2026 August 21/ 07:28: 00pm

    धुलिखेल/धुलिखेल नगरपालिकाको ३९ औ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको धुलिखेलले स्थापना दिवसको अवसर पारी दक्षिण कोरियाको मुङ्गयोङ्ग शहरसँग भगिनी सम्वन्ध कायम राख्ने सम्झौता गरेको छ भने धुलिखेलमा चलचित्र छाँयाकनका लागि स्टुडियो निर्माणका लागि चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । 
    साथै कार्यक्रममा नगरपालिकाले प्रदान गर्दै आएको ११ वटा सम्मान प्रदान गरिएको थियो । धुलिखेल रत्न, धुलिखेल नक्षत्र, धुलिखेल प्रज्ञाश्री, धुलिखेल सेवाश्री, धुलिखेल तारा, जनसेवाश्री, कर्मचारी दीर्घ सेवा सम्मान गरिएको छ । त्यस्तै विभिन्न क्षेत्रबाट नगरपालिकालाई योगदान पु¥याउनेहरुलाई प्रशंशा पत्र प्रदान गरेको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाबाट प्रकाशन गरिएका पुस्तकहरु नगरपालिकाको मुख्य उपलब्धीहरुको संगालो र स्वस्थ शहर धुलिखेल लोकार्पण गरिएको थियो । प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा आयोजित कार्यक्रममा कोरिया स्थित मुङ्गयोङ्ग नगरपालिकाका प्रतिनिधिमण्डल सहभागि भएको थियो । विद्यार्थीहरुले शैक्षिक प्रर्दशनी आयोजना गरेका थिए । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले धुलिखेल नगरपालिकाले स्वस्थ शहर लगायतका वातावरण मैत्री कार्यक्रमहरुमा अन्र्तराष्ट्रिय अर्वाड प्राप्त गरेकोमा धुलिखेलबासीलाई बधाई तथा शुभकामना ब्यक्त गरे । धुलिखेलले गरेका नीतिगत तथा प्रशासनिक सुधार र दीर्घकालिन महत्वका कार्यक्रमहरु दिगो विकास लक्षित भएकाले नागरिकहरुले प्राप्त गर्नु पर्ने न्यूनतम र आधारभुत आवश्यकता पुरा गर्ने गरी सुखी धुलिखेलबासी र समृद्ध धुलिखेलको अभियान सार्थक बनाउन जनप्रतिनिधिहरुले भूमिका खेलेकाले जनताको घरदैलोको सरकारका रुपमा स्थापित भएकोमा बधाई दिए । स्थानीय सरकार नागरिकहरुका हरेक समस्यासँग सम्वन्ध जोडिएको भएकाले नागरिकहरुका असिमित आकांक्षा र चाहनालाई सिमित श्रोत र साधान मार्फत पुरा गर्ने अभियानमा संघीय तथा प्रदेश सरकारका तर्फबाट पहलकदमी गर्ने बताए । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले गरिरहेका योजना, विपत्तिमा सरकारले गरेको पक्षपातपूर्ण ब्यहार र नागरिकहरु प्रतिको दायित्व, खानेपानी तथा अन्य विषयका साथै स्वस्थ शहरका बारेमा जानकारी गराएका थिए । नागरिकहरुलाई स्वस्थ शहर निर्माणमा सहयोग गर्ने सम्पूर्णमा शुभकामनाका साथै आभार ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, काठमाडौ विश्वविद्यालयका निमित्त उपकुलपति डा.अच्युत वाग्ले, धुलिखेल रत्नबाट सम्मानित धुलिखेल अस्पतालमा कार्यरत डा.दिपक श्रेष्ठ, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम वेघा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले धुलिखेल नगरपालिकाले गरिरहेका कार्यहरुका बारेमा नागरिकहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा धुलिखेल नगरपालिकाबाट प्रकाशन गरिएका पुस्तकहरु नगरपालिकाको मुख्य उपलब्धीहरुको संगालो र स्वस्थ शहर धुलिखेल लोकार्पण गरिएको थियो । दक्षिण कोरियाको शहर मुङ्गयोङ्ग नगरपालिका सँग भगिनी सम्वन्धको प्रारम्भिक सम्झौता भएको छ । 
    त्यस्तै स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डसँग चलचित्र छायांकन स्टुडियो निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्झौता भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा कलाकारहरु के एल बुढाथोकी, रविन्द्र खड्का, उपप्रमुख निराजन जंगम र वडा अध्यक्ष विनोद गौतमले हस्ताक्षर गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 

