2026 June 06/ 07:52: 38am

यादव थापा
संघीय गणतन्त्र नेपालको जारी  संविधान अनुसार वि.सं. २०७४ वैशाख र मंसिरमा राज्यका तीनवटै तहमा निर्वाचन सम्पन्न भएको अढाई वर्षपछि विभिन्न कारणवश खाली हुन गएका प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य ३ र स्थानीय तहका ४८ स्थान गरी जम्मा ५२ स्थानका लागि गत मंसिर १४ गते निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार समेत सम्हालिसकेका छन् । कूल ५२ स्थानको लागि भएको निर्वाचनमा नेकपाले ३० स्थान, काँग्रेसले १३ स्थान, समाजवादीले ४ स्थान, राजपाले ३ स्थान, जनमोर्चाले १ स्थान र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय हासिल गरेका हुन् । 
निर्वाचनमा कसले कहाँ कति जिते तालिकामा हेरौं
स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको निर्वाचनलाई मुख्य चासो र प्रतिष्ठाको रुपमा हेरिएको थियो जहाँ नेपाली काँग्रेसले ३० वर्षपछि विजयको बाजी मारेको छ । लगातार वामपन्थीले जित्दै आएको र २०७४ को निर्वाचनमा साविक एमालेले एक्लै २०९७५ मत ल्याएर जितेको थियो भने काँग्रेसले १६१०२ र साविक माओवादीले १११८० मत ल्याएका थिए । यसरी एमाले र माओवादी एकीकरण पछि बनेको नेकपासँग ३२१५५ मत देखिन्छ । तर उपनिर्वाचनमा काँग्रेसका तिलक राईले २६७०९ मत प्राप्त गरे भने नेकपाका प्रकाश राईको २३९१४ मात्र भई २६९५ को मतान्तर रहन गयो । उप निर्वाचनमा भक्तपुर १(क) मा नेकपाको पराजय हुनुपनि चर्चाको शिखरमा रहेको छ । २०७४ सालको निर्वाचनमा साविक एमालेका हरिशरण लामिछानेले १२७८० मत प्राप्त गरी विजयी भएका थिए भने काँग्रेसका विजय खत्रीले ९९७७ मत प्राप्त गरेका थिए । तर  अहिले त्यही क्षेत्रमा नेपाली काँग्रेसका कृष्णलाल भइलले १३४४९ मत प्राप्त गरी विजय हुँदा सिङ्गो नेकपाका देवीप्रसाद ढकालले ११२०६ मत प्राप्त गरी २२४३ को मतान्तरले पराजित हुन पुग्यो । 
    भक्तपुरको प्रदेशसभा निर्वाचनमा नेकपाको पराजय हुनुमा धेरै प्रसङ्गहरु गाँसिएका छन्, यसलाई केहिले पार्टी मिले पनि कार्यकर्ताहरुको मन नमिलेको रुपमा लिएका छन् भने केहिले ढकालको उम्मेदवारी प्रति नै पार्टी कार्यकर्तामा वितृष्णा भएको जनाएका छन् । त्यसैले त ढकालले टिकट पाइसके पछि पार्टी कार्यालयमा तालाबन्दी गरी टिकट फिर्ताको माग समेत भएको थियो । नेकपाको पराजयमा अर्काे प्रसङ्ग पनि गाँसिएको छ, ढकाल प्रचण्डका निकट मानिन्छन् अनि उर्जामन्त्री वर्षमान् पुनका स्वकीय सचिव पनि हुन् । भक्तपुर नगरकोट निर्माणाधीन सडक खण्डको निर्माण कार्य वर्षाैदेखि अलपत्र छाड्ने ठेकेदार शारदाप्रसाद अधिकारी प्रचण्डका घरबेटी हुन र प्रचण्डको संरक्षण पाएकै कारण उनीमाथि कारवाही नहुनु, अनि भक्तपुरका जनता र मतदाताले यो रिस पनि उपनिर्वाचनमा पोखेका हुनसक्ने कतिपयको अनुमान छ ।
