2026 August 19/ 04:03: 31pm

    बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले विपद् व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ ।
    तालिममा शाखा अन्तर्गत सञ्चालित बाढी पहिरो पुनर्लाभ कार्यक्रमबाट सञ्चालित स्थानीय निकायका विपद् सम्पर्क ब्यक्ति, जिल्ला शाखाका स्वयंसेवक, उपशाखाका स्वयंसेवक गरी २४ जना सहभागी थिए । तालिममा विपद पश्चात तत्काल गरिने प्रारम्भिक द्रुत लेखाजोखा, सुचना ब्यबस्थापन र बिपद पश्चात् प्रभावितहरुको खोज तथा उद्दार, राहत वितरण र पुर्नलाभको चरणहरुमा अपनाउनु पर्ने न्यूनतम आधारभूत मानवीय मापदण्ड सम्बन्धी विषयमा छलफल भएको थियो । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले गरेका थिए । 
    बिपद्को पूर्व तयारी तथा विपद् पश्चातको अवस्थामा नेपाल रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नु हुँदै उक्त तालिम पश्चात प्रशिक्षार्थीहरुले विपद्को अवस्था श्रृजना भएको खण्डमा विपदबाट भएको क्षतिको विवरण संकलन लगायतमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देबेन्द्रप्रसाद भैलले विपद् परेको २४ घण्टा भित्र रेडक्रसका तालिम प्राप्त व्यक्तिहरुलाई राहत र उद्धारको लागि खटाउने उद्देश्यले उक्त तालिम प्रदान गरेको बताए । भैलले  जिल्लाका १९ उपशाखा र जिल्ला शाखाका ७ जना व्यक्तिहरुलाई सहभागी गराएको बताए । कार्यक्रममा प्रशिक्षक शेरबहादुर कार्की, सिर्जना देवकोटा र मधुसुदन थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा निवर्तमान सभापति रघुनाथ हुमागाईंले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्य माथि शाखाका उपनिर्देशक शेरबहादुर कार्कीले प्रकाश पारेका थिए ।