2026 August 21/ 03:34: 16pm

    बनेपा, नाला/७७ वर्ष अघि स्थापना भएको बनेपा नगरपालिका वडा नम्वर ४ नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले अभिभावक दिवस, प्रमाणपत्र वितरण, आर्ईएसओ प्रमाणपत्र वितरण लगायतका कार्यक्रम आयोजना गरेको छ । सामुदायिक विद्यालयहरु तर्फ नेपालमा पहिलो पटक नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गरेको हो । 
    प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै बास्कोटाले नेपालको शैक्षिक अवस्था, राज्यको प्राथमिकता तथा शिक्षक र अभिभावकहरुले खेल्नुपर्ने भूमिका बदल्नु पर्ने बताएका थिए । ‘राज्यले लगानी गरेका विद्यालयहरुमा जनसंख्या घटिरहेका कारण बालबालिकाहरुको संख्या कम भएको छ । पूर्वाधार बलिया र राम्रा छन् । शिक्षक छन् । तर विद्यार्थी छैनन्’–बास्कोटाले भने–‘बनेपामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले विद्यार्थीहरुको आर्कषण र अभिभावकको विश्वासलाई जित्न सकेको छ । यसको निरन्तरतासँगै अन्य विद्यालयको सिकाईको केन्द्र समेत बनेको छ ।’ कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए । विशेषगरी स्थानीय अभिभावक तथा शुभचिन्तकहरुले विद्यालय प्रति गरेको अथाह माया र विश्वास विद्यालय सुधारको पहिलो खुट्किलो रहेको उनले बताए । 
    विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले विद्यालयले गरिरहेको शैक्षिक प्रगति तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए । विद्यालयमा चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १ हजार २२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयले गुणस्तरीय ब्यवस्थापन, शिक्षकहरुको नियमितता तथा अथक मेहनत र प्रयत्न, अभिभावकहरुको निरन्तरको चासो र लगनशिलता, विद्यार्थीहरुको रुचीका कारण विद्यालयले सफलता प्राप्त गरिरहेको प्रधानाध्यापक पाण्डेयले बताए । नेपालमा पहिलो पटक सामुदायिक विद्यालय तर्फ आईएसओ प्रमाणपत्र प्राप्त गरेकोमा सम्पूर्णमा धन्यवाद दिदै प्रधानाध्यापक पाण्डेयले नेपालमा रहेका सामुदायिक विद्यालयहरुको नमूना चण्डेश्वरी सृष्टिकान्त विद्यालय हुने बताए । आईएसओ प्रमाणपत्र वितरण गर्दै परामर्शदाता शैलेन्द्र खरेलले विद्यालयले ब्वस्थापकीय क्षमता बृद्धि गर्दै बालबालिकाहरुको शैक्षिक गुणस्तरमा बृद्धि गरेकोमा बधाई दिएका थिए । संस्थागत विद्यालयहरुले उक्त प्रमाणपत्र प्राप्त गरेको भए पनि सामुदायिकतर्फ नेपालमा पहिलो पटक उक्त विद्यालयले ब्यवस्थापकीय प्रणाली र विधिवत् ब्यवस्थापनमा सुधार गरी प्रमाणपत्र प्राप्त गरेको बताए । 
    कार्यक्रममा विद्यालयले शुरु गरेको ब्यवस्थापन कोषलाई बृद्धि गरी एक करोड पु¥याउने लक्ष्य राखिएको अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । ३१ लाख रुपैयाँ पुगेको कोष यो वर्ष ५२ लाख पु¥याईएको छ । केहि वर्ष भित्रै कोष बृद्धी गरी त्यसबाट प्राप्त हुने ब्याजबाट विद्यालयलाई आवश्यक पर्ने विभिन्न खालका खर्चहरुको ब्यवस्थापन गरी विद्यालयलाई नमूना र उत्कृष्ट बनाउने अभियानमा निरन्तर समुदायको साथ रहेको अध्यक्ष श्रेष्ठले बताए । प्रविधिमैत्री, ब्यवहारीक, संस्कृति तथा सम्पदामैत्री, कृषि तथा आधुनिकिकरण विविध विषयमा बालबालिकाहरुको सिकाई अभिबृद्धी बढाउने गरी विद्यालयले शुरु गरेका कार्यक्रमहरुलाई तीन तहकै सरकारले सहयोग गरिरहेको बताउँदै विद्यालयलाई भौतिक पूर्वाधारको कमी रहेकाले स्थानीय र प्रदेश सरकारले सहयोग पु¥याउनु पर्नेमा जोड दिए । 
कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्ष रमेश दाहाल तथा विभिन्न वडाका अध्यक्षहरु, पुर्व वडा अध्यक्षहरु, शिक्षा शाखा तथा अन्य शाखाका प्रमुखहरु, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु, विद्यालयका अभिभावक तथा शुभचिन्तकहरु, शिक्षक विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयले ब्यवस्थापन कोषमा रकम सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो । दर्जनौ ब्यक्तिहरुले कोषमा सहयोग गरेका छन् । 
ब्यवस्थापन कोषमा ५२ लाख
    सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न तथा सामुदायिक विद्यालयहरुमा अभिभावक, शिक्षक, समुदाय, सरोकारवाला निकाय तथा सरकारको समेत विश्वास बढाउन कसरी काम गर्न सकिन्छ ? अर्थात त्यसको ब्यवस्थापन कस्तो हुनु पर्छ भन्ने विषय जान्न जिल्लाको ब्यापारीक नगरी बनेपा बजारबाट चार किलोमिटर भित्र रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा पुग्न आवश्यक छ । 
दशक अघि विद्यार्थीहरुको अभाव झेलिरहेको उक्त विद्यालयले शुरु गरेको शैक्षिक गुणस्तर अभियानमा अभिभावकहरुलाई निरन्तर जोडिरहेको छ । अभिभावकहरुको चाहना, बदलिँदो आवश्यकता तथा विश्वब्यापीकरणमा विद्यालयलाई कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने दृढ संकल्प र अठोट लिएर विद्यालय ब्यवस्थापन समिति, विद्यालय शिक्षक परिवार र समुदाय सक्रिय भएकाले विद्यालयले परिणामत अपेक्षाकृत सफलता हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले बताए । ‘शिक्षकहरुको निरन्तरको मेहनतमा सिप र कला, अभिभावकहरुको साथ, सहयोग र विश्वास, विद्यार्थीहरुको माया प्रमुख विषय बन्यो’–प्रधानाध्यापक पाण्डेयले भने–‘सामुदायिक विद्यालयहरु सफल हुनुको भित्री कारण अभिभावकहरुको निरन्तरको माया र सद्भावसँगै निगरानी र अनुगमन हो ।’ 
    ‘अभिभावक तथा समुदायको माया किन यति धेरै रह्यो ? कसरी विद्यालयले दिगो रुपमा कार्य संचालनका लागि श्रोत जुटाउन सक्छ ? सामुदायिक विद्यालयहरुमा गुणस्तर र सिकाई उपलब्धी नदेखिनुको मूख्य कारण के हो ? यस्ता विविध विषयमा पटक पटक छलफल र अन्र्तक्रिया आयोजना गरियो’–विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भने–‘अभिभावकहरुको निरन्तरको सहभागिता र समुदायको चासोले मात्रै विद्यालय राम्रो बनाउन सकिन्छ भन्ने निर्णयमा पुगे पछि हामीले विद्यालय ब्यवस्थापन कोष निर्माण गर्ने योजना बनायौं । उक्त योजना पछि श्रोतको खोजीमा जुट्यौं । ब्यवस्थापन कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले विद्यालयको संचालन खर्च जुटाउन सहज भयो । त्यसले विद्यालयले आवश्यक कार्य गर्न सहज बन्दै गयो ।’ 
    विद्यालय ब्यवस्थापन कोषमा ३१ लाख रुपैया जम्मा भएको थियो । केहि वर्षमा उक्त कोषमा १ करोड जम्मा गर्ने महत्वकाँक्षी योजनामा विद्यालय ब्यवस्थापन समिति जुटिरहेको छ । कोषमा ५२ लाख रुपैया पुगेको छ । विद्यालयको ७७ औ बार्षिकोत्सवको अवसर पारेर रकम जम्मा गर्ने दाताहरुको संख्या बाक्लिएको थियो । अनिल रानाभाट धुलिखेल, ५५ हजार ५ सय ५५, भिमबहादुर श्रेष्ठ सिन्धुपाल्चोक ५० हजार १ सय २०, राजन श्रेष्ठ बनेपा नाला १ लाख ११ हजार १ सय ११, ज्ञानलाल श्रेष्ठ बनेपा नाला १ लाख ५५ हजार १ सय ५५, नवराज भण्डारी बनेपा भण्डारीगाउँ १ लाख ११ हजार १ सय ११, जयन्द्रबहादुर भण्डारी भण्डारीगाउँ १ लाख ११ हजार १ सय ११, एसएलसी समुह २०४४ १ लाख २९ हजार, रेशम नेपाली बनेपा नाला १ लाख ११ हजार १ सय ११, राजेन्द्र कोङ्गगा श्रेष्ठ बनेपा ९, १ लाख ११ हजार १ सय ११, रत्नप्रसाद अनामणी श्रेष्ठ बनेपा नाला १ लाख ११ हजार १ सय ११, हरिगोपाल कर्माचार्य र डा.बालगोपाल कर्माचार्य बनेपा नाला, २ लाख २२ हजार २ सय २२, सुमन खड्का बनेपा भण्डारीगाउँ २ लाख, सचित खड्का बनेपा जनागाल २ लाख, देवराज विस्ट बनेपा जनागाल २ लाख, देवकुमार श्रेष्ठ बनेपा नाला १ लाख ५५ हजार ५ सय ५५, रामनारायण श्रेष्ठ बनेपा नाला १ लाख १० हजार, सुरेन्द्र श्रेष्ठ १ लाख ४ हजार १ सय ५१, नवराज तामाङ १० हजार र र माधवलाल श्रेष्ठले ५० हजार सहयोग गरेका छन् । 
