2026 August 19/ 11:59: 17am

    धुलिखेल/धुलिखेल नगरपालिकाले नगरपालिकामा गठन भएको पर्यटन परिषद् र युवा उद्यमी मञ्चको समन्वयमा विश्व पर्यटन दिवसको अवसरमा अन्र्तक्रिया तथा श्रम सम्मान कार्यक्रम आयोजना गरेको छ । पर्यटन परिषद्का अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७ जना श्रमिकहरुलाई सम्मान गरिएको थियो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिएको धुलिखेल नगरपालिकालाई पर्यटकीय हव बनाउन नीजि क्षेत्रको साझेदारीता आवश्यक रहेको बताए । स्थानीय सरकारले होटल तथा पर्यटन क्षेत्रका लागि वातावरण निर्माण गर्ने, स्थानीय कानूनहरु पर्यटन मैत्री निर्माण गर्ने, पर्यटकहरुका लागि आवश्यक पर्ने सूचना तथा सुरक्षा लगायतका विषयमा ध्यान दिने र अन्य विषयमा होटल ब्यवसायी तथा सो सँग सम्वन्धित क्षेत्रममा कार्यरत ब्यक्ति र संघ संस्थाहरुसँगको समन्वयमा गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । ८९ वटा साना ठुला होटलहरुले हजारौ पर्यटकहरुलाई एकै दिन सेवा दिन सक्ने गरी विस्तार भएको धुलिखेल हरेक हिसावले आर्कषण बनाउन र पर्यटकहरुको बसाई लम्याउन मिल्ने गरी भएका पुर्वाधारहरुको संरक्षणका साथै नयाँ पुर्वाधारहरु निर्माणमा स्थानीय सरकार तयार रहेको उनले बताए । 
    कार्यक्रममा नगरपालिकाका तर्फबाट नीति तथा अनुगमन शाखा प्रमुख पुजा काफ्लेले नगरपालिकाको पर्यटन नीति र भएका अभ्यास तथा समग्र विषयबस्तु माथी कार्यपत्र प्रस्तुत गरेकी थिईन् । होटल संघ काभ्रे तथा पर्यटन परिषद्का सदस्य प्रल्हाद प्याकुरेलले काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल र नेपाल तथा अन्र्तराष्ट्रिय स्तरमा पर्यटन क्षेत्रको अवस्था र आवश्यकता तथा सम्भावना र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले धुलिखेल स्वस्थ शहरका अवधारणा र डब्लुएचओले लिएका नितीमा धुलिखेलले पुरा गरेको मापदण्डका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
    सोहि कार्यक्रममा विज्ञद्धय डा.छिरिङ लामा र पंकज प्रधानाङ्गले नेपालको पर्यटन क्षेत्रमा भएका समस्या, चुनौती र अवसरका बारेमा धारणा राखेका थिए । नेपाल प्राकृतिक रुपले धनी भए पनि पुर्वाधार तथा त्यसको उचित ब्यवस्थापन र प्रचार प्रसारमा भएको असहजताले पर्यटकहरु चाहेर पनि नेपाल आउन नसक्ने र आएका पर्यटकहरुको बसाई लामो बनाउन नसक्ने उनिहरुले बताएका थिए । सहभागीहरुले पर्यटन क्षेत्रलाई दिगो रुपमा रुपान्तरण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका थिए । 
    कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, होटल संघ काभ्रेकी सचिव तथा पर्यटन परिषद् धुलिखेलकी सदस्य ज्योत्सना सैंजु, धुलिखेल नगरपालिकाका कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शाखा प्रमुखहरु, होटल ब्यवसायीहरु, युवा उद्यमी मञ्चका अध्यक्ष आशिष हुमागाई लगायतका पदाधिकारीहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।