धुलिखेल/आर्थिक वर्ष २०८२/०८३ का लागि काभ्रेपलाञ्चोक जिल्लाको ज्याला तथा निर्माण सामाग्रीहरुको दररेट सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न सरोकारवाला निकायहरुसँगको छलफलको निश्कर्ष पछि जिल्ला दररेट सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समितिमा जिल्ला समन्वय अधिकारी शिवप्रसाद हुमागाई, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रुद्र कोईराला, काभ्रे उद्योग बाणिज्य संघका सचिव कृष्णलाल श्रेष्ठ, निर्माण ब्यवसायी संघका सचिव प्रदिप गौतम र पूर्वाधार विकास कार्यालयका सिडिई वीरेन्द्रकुमार बज्राचार्य रहेका थिए । आमन्त्रितमा सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन नम्वर ३ सिन्धुपाल्चोक प्रमुख ईन्जिनियर सृष्टि ख्वालापाला, डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापा, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका राजु लुईटेल, शहरी विसका तथा भवन कार्यालयका सुरेन्द्र देवजु, जिल्ला समन्वय समितिका प्रवेश आचार्य, विद्युत प्राधिकरणका दिवस भण्डारी र पूर्वाधार विकास कार्यालयका भुपेन्द्र कोईराला सहभागी थिए ।
वैठकले १७ वटा निर्णय गरेको छ । ज्याला दर रेट तथा ढुवानी दररेटका केहि बुँदाहरु अघिल्लो वर्षसँग मिल्ने छन । केहि संशोधन गरिएको छ । घर र जग्गा भाडा तथा क्षतिपूर्ति÷मु–आब्जा निर्धारण गरिएको छ । सिभिल वर्कस, इलेक्ट्रिकस, स्यानेटरी कार्यको ज्याला दररेट निर्धारण गरेको छ । घर जग्गा भाडा तथा क्षतिपुर्ति, पेट्रोलियम पदार्थ, लुब्रिकेन्टस् प्रोडक्ट, कामदारसँगै मेशिन तथा उकरण र ढुवानी दर निर्धारण गर्ने निर्णय गरेको छ । सदरमुकाम धुलिखेल र नगरपालिकाहरुको बजार क्षेत्र र कालोपत्रे सडक बाहेकका स्थानहरुमा तोकिएको जिल्ला दररेटमा नियम अनुसार ढुवानी थप गरी दररेट कायम गर्ने निर्णय गरेको छ । निर्माण कार्य गरिने आयोजनाहरुमा श्रमिक÷मजदुरहरुको ब्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक ब्यवस्था गर्नुका साथै सार्वजनिक खरिद ऐन, नियमावलीमा ब्यवस्था भएको विमा लगायतका सुरक्षाका प्रावधान समेत सम्बन्धित ज्यालादर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यन्वयन गर्ने निर्णय गरेको छ । जिल्ला दररेट समितिले माथिल्ला निकायहरुले तोकिसकेको भाडादरलाई आधार मानेको बताएको छ । हरेक वर्ष जिल्ला दररेटमा सरोकारवाला निर्माण ब्यवसायी र कार्यालय प्रमुखहरुको चलखेल रहने गरेको बताईएको छ ।





