2026 August 19/ 01:25: 42am

लक्ष्मण तिमल्सिना/चितवन 
    सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १९ औँ साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन सौराहा घोषणा पत्र–जारी गर्दै सम्पन्न भएको छ । 
    सम्मेलनको उद्घाटन वागमती प्रदेश सरकाकार मुख्यमन्त्री ईन्द्र बहादुर बाँनियाले गरेका थिए । बाँनियाले रेडियोकर्मीहरुले कुनै राजिनितक दलको भातृ संगठन जस्तो नभई स्वन्तत्र भएर समाचार सम्प्रेशण गर्नु पर्ने बताए । सामुदायिक रेडियोहरू समुदाय सम्म पुग्न नसक्दा र समुदाय लक्षित कार्यक्रम, समाचार उत्पादनमा कमी आउनुले पनि सामुदायिक रेडियो प्रतिको माया घट्दै गएको बाँनियाले बताए । रेडियोहरू गुणस्तरमा भन्दा संख्यामा वृद्धि हुँदा सामुदायिक रेडियोले आर्थिक संकट झेल्नु परेको र समुदाय लक्षित कार्यक्रम उत्पादनमा जोड्नि नसक्दा संकट खेपिरहेको बताए । वागमती सरकारको तर्फ बाट के कस्तो सहयोग गर्नु पर्नेहो सहयोग गर्न तयार रहेको मुख्यमन्त्री बाँनियाले बताए । 
    चितवनको सौराहामा  पुस ४ र ५ मा सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १९ औँ साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन पश्चात् जारी सौराहा घोषणा पत्र मार्फत संकटमा परेका सामुदायिक रेडियोलाई सहयोग गर्न सरकारसँग माग गरिएको छ । देशभरका सामुदायिक रेडियोका प्रसारक एवं सञ्चालकहरूले नागरिकलाई सत्य तथ्य समाचार तथा जानकारी प्रसारण गर्न प्रतिबद्धता व्यक्त गर्दै अभिव्यक्ति स्वतन्त्रता र आवाजविहिनहरुको आवाजका लागि नागरिकको सूचनाको हकको संरक्षण र सम्बद्र्धन, लोकतन्त्र, मानवअधिकार र बहुलवाद आत्मसाथ गर्दै, आत्मसम्मान सहितको जीवनशैली, भाषा, संस्कृति संरक्षण गर्दै, हानिकारक परम्परागत अभ्यासको अन्त्य गरी पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्न सहयोग गर्दै सामाजिक रूपान्तरणका क्षेत्रहरूमा क्रियाशील हुँदै, सामुदायिक रेडियोहरूले वर्तमान समयमा सामना गर्नु परेका आर्थिक तथा नीतिगत चुनौतीको सम्बोधन एवं डिजिटल क्षेत्रले ल्याएका चुनौतीलाई सामना गर्दै त्यसलाई अवसरको रूपमा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बिभिन्न माग सहित सौराहा घोषणा पत्र जारी गरेका हुन् । प्रसारकहरुले सङ्गीत रोयल्टीको नाममा गैर कानुनी तवरबाट सामुदायिक रेडियोलाई उच्च आर्थिक दबाब पर्ने गरिएको व्यवस्थाको खारेजको माग गरेका छन् । सङ्घीय र प्रदेश सरकारले गरेको व्यवस्था झैँ स्थानीय सरकारले पनि जिल्लामा रहेका सामुदायिक रेडियोहरू सूचीकृत गरी समानुपातिक ढङ्गले लोककल्याणकारी विज्ञापन वितरण गर्ने नीतिगत व्यवस्थाका लागि माग गरेका छन् । कार्यक्रम अकोराबका अध्यक्ष अर्जुन गिरको सभापतित्वमा भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।