धुलिखेल/नवप्रवर्तन, सिर्जनशीलता र प्रविधि सहित प्रयोगात्मक सिकाईका लागि धुलिखेलमा मेकर स्पेस स्थापना तथा सवलीकरण कार्यशाला सुरु भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्थानीय तह मध्ये धुलिखेल नगरपालिकामा नमूना कार्यक्रममा रुपमा मेकर स्पेस तालिम सुरु गरेको हो । हिजो बाट सुरु भएको ९ दिने तालिमको उद्घाटन धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख ब्याञ्जुले विद्यार्थीको सोचलाई व्यवहारमा उतार्नको लागि तालिम महत्वपूर्ण रहेको बताएका छन् । आधुनिक विज्ञान प्रविधिको युगमा विद्यार्थीको मनमा रहेका जिज्ञासाको समाधान, सीप विका, प्रयोगात्मक सिकाईसँगै क्षमता विकासका लागि तालिमले सघाउने नगर प्रमुख ब्याञ्जुको विश्वास छ । पुरानो शिक्षण पद्धतीलाई आधुनिक पद्धतीमा रुपान्तरण गर्न तालिम आयोजना गरिएको शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए ।
तालिममा थ्रीडी प्रिन्टर, इलेक्ट्रोनिक उपकरण र आधुनिक प्रविधिको प्रयोग मार्फत सीकाईलाई दिगो बनाउनेबारे समुहगत रुपमा छलफल भइरहेको छ । यसलाई अनुभव गरेर सिक्ने विधीका रुपमा समेत लिइएको छ । तालिममा नगरपालिकाका इन्जिनियर, विज्ञान, गणित शिक्षक, प्राविधिक धार अध्यापन गराउने शिक्षहरुको सहभागीता रहेको छ । तालिमलाई सोचेको कुरा बनाउने कार्यशालाका रुपमा समेत लिइएको छ । उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, समाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य लगायत शिक्षा क्षेत्रका सरोकारवालको उपस्थिती रहेको थियो ।





