिन एमालेका महासचिव समेत रहेका माकुनेले राजाको निरंकुसता “आधा सचियो” भनी राजाको पाउमा मोहर चढाई बिन्तिपत्र हाल्नसम्म भ्याए । धन्न पार्टी भित्रैबाट तिब्र आलोचना र विरोध भएपछि माकुने राजा ज्ञानेन्द्रको टिके प्रम हुनबाट चुक्न पुगे । यहि बेलाबाटै माकुनेको अवसरवादी चरित्र उदाङ्गो भैसकेको थियो । पदका लागि कति लालयित रहेछ भन्ने पनि स्पष्ट भैसकेको थियो ।
४. माधव,झलनाथ खनाल र केपि ओलीको वर्ग पृष्ठभूमी र चिन्तनः
स्मरणीय कुरो के रहेको छ भने माकुने र झलनाथको जीवन पृष्ठभूमी सामन्ति बर्गको रहेको समकालीन कम्युनिष्ट नेताहरूको भनाइबाट पनि स्पष्ट हुन्छ । यसैले पनि गरीब, बिपन्न वर्गबाट आएको केपि ओली आफूहरूभन्दा माथी पुगेको वा अघि बढ्न खोजेको यिनिहरूलाई पहिल्यैदेखि मन नपरेको वा मन पराउँदैनथ्यो भन्ने कुरा अहिले कतिपय अग्रज नेताहरूको अन्तर्वार्ताहरूबाट पनि स्पष्ट हुन आउँछ । अहिले पार्टी अध्यक्ष केपि ओलीले सार्वजनिक रुपमा एक पार्टी कार्यक्रममा “यदि पार्टी एक रहन्छ भने पार्टीका लागि जतिसुकै घोर अपराध गरेपनि “आम माफी” भनी कारवाही फुकुवा गरिएको कुरालाई इङ्गित गर्दै “हामीलाई आम माफी दिने, त्यो राजा माहाराजा” को हो? भनी जवाफ फर्काइनुले पनि माकुनेमा कतिसम्म घमण्ड र दम्भ छ भन्ने कुरा स्पष्ट भएको छ । यसलाई हेर्दा माकुने आफुले पाउने भए महाराजको पाउ मोल्न र आफूले हेप्न मिल्ने ब्यक्ती भए कतिसम्म गिरेर हेप्न पुग्दो रहेछ भन्ने कुरा यिनै दुई ब्यवहारले स्प्ष्ट हुन्छ ।
५. संसद् बिघटन हुनुमा प्रमुख दोषीः
अहिले पार्टी अध्यक्ष केपि ओलीलाई दुईदुई पटक संसद्को हत्या ग¥यो, संविधान च्यातियो भनी जुन आरोप लगाइएको छ, त्यो आफैमा झुठ भएको घाम जतिकै छर्लङ्ग छ । पहिलो नम्बरमा भन्ने हो भने पार्टीको नवौँ महाधिवेशनमा पराजित हुनुको रिसको इगो नै प्रमूख कारण हो भने दोस्रोमा आर्थिक वर्गको रुपमा आफूभन्दा कनिष्ठ ठानिएका ब्यक्ती दुई पटक प्रम बन्न जानु रहेको छ । तेस्रोमा केपि ओलीले ल्याएको लोकपृय आर्थिक नीति र विकास कार्यक्रमले मन भत्भती पोलिन पुग्नु । जसले ओलीको लोकप्रियता चुलिन गई आफूहरूको नाम निशानै मेटिन पुग्ने भयो भन्ने मन भित्रको डर नै अर्को प्रमुख कारण हो भन्न सकिन्छ । यसैले पनि सरकारले गरेका कुनै पनि कामहरूलाई तीखो र नकारात्मक आलोचना बाहेक यो त राम्रो काम गरेका हुन÷ छन् भनेर सार्वजनिक स्थानहरूमा भन्ने आँट गर्न सकेन । सरकार संचालनको सुरुवातदेखि नै मान, सम्मान, पद, भाग, मेरालाई, भन्ने कुराको असन्तुष्टिका कणिकाहरू छर्न थाले । आफूलाई तात्तातो अध्यक्षको मनसुवालाई थाम्न नसकी बिधि,पद्दतिको कुरा उठाई पार्टी अनुशासनलाई ठाडो उललंघन गर्न थाले भने केही आफ्ना पक्षका मतियारहरू सहित भै उता प्रचण्डलाई उचाल्न थाले ।
पार्टीको अस्तित्व नै समाप्त हुन लागि सकेर कुचु्रक्क परेका माओवादी अध्यक्ष प्रचण्ड प्रत्यक्ष र समानुपातिक समेत गरि ५३ सीट प्राप्त भएपछि भुईँमा खुट्टाले नछुने भैसकेका थिए । तैपनि जनमत आफ्नो पक्षमा नभएकोले लाजगाजले पनि तत्कालिन एमाले अध्यक्षलाई प्रमको लागि समर्थन गर्न बाध्य भए । यद्यपि यसबेला केपि ओलीको दुवै मृगौलाले राम्रोसंग काम नगरेकोले केपि ओली स्वयमलाई आफू २ अढाई वर्षभन्दा बढी बाँच्दिनहोला भन्ने मनसायले हुन सक्छ पहिलो