2026 August 20/ 12:00: 23pm

    बनेपा/जिल्ला सहकारी संघ काभ्रेले स्थापनाको ५८ औं स्थापना दिवस तथा संस्थाको ४४ औ बार्षिकोत्सव मनाएको छ । अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविध कार्यक्रम आयोजना गरिएको थियो । 
    सहकारी सम्बन्धी साधारण सभाको विशेष निर्देशन अनुसार संघले मितब्ययी तथा सदस्यमुखी सधा आयोजना गरेको हो । स्थापना दिवसको अवसरमा संस्थामा निरन्तर आबद्ध भई उत्कृष्ट आय–आर्जनमुखी कार्य गरिरहेको जिल्लाकै नमुना पाँचखाल १० को आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थालाई नगद सहित सम्मान गरिएको छ भने सहकारी क्षेत्रमा कलम चलाउने काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश न्यौपाने र जिल्लामा रहेका सहकारीहरु मध्येबाट संस्थामा आबद्ध सहकारीका उत्कृष्ट ब्यवस्थापकहरुमध्ये नवदुर्गा सहकारी पनौतीका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष अमन पोटे, पूर्व अध्यक्षहरु विनोद पराजुली, शुभप्रसाद अधिकारी, मुकुन्दप्रसाद दाहाल, सोमप्रसाद हुमागाई, निर्वाचन समितिका संयोजक इन्द्रप्रसाद अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, लेखा समिति संयोजक डिल्लीप्रसाद आचार्य, ब्यवस्थापकहरुको छाता संगठनका अध्यक्ष गोपाल दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले स्थापना दिवसको शुभकामना साटासाट गरेका थिए । 
    कार्यक्रममा संस्थाका पदाधिकारीहरु, सदस्यहरु तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । बरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङको स्वागत रहेको कार्यक्रम सचिव प्रकाश बञ्जाराले संचालन गरेका थिए । अध्यक्ष अमन पोटे श्रेष्ठले संस्थाको बार्षिक नीति तथा कार्यक्रम र आगामी योजना प्रस्तुत गरेका थिए भने सचिव प्रकाश बञ्जाराले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठका अनुसार संस्थाको आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९ सय ४२ रुपैयाँको वासलात तयार भएको छ । 
    त्यस्तै ३ करोड ५३ लाख ५९ हजार १ सय शेयर पुँजी, १ अर्ब २२ करोड ५८ लाख ४४ हजार ३ सय ८५ रुपैयाँ निक्षेप रहेको छ । ६३ करोड ८ लाख ७० हजार १ सय ९५ रुपैयाँ कर्जा रहेको उक्त संस्थाको खुद मुनाफा ६ लाख ३६ हजार ६ सय १४ रुपैयाँ रहेको छ । संस्थाले एक आर्थिक वर्षमा ९८ लाख २ हजार कर बुझाएको छ । संस्थाको कोषमा ११ करोड ८१ लाख ४८ हजार ४ सय ९ र जोखिम कोषमा २ करोड ४७ लाख २४ हजार ३६ रुपैया रहेको छ ।