2026 August 18/ 09:35: 21pm

    धुलिखेल/विश्व क्यान्सर दिवसको अवसर पारी धुलिखेल अस्पतालमा घोषणा गरिएको १८ सय किलोमिटर लामो साईकल यात्राको समापन धुलिखेल अस्पतालमा नै गरिएको छ । विशेषगरी क्यान्सर रोगबाट पीडित भएका दुई विरामी हर्क लामा र कविता चित्रकारले साईकल यात्राको साहसिक योजना बनाएका थिए । 
    ‘क्यान्सर भएर उपचारार्थ अस्पतालमा भर्ना हुँदा विरामी र उनका आफन्तले रकम अभावका कारण ब्यहोर्नु परेको सास्तिलाई न्युनिकरण गर्न कोष स्थापनार्थ नविनतम कार्य गर्ने सपना देखियो’–साईकलयात्री क्यान्सर पिडित हर्क लामाले भने–‘मेरो सपनालाई धुलिखेल अस्पताल, अस्पतालमा कार्यरत चिकित्सहरु तथा विभिन्न निकायहरुले सहयोग गरेका कारण चिवाभन्ज्याङ्ग झुलाघाटसम्मको साईकल यात्रा सम्पन्न भयो ।’ 
    अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले नेपालका लागि मैले के पाएँ भन्दा पनि के गर्न सकें भन्ने सोचले काम गर्नु पर्ने बताए । ‘संख्या भन्दा सोच राम्रो हुनु आवश्यक छ’–डा.रामकण्ठ माकजुले भने–‘सहज अवस्थामा भन्दा पनि असहज अवस्थाबाट बाँच्न उत्प्रेरणा जगाउने खालका गतिविधिहरुले मान्छे खुशी हुनेछ । क्यान्सर रोगबाट संक्रमण भएर त्यसलाई जित्न सक्ने साहसका साथ साईकल यात्रा सम्पन्न गर्नु भएकोमा धन्यवाद ।’ 
    एक महिना लामो साईकल यात्रामा सहभागि डा.सुमनराज ताम्राकारले यात्राका क्रममा १५ स्थानमा २ हजार भन्दा धेरैलाई प्रत्यक्ष रुपमा क्यान्सर रोग सम्वन्धिको सचेतना फैलाउन सकिएको बताए । डा.विकास पराजुलीले यात्राका क्रममा भएका अनुभवहरु सुनाएका थिए । साईकल यात्री हर्क लामा र कविता चित्रकारले अनुभव सुनाउँदै क्यान्सर रोग जित्न सक्ने साहस साईकल यात्राबाट मिलेको बताए । कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा.विराजमान कर्माचार्यले कोषमा संकलन भएर प्राप्त रकम जति नै थपेर अस्पतालले कोष स्थापनाका लागि सहयोग गर्ने बताए । ‘धुलिखेल अस्पताल सबै विरामीहरुका लागि सेवा गर्न तत्पर छ’–उनले भने–‘क्यान्सर जस्तो प्राणघातक रोग भएकाहरुको उपचारका लागि अस्पताल सधै विरामीको साथमा रहनेछ ।’ 
    सोहि अवसरमा साईकल यात्रामा सहयोग गर्ने र सहभागीहरुलाई सम्मान गरिएको थियो । यात्राका क्रममा भएको अनुभव भिडियो मार्फत प्रस्तुत गरिएको थियो । मध्य पहाडी लोकमार्ग साइकल अभियान यात्राको परिकल्पना र उद्देश्यबारे डा. विकास पराजुलीले बताउँदै आगामी दिनमा पनि यस्ता साहसिक यात्राको निरन्तरता दिन डा.रामकण्ठ माकजुले अनुरोध गरे । कोष संकलनबारे डा. तारालाल श्रेष्ठले प्रकाश पारेका थिए । साइकल कल्चर कम्युनिटीबाट संकलित रकम हर्क लामा,कविता चित्रकार, डा. तारालाल श्रेष्ठ र ज्ञानेन्द्र स्थापितबाट धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको थियो । प्रा. डा.रामकण्ठ माकजुले कार्यक्रम उपादेयता, साइक्लिङ र क्यान्सरबीचको सामञ्जस्यता, साइक्लिङ अनुभव, धुलिखेल अस्पताल निर्माणमा सहयोगीहरुको भूमिका सहित यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।