2026 August 21/ 04:07: 37pm

    बनेपा/१८ वर्ष अघि राजधानीसँग जोडिएको जिल्ला बनेपामा सामान्य अवस्थामा शुरु भएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सेवा विस्तार सँगै प्रविधि र पूर्वाधारको ब्यवस्थापनमा फड्को मारेको छ । 
    रेयूकाइ एईको मासुनागा आँखा अस्पतालका संस्थापक संरक्षक युसुन मासुनागाको अस्पताल परिसरमा निर्माण गरिएको सालिक अनावरण कार्यक्रममा रेयूकाइ एईको मासुनागा आँखा अस्पतालका संरक्षक हिरोको मासुनागा रेयूकाई जापान आठौं शाखाका बोर्ड अफ डाइरेक्टर तोमोचुगु मासुनागा र मासारु मियाचीले अस्पतालको समेत अवलोकन गरेका थिए । सालिक अनावरण पछि आयोजित कार्यक्रममा बोल्दै अस्पतालका संरक्षक तोमोचुगु मासुनागाले नेपाल र जापान बीचको सम्वन्ध, सम्वन्धलाई निरन्तरता दिन भईरहेका प्रयत्न तथा आँखा अस्पताल मार्फत नेपाल र नेपालीलाई उपलब्ध गराउन सकिएको सहयोग महत्वपूर्ण रहेको बताईन् । 
    अस्पतालका अध्यक्ष मधु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जापानका प्रतिनिधिहरुका अलावा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकामा स्थापना गरिएको अस्पतालले नेपालका विभिन्न जिल्लामा आँखा सम्वन्धी स्वास्थ्य सेवा उपलब्ध गराउन सकेकोमा धन्यवाद दिदै बनेपा नगरबासिहरुलाई आँखा सम्वन्धी सबै खाले समस्याको पहिचान, उपचार र हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि सहकार्य गरिरहेको बताए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले अस्पतालले उपलब्ध गराएको गुणस्तरीय सेवाको प्रशंशा गरे । कार्यक्रममा अस्पतालका उपाध्यक्ष दिनेश कायश्थ, अस्पतालका प्रशासकीय प्रमुख हिरामणी शर्मा, कोषाध्यक्ष धर्मभक्त प्रधान, कर्मचारी प्रगती थापा लगायतले अस्पतालले यो अवधीमा पु¥याएको सेवाका बारेमा जानकारी गराएका थिए । अध्यक्ष मधु आचार्यले रेयुकाई मासुनागा आँखा अस्पतालले काभ्रेपलाञ्चोक जिल्ला र आसपासका क्षेत्रका नागरिकहरुमा आँखामा हुने रोगहरुको पहिचान, उपचारसँगै मोतियाविन्दु मुक्त बनाउने अभियानमा तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए ।
    सन् २००७ सालमा स्थापना भएको अस्पतालले २०२४ को अन्त्य सम्ममा ११ लाख भन्दा धेरै नागरिकहरुलाई ओपिडी सेवा उपलब्ध गराएको छ । ६ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा जिल्लाको भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुर ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ । ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको अस्पतालले बनेपामा मात्रै एकै दिन ओपिडी सेवा ४ सयलाई उपलब्ध गराएको छ । विद्यालय स्तरमा पुगेर बालबालिकाहरुमा आँखा सम्वन्धी रोगको पहिचान तथा उपचार शुरु गरेको छ । पछिल्लो समय आँखामा जलविन्दु, मोतिविन्दु लगायतका समस्या धेरै देखिन थालेका छन् । मानिसहरुमा हुने सुगर प्रेसरका कारण आँखामा हुन सक्ने जटिल समस्या हुन नदिन नियमित आँखा परीक्षण गर्न अस्पतालले सुझाव दिएको छ ।