2026 August 20/ 12:14: 33am

    धुलिखेल/धुलिखेल नगरपालिकाको समन्वयमा नेपाल र चीनका सञ्चार माध्यमबीच सहकार्यको सम्झौता भएको छ । 
    समाचार सामाग्री आदान–प्रदान (कन्टेन्ट एक्सचेन्ज), नविनतम प्रविधि हस्तान्तरण, साँस्कृतिक तथा पर्यटन सम्बन्धी रिपोर्टिङमा सहकार्यका साथै अनुभव आदानप्रदानका कार्यक्रम आयोजना गर्ने सहमतिपत्रमा उल्लेख छ । धुलिखेल नगरपालिका र चीनले पर्यटन, स्वास्थ्य, शिक्षाको क्षेत्रमा गरेको कार्य एकअर्को देशमा परिचित गराउन सहमति महत्वपूर्ण हुने विश्वास लिइएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको विशेष उपस्थितिमा नेपाल र चीनका सञ्चार माध्यमका प्रतिनिधिले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चीनको साउथ एसिया नेटवर्क टेलिभिजन र नेपालको चेष्टा साप्ताहिक, प्राइम एफएम, मदानी बिट डटकम र नेपालय न्युजबीच सहकार्य भएको हो ।
    साउथ एसिया नेटवर्क टेलिभिजनका सञ्चालक हौ जी होङ, प्रमुख कार्यकारी अधिकृत रमिला गौतम र नेपालको तर्फबाट नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक, मदानी विट डट कमका प्रकाशक प्रधानसम्पादक मोतिराम तिमल्सिनाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुई मुलुकका सञ्चार माध्यमबीच स्थानीयस्तरमा भएको सहकार्य नेपालमै पहिलोपटक हो । सम्झौता आदानप्रदान कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे जानकारी गराएका थिए । उनले धुलिखेल र चीनको मित्रता, व्यवसायीक साझेदारी, चीनका विभिन्न मुलुकबीचको भगिनी सम्बन्धका बारेमा जानकारी गराएका छन् । यो सहकार्यले कन्टेन्ट एक्सचेन्जसँगै सञ्चार क्षेत्रमा चीनले गरिरहेको उच्चतम प्रविधि, सशक्त लेखक लगायतका विषयले नेपालको पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । यस्तै धुलिखेल नगरपालिकाको पर्यटन प्रबद्र्धन, स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्रमा पनि सहकार्य हुने उनले बताए ।
    एसए टिभीका संस्थापक हौ जी होङले धुलिखेलको बारेमा धेरै सुनेको भए पनि देख्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन् । दुई मुलुकका मिडियाबीचको सहकार्यले धुलिखेल नगरपालिकाले गरिररहेका कार्य चीनमा र चीनले गरेका कार्य नेपालमा परिचित गराउन सहयोग र समन्वयका लागि मदत पुग्ने विश्वास व्यक्त गरेका छन् । सिईओ गौतमले नेपालका सञ्चार माध्यम र चीनका सञ्चार माध्यम बिच अनुभव आदानप्रदानका लागि सम्झौता प्रभावकारी हुने बताइन् । यो सहकार्यले दुई मुलुकबीचको मित्रता अझै प्रगाढ हुने उनको विश्वास छ । पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष तिमल्सिनाले दुई मुलुकबीचका सञ्चार माध्यमको सहकार्य पत्रकारिता क्षेत्रमा चीनले गरेको विकास नेपाली मिडियाले वुझ्ने र सिक्ने अवसर भएको समेत बताए । 
    कार्यक्रममा चीनका व्यवसायी थाङ हाई च्युन, याङ योङ, चु फिङ, धुलिखेल नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष गणेश आचार्य, नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष विष्णु धिताल, एसए टेलिभिजनका सम्पादक रमेश श्रेष्ठ, फोटोग्राफर लोकेन्द्र तामाङ, मदानी बिटका कार्यकारी प्रमुख लक्ष्मण तिमल्सिना, सह–सम्पादक विकास तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।