    यसरी यसपटकको उपनिर्वाचनमा वर्षाैदेखि वामपन्थीको गढ मानिँदै आएको धरान उपमहानगरपालिका, भक्तपुरको १ क र प्रचण्डकै निर्वाचन क्षेत्र चितवनको भरतपुर १६ मा काँग्रेसले विजय हासिल गर्नुमा नेपाली काँग्रेसले वर्तमान जनमत सत्तारुढ नेकपाको पक्षमा नरहेको जनाएको छ । काँग्रेसले पराजित भोगेको अन्य स्थानका निर्वाचनमा पनि मतान्तर कम देखिएकाले यो काँग्रेसको लागि आगामी निर्वाचनमा विजयको शुभसंकेतको रुपमा उसले लिएको छ । तर नेकपाले उक्त हार व्यहोरेका निर्वाचन क्षेत्रका बारेमा आधिकारीक धारणा बाहिर ल्याएको छैन र सम्बन्धित पार्टी कमिटीलाई निर्वाचनको समीक्षा पेश गर्न सर्कुलर जारी गरेको छ । त्यसैगरी प्रदेशसभा तर्फ दाङ क्षेत्र नं. ३ ख र बाग्लुङको क्षेत्र नं. २ ख मा भएको निर्वाचन मत परिणाम गत २०७४ कै  यथास्थितिमा रहेकाले त्यसबारे त्यति धेरै चर्चा र विश्लेषण गर्न आवश्यक रहेन । दाङ ३ख को निर्वाचनमा नेकपाकी विमलाकुमारी खत्रीले २४२८६ मत र काँग्रेसका केशवराज शर्माले १९१८२ मत प्राप्त गर्दा ५१०४ को मतान्तर रहेको थियो । पवित्रा नेकपाका स्व. उत्तरकुमार वलीको धर्मपत्नी हुन् । स्व. वलीले २०७४ को निर्वाचनमा सोहि क्षेत्रबाट २३९७० मत ल्याई १७५३५ प्राप्त गर्ने काँग्रेसका बुद्धिराम भण्डारीलाई ६४३५ मतान्तरले पराजित गरेका थिए । वलीको गतवर्ष सडक दुर्घटनामा मृत्यु भएको थियो । 
    बाग्लुङको क्षेत्र नं. २ ख गत २०७४ को निर्वाचनमा पनि राजमोका टेकबहादुर घर्तीले ११८८४ मत ल्याई जितेको र उनको पनि गतवर्ष निधन भइ खाली भएको क्षेत्रमा यस उपनिर्वाचनमा पनि नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाही ११२३५ ल्याई ९१३८ मत प्राप्त गर्ने काँग्रेसका जितबहादुर शेरचनलाई २०९७ को मतान्तरले पराजित गर्न सफल भएका हुन् । उपनिर्वाचनमा सर्वाधिक चर्चा र चासोको क्षेत्रको रुपमा कास्की क्षेत्र नं. २ रहेको थियो । तत्कालीन पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भई खाली भएको उक्त क्षेत्रमा नेकपाको उम्मेदवार स्व. अधिकारीको धर्मपत्नी विद्या भट्टराईले २४३९४ मत प्राप्त गरी काँग्रेसका खेमराज पौडेललाई ८४०३ को मतान्तरले पराजित गरेकी हुन् । काँग्रेसको पौडेलले १५९९१ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा पनि रविन्द्रले काँग्रेसका उम्मेदवारलाई ८५४५ को मतान्तरले पराजित गरेका थिए । 
    उप निर्वाचनमा कास्की क्षेत्र नं. २ मा नेकपाकी विद्या भट्टराई र दाङ ३ मा नेकपाकी विमलाकुमारी खत्रीले विजय हासिल गर्नुमा पार्टीको मत सहित सहानुभूतिको मत पनि थपिएको भनि सामाजिक सन्जाल र पत्रपत्रिकामा धेरै लेखहरु प्रकाशित भए । विद्या र विमला दुवैजना आ–आफ्ना पतिको अकाल निधन भएपछि उक्त क्षेत्रमा पतिको उत्तराधिकारीको रुपमा उभ्याइएका प्रतिनिधिहरु पक्कै हुन् । पति विछोडको एकवर्ष भित्रै हुन लागेको यो उपनिर्वाचनमा मतदाताको उनीहरुप्रति सहानुभूति प्रकट हुनु स्वभाविक मानवीय प्रवृत्ति पनि हो । तर नेकपाको प्रतिबद्ध मत र उम्मेदवारहरु स्वयं सक्षम नहुने हो भने सहानुभूतिको मतले मात्र चुनाव जित्न सम्भव हुने थिएन । 
उप निर्वाचनले दिएको सन्देश र शिक्षा ः
