2026 August 19/ 07:45: 20pm

    पछिल्लो समय मान्छे भित्रको छट्टपट्टी, असन्तोष र आर्थिक रुपले समेत संकट सिर्जना देखिन थाले पछि शुरु हुन थालेका अपराध न्यूनिकरण गर्ने दायित्व प्रहरी प्रशासनको मात्रै हो ? राज्यको दायित्व के हो ? राज्यको एउटा निकाय सक्रिय भईरहँदा अन्य निकायले त्यसमा ध्यान दिनुपर्ने विषय के–के हुन् ? यसलाई गम्भीर समीक्षा गरी अपराध न्यूनीकरणमा सबै क्षेत्रको सक्रियता जारी राख्नु आवश्यकता भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो वर्षको तथ्यांकले राज्यको एउटा निकाय मात्रै सक्रिय रहँदा त्यसले दिने परिणाम र पार्ने असर फरक हुने रहेछ भन्ने सन्देश दिएको छ । 
    तथ्यांकमा काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा अपराध न्यूनीकरणमा सुधारोन्मुख देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अपराधका संख्या घटेको छ । तर प्राकृतिक प्रकोपका घटनामा बृद्धि भएको छ । अपराधिक घटना न्यूनीकरणमा भएका संस्थागत, सामुदायिक तथा तीन तहका सरकारको समन्वयमा भएका कृयाकलाप प्रभावकारी देखिएका छन् । अझै प्रभावकारी बनाउन नागरिकस्तरबाट निरन्तरको खबरदारी र समन्वय आवश्यक छ । आत्महत्या, हत्या, सडक दुर्घटनामा न्यूनिकरण भएको तथ्यांकले हौसला दिए पनि सन्तुष्ट हुने विषय नरहेको प्रशासनको निश्कर्ष छ । प्राकृतिक प्रकोपका घटनामा परेर ज्यान गुमाउने नागरिकहरुको संख्यामा भने बृद्धि भएको छ । २०८१ असोज १०–१२ को अविरल वर्षातका कारण यो संख्यामा बृद्धि भएको हो । 
    आर्थिक वर्ष २०८१/०८२ मा सडक दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने ७ जनाको हत्या भएको छ । एक सय जनाले आत्महत्या गरेका छन् । प्राकृतिक प्रकोपमा परी ८९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक प्रकोपमा परी ७ जनाले मात्रै ज्यान गुमाउनु परेको थियो । सडक दुर्घटनामा भने ३१ जनाले ज्यान गुमाएका थिए । यो वर्षको तुलनामा सडक दुर्घटना र दुर्घटनामा मृत्यु हुनेहरुको संख्या अघिल्लो वर्ष अलिक धेरै हो । आत्महत्या गर्नेहरुको संख्या पनि निरन्तर घटिरहेको छ । अघिल्लो वर्ष एक सय ३३ जनाले आत्महत्या गरेका थिए । आत्महत्या न्यूनिकरणका लागि प्रहरीले समुदायसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । विद्यालय तह तथा समुदाय स्तरमा गरिएका कार्यक्रमहरु प्रभावकारी देखिएको छ ।
    जलवायु परिवर्तन अहिलेको अर्काे संकट देखिएको छ । विपद्का ठुला ठुला घटना हुनुमा जलवायु परिवर्तनका असर हुन् । पानी पर्नुपर्ने समयमा नपर्ने र नपर्नु पर्ने समयमा परेर क्षति गराउने, हिउँदका समयमा आगजनी लगायतका घटनाहरु हुने कारण मानविय तथा जनजीवन अस्तब्यस्त बनाएको छ । अतः यस्ता विपदजन्य घटना तथा अपराधजन्य घटनाका लागि रोजगारका लागि सीप र अवसर, पुँजी पलायन तथा लगानीको वातावरण, सचेतना जस्ता कार्यक्रममा राज्यको ध्यान जानु आवश्यक छ ।