अढाई वर्ष “म” प्रधानमन्त्री हुन्छु, त्यसपछिको बाँकी कार्यकाल तपाईं प्रम हुनुहोस भन्ने सहमती भएको÷गरेको हुनुपर्छ । तर प्रम केपि ओलीको मृगौला शल्यक्रियाले सफलता पाएपछि केपि ओली कहिले मर्ला भनी दिनगन्तिमा रहेका प्रचण्डमा झनै सत्तामोहको हत्तारोले बढी छट्पटिन थाले । उता माकुने केपि ओली प्रम बनेदेखिनै भित्रभित्रै मुर्मुरिएर बसेका छँदै थिए । अन्य सांसद्हरूको हकमा भने माकुनेको भिट्टो सिफारिसमा २÷४ जनाले मन्त्री पाएपनि अरू सबै मन्त्री पाउने आशबाट निराश भैसकेका थिए । पद र स्वार्थबाट ओतप्रोत भएर आएका यी भोका अवसरवादी चरित्रका कथित पार्टीका सांसदहरूलाई माकुने र प्रचण्डको आत्मघाती षड्यन्त्रलाई ठूलो अवसरको रुपमा प्रयोग गर्न साथ मिल्यो ।
६.एमालेको आम मतदाताप्रतिको विश्वासघात, निरर्थकको वार्ता प्रयास र अब टिकट दिँदा सोच्नुपर्ने कुराः
जे होस एमालेप्रति निष्ठावान् आम एमाले कार्यकर्ता र शुभ–चिन्तकहरूमा पार्टी एकढिक्का भएर बसोस् । नेकपा अर्थात् एमालेको सरकारले स्थायित्व पाओस्, देश र जनताले सम्बृद्ध र विकासको अनुभूति गर्न पाओस् भन्ने चाहना माथी कुठाराघात गर्न पुगेको छ कोही पदीय महत्वकांक्षा बेइमानी नियत र चरित्रका नेता र सांसदहरूको कारणले । हुँदाखाँदको आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिस्पर्धी पार्टी नेपाली काँग्रेसलाई सत्ता सुम्पिन्न पुगेको छ । जुन नहुनु पर्ने थियो त्यो हुन पुगेको छ, जुन नगर्नु पर्ने थियो त्यो गर्न पुगेको छ । देश, जनता र पार्टीको शक्ति मजबुत बनाउन निस्वार्थी भावले लाग्नुपर्ने नेताहरू आफ्नो ब्यक्तिगत रिस इगोलाई पूरा गर्न जुन किसिमले माकुनेको नेतृत्वमा अन्य नेता, साँसदहरू लागि परे । यसबाट एउटा केपि ओली सत्ताबाट हट्नुमात्र नभै एमालेको सरकार नै ढाल्न पुगे । पार्टीको लागि यो भन्दा ठूलो क्षेती अरू के हुन सक्छ ? पार्टीको विवाद पार्टी भित्रैबाट मिलाउनु पथ्र्याे । चित्त नबुझेका कुराहरू आपसी छलफलबाटै टुङ्याउनु पथ्र्याे तर यतातिर पटकै प्रयास गरिएन । मात्र एक ब्यक्ति केपि ओलीलाई प्रम÷अध्यक्षबाट हटाऊँ । यही एक सुत्रीय प्रतिशोधको कारण नै केपि ओलीबाट पनि कुनैपनि हालतमा यो दुवै पद नछोड्ने अवस्थामा पुग्यो । जसको परिणाम एमालेको सरकार ढलेर बिपक्षीहरूको परमादेशको कम्फरटेवल सरकार बन्न पुगेको छ । अहिले पार्टी एकताको लागि वार्ता, दशबूँदे सहमतिको आधार पत्र जे जस्तो प्रयासहरू गरिए पनि मृत्यु भैसकेपछि बचाउने प्रयास गर्नु जतिकै निरर्थक छ, त्यसको केही अर्थ छैन । त्यसैले पनि पार्टी एकता कायम राखौँ भनी यो कार्यदल बनाउनुको केही औचित्य छैन । दशबुँदे सहमतिको केही काम छैन । केन्द्रमा नेताहरूले जति नै एक भयौँ भनेर भने पनि आम कार्यकर्ताहरू पत्याउने अवस्थामा छैन । यिनिहरूलाई फेरि जिताउन किन लाग्ने ? प्रश्न उठ्न थालेको छ । खबरदार ! अब दोहोरिएर यस्ता कुकुर चरित्रका ब्यक्तिहरू कोही नपरुन् । बरु हार भएपनि जनताको मत माथी बिश्वासघात गर्ने गद्दारहरूले टिकट नपाउन । एमालेको भोटले जितेर नेकालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नेहरू सबलाई चिनिराखौँ । यदि कसैले कुनैपनि किसिमले टिकट पाइहाले पनि जनताले भोट नदिऊँ भन्ने जस्ता जन आवाजलाई पनि ध्यान दिनुपर्ने भएको छ ।









