बबालजङ्ग सारु
विज्ञानले के प्रमाणित गरेको छ भने आवश्यकता र कुनै कारण बिना कुनैपनि वस्तुको जन्म हुदैन । यो त्यहि समयमा जन्मिएको एक राजनीतिक बिचार दर्शन थियो । जुन बेला पृथ्वी मालिक र दासत्वको फलामे साङ्लो चक्रब्युहमा बन्धित थियो । बोली दिने कोहि थिएन । बोल्न सक्ने कोहि थिएन । सक्नेहरुको हिम्मत पनि यसरी दबिन्थ्यो कि मानौ उ यमराजकै अर्को रुप हुन जसलाइ शिर ठाडो पारेर हेर्न पनि अर्को जन्म लिएर यमराज नै बनेर आउनु पर्छ ।
१९ औं शताब्दिको मध्यकालीन युगमा त्यो चक्रब्युह तोड्न पृथ्वीमा एक दर्शन सहित दार्शनिक युग पुरुषको जन्म भयो । उ यसरी अगाडि बढे जो रोकिने वाला त के, संसारको कुनैपनि तागतले उसको दर्शन माथी औला उठाउन सम्म सकेन । उनै एक भारी अजङ्गका दार्शनिक पुरुष हुन कार्ल माक्र्स । संसार बुझ्ने धेरै हुन सक्छ्न मुख्य कुरा बदल्नु हो–उनको यहि बिचारले सिङ्गो पृथ्वीमा नाप्न नसकिने राजनीतिक भुकम्पको कम्पन गयो ।
धनी हुनु र गरिब हुनुको कारण अर्थात मानिसमा दुखको कारण बर्गिय विभेद हो र जसको निराकरण वर्ग संघर्षबाट मात्र सम्भब छ भनी मजदुरहरुलाइ वर्ग संघर्षको चेतना र आन्दोलनको भुमरीमा स्वतस्फूर्त हाम फाल्ने, राज्यसत्ता विरुद्ध धावा बोल्न सक्ने मानसिक चेतनाको बिकास मात्र थिएन त्यो माक्र्सवादी दर्शन, दर्शनको जादु पृथ्वीमा बैचारिक ध्रुवीकरणको जग थियो । त्यही क्रान्तिको झरिमा नेपाली राजनीतिक आकाश पनि भिजिदै गयो अर्थात राजनीतिक ध्रुवीकरण भयो ।
पञ्चायतले निलेको नेपाली समाजमा २०४६ भन्दा अघि धेरै ठूलो बिचारको खडेरी प¥यो । त्यही समयताका साम्राज्यवाद र बिस्तारवादले साना देशहरू अजिङ्गरले भ्यागुतो निले झै निल्दै थियो । नजिकै छिमेकीले हेर्दा हेर्दै सिक्किम निलिगो । एउटा गम्भीर प्रश्न खडा हुँदै गयो मुलुक रहन्छ कि रहदैन । मुलुक रहन पनि सक्छ नरहन पनि सक्छ । देश कता जान्छ अत्तो थिएन । राजनीतिज्ञ भनाउँदाहरु विकल्पविहिन थियो कुहिराको काग सरी अन्योल । माक्र्सवाद र लेनिनवाद जन्मिसकेको युरोपको धङधङीले नेपाली राजनीतिक माटो पनि चिराचिरा भैसकेको थियो । त्यो त्यही समय हो बिचारको खडेरी रापतापले भुङ्ग्रा पर्ती बाँझो बनेको नेपाली राजनीतिक मरुभुमिमा पनि एक बैचारिक युग पुरुष मदन कुमार भण्डारीको जन्म भयो । भण्डारी यसरी जन्मिए नेपाली माटोको विशेषता सहित तत्कालीन समयको जगमा भूगोलको अपरिहार्यतालाइ बस्तुनिस्ठ ढङ्गले बिश्लेश्न गरे जसको बिचारधारा जनताको बहुदलीय जनवादले ५० साले झरी झै देशै निथ्रुक्क भिजाए । प्याकप्याक्ती तिर्खाको राजनीतिक खडेरीको रापमा नेपाली जनताहरु एक चित्तले त्यही झरीमा यसरी भिजी रहे, रुझी रहे । निश्चिन्त उनीहरुको निर्दोष आत्माको प्यास आत्मा भरिने गरि मेटान भयो संसार जितेको अनुभूति सहित । भर्खरैको मरुभूमि प्रशान्त महासागर बने । देश राजनीतिक गतिले जनताको बहुदलीय जनवादको गोरेटोमा खुरुखुरु हिड्यो ।