    सरकारले उपलब्ध गराउने शिक्षक पारिश्रमीक बाहेक अन्य केहि शुल्क बाहेक विद्यालयले अन्य शिर्षकममा खर्च गर्ने गरी बजेट प्राप्त गरेको छैन । जसका कारण विद्यालयमा हुने खर्च जुटाउन धौ–धौ हुने गरेको तितो यथार्थ सामुदायिक विद्यालयहरुमा छ । विजुली, पानी, सरसफाई, मसलन्द सामाग्री तथा विद्यालयले प्रयोग गर्ने बस, नियमिमत मर्मत तथा त्यसका लागि निरन्तर संचालन गर्न आवश्यक पर्ने बजेट लगायतका क्षेत्रमा कार्य गर्ने करारका कर्मचारी, शिक्षक समेतको ब्यवस्थापन चुनौती र जटिल छन् । तर पनि विद्यालय र समुदायले गरेको आँट र साहस सफल हुँदै गए पछि विद्यार्थीहरुले देखाएको सफलता, अभिभावकहरुको विश्वास र सद्भावले विद्यालयले प्रगति गर्न सकेको प्रधानाध्यापक पाण्डेयले बताए । 
    विद्यालयले नेपालकै पहिलो सामुदायिक विद्यालय तर्फ आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । विद्यालयमा अंग्रेजी र नेपाली माध्यमको पढाईमा स्मार्ट बोर्ड तथा प्रविधिको प्रयोग गरेको छ । विद्यालय बस मार्फत विद्यार्थीहरुलाई आवत जावतको सुविधा दिएको छ भने पर्याप्त खेलमैदान तथा अन्य बालमैत्री कृयाकलापमा नमुना विद्यालय बनेको छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारले समेत विद्यालयको सक्रियतालाई अभिभावकत्व प्रदान गरेको अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । 
‘परिणामुखी शिक्षाका लागि आवासीय विद्यालय’
    प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न तथा सरकारको लगानीलाई सदुपयोग गर्न आवासीय विद्यालय निर्माणमा ध्यान दिनुपर्ने बताए । ‘गुणस्तरलाई प्रतिस्पर्धी बनाउन, भरोसायुक्त बनाउन तथा सिद्धान्तलाई ब्यवहारमा उतार्न आवश्यक छ’–पूर्व मन्त्री बास्कोटाले भने–‘शिक्षालाई उत्पादन, आर्थिक रुपान्तरण तथा परिणाममुखी तथा आत्मविश्वास उन्मुख तर्फ अगाडी बढाउनु पर्छ ।’ सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको संख्यालाई बढाउन आवासिय विद्यालय निर्माणमा तीन तहकै सरकारले ध्यान दिनु पर्ने बताउँदै पुर्व मन्त्री बास्कोटाले जनसंख्याको घट्दो दर, विज्ञ शिक्षकहरुको अभाव हुन थालेकाले शिक्षमा भएको लगानी ब्यवस्थापन गर्नु पर्ने बताए । तीन तहकै सरकारले सोच्ने बेला आएको बताउँदै बास्कोटाले भने–‘अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन, सिकेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न तथा धेरै विद्यालय भन्दा आवासीय विद्यालय र गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्छ ।’ 
    संस्कृति, विचार, ज्ञान, विकास, खोज अनुसन्धान गर्ने प्रमुख स्थल विद्यालय भएकाले बालबालिकाहरुको सिकाईमा बृद्धि गर्न, सामुदायिक विद्यालयहरुमा गुणस्तर अभिबृद्धी गर्न आवश्यक रहेको पुर्व मन्त्री बास्कोटाले बताए । पुर्व मन्त्री बास्कोटाले भने–‘तीनवटा कारणले यो विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भयो । काभ्रेपलाञ्चोक जिल्लाका सामुदायिक विद्यालयहरुले तथा नेपालमा रहेका अन्य सामुदायिक विद्यालयहरुले चण्डेश्वरी श्रृष्टीकान्त विद्यालयबाट शिक्षण, प्रशिक्षण, विधि, प्रविधि सिक्न आवश्यक छ ।’ सामुदायिक विद्यालय प्रतिको आर्कषण देशब्यापी रुपमा घट्दै गएको, विद्यार्थी भर्ना दर कमजोर बन्दै गएको, शहरी क्षेत्रमा संस्थागत विद्यालयहरु समेत रहेकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको, सरकारी विद्यालयहरु खण्डहर जस्तै बनेको सन्र्दभमा चण्डेश्वरी सृष्टिकान्त विद्यालयले विद्यार्थीहरुलाई आर्कषण गर्न, अभिभावकको मन जित्न सफल भएकोमा बधाई तथा शुभकामना छ ।’