2026 August 22/ 10:48: 25pm

बनेपा/बनेपामा रहेको बालबाटिका विद्या मन्दिर माध्यमिक स्कुल बनेपाको ३५ औ अभिभावक दिवस, २७ औ एसईई समुहको विदाई तथा प्रि प्राईमरी तहका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीहरुलाई विदाई, बधाई तथा शुभकामना ब्यक्त गरेको थियो । 
    निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)का केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बालबाटिका विद्या मन्दिरका संस्थापक रवि श्रेष्ठको अध्यक्षतामा आयोजान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सन अध्यक्ष अधिकारीले निजी विद्यालयहरुले समाज र राष्ट्र निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा रहेको बालबाटिका विद्या मन्दिरले गुणस्तरीय शिक्षा प्रदान गर्न साढे तीन दशक लामो समय ब्यतित गरी अभिभावकहरुको मन जितेकोमा बधाई तथा शुभकामना ब्यक्त गरे । नेपालका नीजि विद्यालय गर्व गर्न लायक भएको बताउँदै प्रमुख अतिथी अधिकारीले अभिभावकहरु भगवान भएकाले बालबालिकाहरुको शिक्षा र प्रविधिमा विद्यालयहरुले खेलिरहेको भूमिका महत्वपूर्ण भएको बताए । 
    कार्यक्रममा प्याब्सनका महासचिव आरवी कटुवालले सरकारले ल्याउने शिक्षा ऐनले निजी क्षेत्रका विद्यालयहरुका तमाम समस्याहरु समाधान गर्नु पर्ने बताए । राज्यलाई तिर्ने करसँगै कार्यरत शिक्षक कर्मचारीहरुको भविश्यको ग्यारेन्टीका लागि तयार गरिएका विभिन्न कोषहरु, विमा तथा अन्य कार्यक्रमहरुका बारेमा राज्यले ध्यान दिनु पर्ने उनले बताए । कार्यक्रममा उपमहासचिव भिमसेन केसीले जिल्लामा नमुना रहेका बालबाटिका विद्या मन्दिरले प्रदान गरिरहेको शिक्षाले अभिभावक र विद्यार्थीहरु सन्तुष्ट रहेको धारणा ब्यक्त गरे । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले जिल्लामा निजी विद्यालयहरुले शैक्षिक गुणस्तर तथा बालबालिकाहरुको उज्जवल भविश्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा अभिभावकहरुको तर्फबाट सुरेश हुमागाई, विद्यार्थीहरु आयुषा थापा मगर र आयुषा भुजेल, शिक्षक प्रिति सुवाल लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । 
    विद्यालयका प्रिन्सिपल रजना प्रधान श्रेष्ठले विद्यालयले ३५ वर्षको अवधीमा पु¥याएको योगदानको चर्चा गर्दै निरन्तर अभिभावकहरुले दिएका माया र विद्यार्थीहरुको सन्तुष्टीलाई निरन्तरता दिने प्रयत्न गरिएको बताईन् । भौतिक, ब्यवहारीक, प्रयोगात्मक तथा प्रविधि सहितको शिक्षा प्रदान गर्न विद्यालय परिवार निरन्तर सक्रिय रहेकाले सुलभ मुल्यमा गुणस्तरी शिक्षा उपलब्ध गराएको प्रिन्सिपल रजना प्रधान श्रेष्ठले बताईन् । विद्यार्थीहरुको निरन्तरको गतिविधि निगरानी गर्न तथा उनिहरुको सुरक्षाका लागि सिसि क्यामेरा जडान तथा पुस्तकालयको ब्यवस्थापन लगायतका कृयाकलापमा ध्यान दिएको उनले बताईन् । सबल, सक्षम, अनुशासित र आत्मनिर्भर सहितका बालबालिकाहरु उत्पादन गरिरहेको बताउँदै उनले शिक्षकहरु आफु बलेर समाजलाई उज्यालो दिने भएकाले अभिभावक, विद्यार्थी र शिक्षकहरुको सम्वन्ध नङ र मासुको जस्तै भएको बताईन् । 
    कार्यक्रममा विद्यालयको विभिन्न जिम्मेवारीमा रहेर विद्यालयलाई निरन्तर सक्रिय बनाउन कार्यरत डा.प्रेरणा श्रेष्ठ, डा.अनमोल श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकारहरु तथा विभिन्न संघ संस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो । अभिभावक दिवस कार्यक्रममा सामाजिक सचेतना सहितको नाटक कक्षा ६ र ७ का विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । शिक्षकहरुले समेत नृत्य मार्फत प्रस्तुती गरेको उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।