2026 August 18/ 08:34: 28pm

    धुलिखेल/धुलिखेल नगरपालिकालाई इलेक्ट्रोनिक शासन (Electronic Governance) को नमुना बनाउने अभियानमा एउटा नयाँ इँटा थपिएको छ । नेपालकै नमुना स्थानीय सरकारका रुपमा स्थापित धुलिखेल नगरपालिका हरेक क्षेत्रमा अब्बल र अग्रणी मानिन्छ । सोहि नगरपालिकामा ८ वर्ष नेतृत्व गरेका नगर प्रमुख अशोक ब्याञ्जु यतिखेर काभ्रे क्षेत्र नम्वर २ का सशक्त उम्मेदवार हुन् । 
    नेपालकै अग्रणी एआई कम्पनी टिङ टिङ (Ting Ting) सँगको सहकार्यमा भाद्र २०८२ देखि सुरु गरिएको
One Way AI  प्रणाली दुई–तर्फी संवादात्मक एआई ’टिङ टिङ एजेन्ट’ (Ting Ting) सफलताका साथ संचालनमा ल्याएको हो । यससँगै धुलिखेल आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी नागरिकसँग प्रत्यक्ष संवाद गर्ने नेपालकै पहिलो स्थानीय तहमध्ये एक बनेको छ। यसले धुलिखेल नगरपालिकाको आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग सिद्द हुनेछ । धुलिखेल नगरपालिकामा यो अत्याधुनिक एआई प्रविधि भित्र्याउने निवर्तमान नगर प्रमुख अशोक ब्याञ्जुले जिल्लाका अन्य कार्यालयहरुमा पनि सोहि प्रविधीलाई प्रयोगमा ल्याउने बताएका छन् ।
    ‘नागरिकका लागि प्रविधि र सुशासनका लागि डिजिटल प्रणाली’ भन्ने मूल नाराका साथ निवर्तमान प्रमुख ब्याञ्जुले नगरपालिकाको प्रशासनिक कार्यलाई झन्झटमुक्त बनाउने कार्यमा सक्रिय भएका थिए । प्रविधिको प्रयोगबाट नागरिकलाई छिटो–छरितो जानकारी र सेवा प्रदान गर्नुपर्छ भन्ने दृढ प्रतिबद्धताकै कारण धुलिखेल डिजिटल रूपान्तरणको नेतृत्वदायी भूमिकामा देखिएको हो। धुलिखेलको ‘स्मार्ट सिटी’को सपनालाई साकार पार्ने दिशामा यो एआई एजेन्ट एउटा उपयुक्त कदम सावित भएको छ।
    ‘टिङ टिङ एजेन्ट’ एउटा यस्तो अत्याधुनिक दुईतर्फी एआई टेलिफोन प्रणाली हो जसले नागरिकका जिज्ञासा र समस्याहरूलाई मानिसले जस्तै प्राकृतिक रूपमा सुन्ने र समाधान गर्ने क्षमता राख्छ।धुलिखेल नगरपालिकामा यो प्रणाली लागू भएसँगै अब नागरिकले पाउने सुविधा थपिनेछन् । 
झन्झटमुक्त संवादः अब नागरिकले फोन गर्दा जानकारी लिन कुनै बटन जस्तै १ वा २ थिच्नु पर्दैन । सिधै आफ्नो समस्या वा जिज्ञासा कल मार्फत एआई एजेन्टलाई स्पष्ट रूपमा राख्न सक्छन् । 
२४/७ सेवा प्रवाहः कार्यालय समयभन्दा पछाडि वा सार्वजनिक बिदाको दिनमा पनि नागरिकले नगरपालिकाको सेवा सम्बन्धी जानकारी एआई एजेन्टमार्फत तत्काल प्राप्त गर्न सक्नेछन् । 
कुशल र प्रभावकारीः ‘टिङ टिङ एजेन्ट’ ले सबै सामान्य प्रश्नहरूको जवाफ दिन्छ जसले गर्दा  कर्मचारीहरूको कार्यभार कम गर्न मद्दत गर्दछ ताकि उनीहरूले जटिल समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्न सकून् । यसले मानव एजेन्टको धेरै समय बचत हुन्छ ।
स्थानीय भाषाको पहिचानः टिङ टिङको ‘रिरी’ (Riri) इन्जिनले स्थानीय भाषालाई दुरुस्तै बुझ्ने भएकाले आम नागरिकलाई मेसिनसँग नभई नगरपालिकाकै सहयोगीसँग कुरा गरिरहेको महसुस हुनेछ ।
    यो डिजिटल रूपान्तरणले धुलिखेलका हजारौँ नागरिकलाई प्रशासनिक काममा सहजता प्रदान गर्नेछ । ‘प्रविधि केवल सहरका लागि मात्र होइन, आम नागरिकको जीवन सहज बनाउनका लागि हुनुपर्छ’–उम्मेदवार समेत रहेका निवर्तमान नगर प्रमुख ब्याञ्जुले भने–‘सुशासन र पारदर्शी प्रशासनको दृढ संकल्पलाई टिङ टिङले आफ्नो ‘अन्डरस्ट्यान्डिङ इन्जिन’ मार्फत बलियो साथ दिएको छ ।’ नेपालका अन्य स्थानीय तहहरूका लागि धुलिखेलको उक्त कार्यले उदाहरण पेश गरेको छ । निवर्तमान नगर प्रमुख ब्याञ्जुको नेतृत्वमा धुलिखेल नगरपालिकाले केवल विकास निर्माणमा मात्र नभई, आर्टिफिसियल इन्टेलिजेन्स (AI) को उच्चतम् प्रयोग गरी सुशासन कायम गर्ने दिशामा समेत नेपालकै नेतृत्वकर्ता बनेको छ ।