सन्दर्भ आजको हो । प्रिय कमरेडहरु पुष्पलालले स्थापना गरेको कम्युनिस्टको जन्मसँगै भण्डारीको राजनीतिक विचारधाराले स्थापित एमाले (एकीकृत माक्र्सवाद, लेनिनवाद) आज देशकै सबैभन्दा सु–व्यवस्थित र जनताको मन जितेको भिजन र मिसन सहितको ठूलो पार्टी हो । जसरी पहिले युरोपमा पानी पर्दा नेपाली कम्युनिस्टहरु नेपालमा छाता ओढ्थेरे त्यसै गरि भुमण्डिलय राजनीतिक चलखेलले अहिले पनि हामीलाई कहिले छाता ओढ्नुपर्ने कैले घाम ताप्नु पर्ने विवशताको हावापानीले नछोएको होइन । धेरै पटकको आन्तरिक कलह र फुट जुटको मार खेपेको एमालेले जस्तोसुकै छौडाको वाण, मन्त्र तन्त्र र जादुको छडि झेल्न सक्छ र फेरि रफ्तारले अगाडि बढ्न सक्छ भन्ने त धेरै चोटी प्रमाणित भैसक्यो । तर कहिलेकाही पार्टीको सैद्धान्तिक विचार बहस भन्दा बढी अरु बहसमा केन्द्रित हुँदा दिक्कता सहित यसले एमालेलाई कहीं पु¥याउदैन जहाँ पुग्नैपर्ने थियो भन्ने अनुभुति हुन्छ । माक्र्सवादको सम्लेषण हो लेनिनवाद, लेनिनवादको परिस्कृत हो जबज । त्यसैले भण्डारीकै भाषा सापट लिँदा हरेक बिचारधारा १५ देखि २० बर्षमा समय सापेक्ष परिस्कृत गर्दै उन्नत बिचार र थप प्रगतिशील बनाउँदै लानु पर्ने हुन सकिन्छ । त्यसो हुँदा आजको समय एमालेले समाजवादको आधारभुत कुरा माथी गहिरो बहस र बिचारको निर्माण गर्न जरुरी देख्छु । पार्टी भित्र आन्तरिक कलह हुन सक्छ यो सामान्य कुरा हो किनभने द्वन्द्वात्मक भौतिकवादले के भन्छ भने बिपरित तत्वको एकता र संघर्षले हरेक बस्तु गतिशील र परिवर्तनशिल हुन्छ भन्ने बैज्ञानिक दृस्ठिकोणलाई अङ्गिकार गरेको छ । तर बहस सतही र अर्थहीन हुनु हुदैन । एमालेमै बसेर राजनीतिक संघर्ष सहित विचार निर्माण गर्न सकिन्छ र राजनीतिक सभ्यताको निर्माणमा योगदान पु¥याउन सकिन्छ भनेर एमाले बनेका तमाम युवाहरु पनि छन जसलाई नचाहिँदो कलह भन्दा बैचारिक ध्रुवीकरणको जगमा उभ्याई पोख्त बन्न दिनुपर्दछ । होइन भने भोलिको एमाले बैचारिक हिसाबले कमजोर हुने निश्चितै छ । हो मा हो को राजनीतिक सिकाइले बैचारिक निकास दिदैन । आफैले बिचार निर्माण गर्न सक्क्ने मार्ग प्रशस्त हुनुपर्छ ।
वैचारिक कर्यदिशा सहि वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । आजको विश्व राजनीतिक सभ्यताको उपज हुन । देश बिचारले चल्ने हो । अबको आउँदो पुस्ताको एमालेले देश निर्माणका आधारभुत कुराहरुको जगमा टेकेर निरन्तर बहस निकासका उपायहरु निकाल्ने खोजी र खोजिको बिषय बनाउन जरुरी छ होइन भने एउटा पुस्ता को अबसान पछि जेनेरेसन ग्याप हुन्छ । विद्यादेवी भण्डारी पार्टीमा आउँछन् कि आउँदैन यो बहसको बिषय होइन, ७० बर्षे उमेर हद यो पनि बहसको बिषय होइन प्राविधिक कुराहरू हुन । अर्थात प्रतिक्रियावादीहरुको जादुको गोटी हुन । त्यसैले एमालेले माओवादी, काँग्रेस जस्तो पार्टीका सबैखाले वर्गसँग तर्कपूर्ण बहस गर्न सक्ने युवाहरू जन्माउनु पर्छ । जसरी राजनीतिक बहस बिना हावामा जन्मेका रास्वपा जस्ताले तोरीको फुल देख्दै छ । कमजोर धरातलमा उभिएको जग आफै ढल्छ । एमाले ढल्नु हुदैन । एमाले ढलेको दिन देश ढल्छ । (लेखक नेकपा एमाले काभ्रे, जिल्ला कमिटी सदस्य हुन । यो लेख उनका निजी विचार हुन् ।)