    उपनिर्वाचन २०७६ गत निर्वाचन २०७४ मा निर्वाचित भई विभिन्न कारणवश रिक्त स्थानलाई पूरा गर्ने निर्वाचन भएकोले यस निर्वाचनको परिणामले देशको सत्ता समीकरणको जोड घटाऊ र विद्यमान प्रणालीमा तात्विक अन्तर पार्न सक्दैन, तापनि केहि राजनैतिक विश्लेषकहरुले यस उपनिर्वाचनलाई मिनी जनमत संग्रह र सत्तारुढ दल र सरकारको मध्यावधि मूल्यांकनको रुपमा पनि हेर्ने गरेको पाइन्छ ।
उपनिर्वाचनले सत्तारुढ नेकपालाई पनि धरान उपमहानगरपालिका र भक्तपुर १ क को परिणामले रम्रै सबक र सन्देश दियो । भक्तपुरको परिणामले नेताको आशिर्वाद पाएको तर कार्यकर्ताले नरुचाएको उम्मेदवारले चुनाव जित्न सक्दैन भन्ने सन्देश दियो भने धरानको मत परिणामले एमाले माओवादी पार्टी एकता परिपक्व र कसिलो हुन बाँकी रहेको र प्रतिपक्ष शक्तिमाथि हेलाँहोचो र कडा प्रहार नगर है भन्ने सन्देश दिनुका साथै नेकपाको नेतृत्ववर्गलाई नातावाद कृपावादबाट माथि उठेर सच्चा कम्युनिष्ट नेताको आचरण व्यवहार र जीवनशैलीका अनुसरण गर्न कडा सन्देश दिँदै खतराको घन्टी बजाएर गएको छ । धरान र भक्तपुरको निर्वाचन परिणामले नेपाली काँग्रेस हौसिएको छ, अन्य स्थानमा हारजितको अन्तर साँघुरो हुँदै गएकाले काँग्रेसले नेपाली जनमत आफूतर्फ आकर्षित भएको दावी गरेको छ । तर उसलाई पनि उप निर्वाचनले सांगठिनक संरचनाको विस्तार र सुदृढिकरण तल्लो तहसम्म पुग्न नसकेको र पार्टीमा गुट उपगुट झाँगिएको सन्देश दिएको छ ।
    त्यसैगरी उप निर्वाचनले वैकल्पिक शक्तिको रुपमा देखा पर्न थालेको साझा विवेकशील पार्टीलाई पनि साथ दिएनन् भने आकारमा खुम्चिँदै गएका राप्रपा नेमकिपा र क्षेत्रीयस्तरका संघीय समाजवादी राजपालाई पनि यथास्थानमा रहने जनादेश र सन्देश दिएको छ । जनता र मतदातालाई सधै आफ्नो रैति र मुठीका माछा सम्झने ठूला दलहरु नेकपा र काँग्रेसलाई पनि उपनिर्वाचनले राम्रो सबक र शिक्षा दिँदै मतदाता सधैभरी कसैका अधिनता र दासता स्वीकार गर्दैनन् भन्ने गतिलो सन्देश दिएको छ । हुन त नेपालमा हुने गरेका विगत वर्षहरुका चुनावमा पनि नेपाली मतदाताले आफ्नो मतदान स्वतन्त्र र स्वस्फूर्त रुपमा व्यक्त गरेको पाइएको छ । पंचायतकालमा व्यवस्थाको खिल्ली उडाउन नानीमैया दाहाल र जनपक्षीय उम्मेदवारको रुपमा पद्मरत्न तुलाधरलाई पनि काठमाडौंवासीले विजय गराएका हुन् । अनि त्यसैगरी वि.सं. २०४८ देखि २०७० सम्म भएका विभिन्न निर्वाचनमा पनि नेपाली मतदाताले आलोपालो सँग वामपन्थी र प्रजातान्त्रिक शक्तिलाई कहिले एकपक्षीय रुपमा र कहिले मिलेर शासन गर भनेर आफ्नो अभिमत प्रदान गर्दै आएका हुन् ।
    जेहोस् नेपालमा अझै केहि दशक यीनै दुई शक्तिको शासनसत्ता आलोपालो हुने संकेत देखिएको छ । तसर्थ यी दुई शक्ति नेकपा र काँग्रेसले जनताको अभिमतको कदर र सम्मान गर्दै जिम्मेवार राजनैतिक शक्ति र सँस्कारको रुपमा स्थापित गर्दै देश विकासको राम्रो मार्गचित्र कोरी कार्यान्वयन गर्दै जान सके नेपालका भावी सन्तानले वर्तमान सरकारले ल्याएको नारा “समृद्ध नेपाल, सुखी नेपाली” को उज्जवल क्षितिज देख्न पाउथे कि भन्ने अपेक्षा गर्न सकिन्छ ।