तीनवटा नगरपालिकामा ल्याउन लागिएका एकिकृत खानेपानीको परिक्षणले नागरिकमा उत्साह भरेको छ । लकडाउन अवधीमा पनि कार्य सूचारु राखी नागरिकहरुको आवश्यकतालाई चासो देखाउँदै स्थानीय सरकारले निर्माण कम्पनीलाई काम शुरु गराउने वातावरण तयार गरेका छन् । खानेपानीको सफल परिक्षणले नागरिकहरुलाई तत्काल खानेपानी उपलब्ध गराउन सहज भएको छ । अझै केहि पूर्वाधार निर्माणको कार्य बाँकी छ तर पनि परिक्षणले नागरिकहरुमा निश्चित रुपमा खानेपानी उपलब्ध हुने कुरामा आशा जगाएको छ ।
मुहान देखि मुख्य ट्याङ्कीसम्म पानीको सफल परिक्षण गरिएको छ । ट्याङ्कीबाट तीनवटा नगरमा अलग अलग पानी वितरण गरिनेछ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै खानेपानीको परिक्षण गरिएको हो । स्थानीय सरकारको निर्वाचन लगत्तै खानेपानी आयोजना सम्पन्न गर्ने गरी गति अघि बढेको थियो । तत्कालिन नेकपा एमालेले शुरु गरेको एकिकृत योजनाको पहिलो आयोजना तीन नगरको खानेपानी हो । पनौती, बनेपा र धुलिखेल नगरपालिकाका १ लाख ३९ हजार ४ सय २२ नागरिकका लागि उक्त खानेपानीले समेट्ने छ । शुरुमा उक्त आयोजनाले ९२ हजार २ सय ८६ जना नागरिकहरुका लागि खानेपानीको ब्यवस्थापन गर्न अन्तराष्ट्रिय बोलपत्र विधिवाट निर्माण व्यवसायी छनौट गरी २०१२ डिसेम्बर १९ मा आयोजनाको सम्झौता गरिएको थियो । भ्याट र कन्टिजेन्सी समेत गरी ८७ करोड ४९ लाख ८७ हजार २ सय ८० रुपैया ३२ पैैसा रहेको उक्त आयोजना जुन १२, २०१३ मा शुरु भएको थियो । काम शुरु भएको ७ सय ३० दिन भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य संचालनमा आएको आयोजनामा विविध समस्या देखिएका कारण ढिलो हुँदै आएको थियो । आयोजना संचालन भई रहँदा थप कार्यको भेरियसन समेत हुन गई निर्माण कार्यको अवधि डिसेम्वर ३०, २०१८ सम्म पुगेको थियो । पुनः बाँकी सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी ३१ मे, २०१९ सम्म म्याद थप नभए पछि सरकारले उक्त आयोजनाका लागि आवश्यक रकम ब्यवस्थापन गरेको छ । निर्माण कार्य सक्ने तयारी गरी पानी परिक्षणको कार्य अहिले भईरहेको छ । भौतिक संरचनाहरु इन्टेक, ट्रिटमेन्ट प्लाण्ट, रिजरभ्वायरहरुको निर्माण कार्य सम्पन्न भएको छ ।
एकिकृत खानेपानी संचालनका लागि रिजर्भायर टैंक, पाइपको मेन लाइन, वितरण लाइन लगायतका निर्माणका संरचनाहरु सवै निर्माण पूरा गरी नेपाल सरकारद्वारा गठित काभ्रे उपत्यका खानेपानी व्यवस्थापन वोर्ड मार्पmत बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रको खानेपानी सेवाको वितरण व्यवस्थापन गर्न जिम्मा लगाउने तयारी गरिएको छ । खानेपानीको मुहानहरुवाट दैनिक प्रति सेकेण्ड ७७.७३ लिटर पानी प्राप्त हुने छ । नेपाल खानेपानी गुणस्तर एनडिडब्लुएसले तोकेको मापदण्ड अनुसारको शुद्ध र गुणस्तरीय खानेपानी वितरण गरिने छ । सन् २०२४ सम्म तीनवटै नगरपालिकाका १ लाख ३९ हजार ४ सय २२ जना नागरिकहरुका लागि चौविसै घण्टा खानेपानी उपलव्ध हुनेछ । प्रतिव्यक्ति प्रतिदिन ६५ देखि ८० लिटर खानेपानी उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । कूल लागत १ अर्ब १२ करोड पुगेको छ । खानेपानी आयोजना सम्पन्न भए लगत्तै जिल्लाको विकासमा थप आयाम थपिनेछ । यसले आशा जगाएको छ । उत्साह थपिदिएको छ ।