विशिष्ट योगदान पु-याउनेहरुलाई सम्मान 
    धुलिखेल नगरपालिकाले स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा रहेर योगदान गर्नेहरुलाई सम्मान गरेको छ । ३९ औं स्थापना दिवसको अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुद, कला, कृषि तथा पर्यटन, वातावरण संरक्षणको क्षेत्रमा योगदान पु-याउनेहरुलाई विभिन्न मान पदवीद्धारा सम्मान गरिएको हो । नगरपालिकाले प्रदान गर्ने सबैभन्दा ठुलो मान पद्वी धुलिखेल रत्न धुलिखेल अस्पतालका डा.दिपक श्रेष्ठले प्राप्त गरेका छन् । अनुसन्धान, सामाजिक तथा सामुदायिक क्षेत्रमा अतुलनीय योगदान गर्दै धुलिखेलको गरिमा उचो राख्न विशिष्ट योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गरेको छ ।
    धुलिखेल नक्षत्रबाट पुर्व नगर उपप्रमुख समेत रहनुभएकी विमला शर्मा चौंलागाँई सम्मानित भएकी छन् । राजनीतिक क्षेत्रमा लोकप्रियता हासिल गरेको, जनप्रतिनिधिको रुपमा विवाद रहित र इमान्दारितापुर्वक सेवा गरेकोमा उनलाई सम्मान गरिएको हो । धुलिखेल प्रज्ञाश्रीबाट योजना खड्गी सम्मानित भएकी छन् । धुलिखेल–६ बस्ने खड्गीले गायन क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । धुलिखेल सेवाश्री मार्फत काठमाडौं विश्वविद्यालयलाई सम्मान गरिएको छ ।
    धुलिखेल तारा मार्फत संम्पदा संरक्षण, वातावरण संरक्षण र सञ्चार क्षेत्रमा काम गरिरहेको जि.आइ.जेटका डेपुटी प्रोग्राम कोअर्डिनेटर तीर्थ सिन्हालाई सम्मान गरिएको छ । एथलेटिक्समा स्वर्ण पदक विजेता धुलिखेल– ५ का पुष्पलाल श्रेष्ठ, नगरको विकास निर्माण, सम्पदा संरक्षण र विपदमा योगदान गर्ने धुलिखेल १२ का अमोदनाथ प्याकुरेल, खेलकुद क्षेत्रमा साझेदारी सहित योगदान गर्ने अखिल नेपाल फुटवल संघ एन्फा, शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान गर्ने धुलिखेल –७ का चुनियालाल श्रेष्ठ धुलिखेल ताराद्धारा सम्मानित भएका छन् । यस्तै जनसेवा श्रीबाट नगरपालिकाको सेवामा इमान्दारिताका साथ सकृय इन्जिनियर रोजन ताम्राकार र शिक्षा क्षेत्रमा कृयाशिल अशोक घिमिरेलाई सम्मान गरिएको छ । नगरपालिकाले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहि नगरपालिकालाई चिनाउन सहयोग गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्दै आइरहेको छ ।

१३ रोपनी क्षेत्रफलमा फिल्म छायांकन गरिने
    धुलिखेलमा चलचित्र छायाङकन स्टुडियो निर्माण हुने भएको छ । धुलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवसको अवसरमा नगरपालिका र चलचित्र विकास बोर्डबीच स्टुडियो निर्माणका लागि जग्गा उपलब्ध गराउने समझदारी भएको हो ।
    धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित कटुवापाखा, बडाल गाउँमा रहेको १३ सय रोपनी सरकारी जग्गा चलचित्र छायाङकन स्टुडियो निर्माणका लागि नगरपालिकाले उपलब्ध गराउने समझादरी भएको छ । समझदारी पत्रमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेका छन् । दुवै पक्षको समझदारी अनुसार चलचित्र छायाङकन स्टुडियोको लागि सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मुल्याङकन र विस्तृत परियोजना प्रतिवेदन तयरा लगायतका कार्य दुवै पक्षको समन्वय र सहकार्यमा अघि बढाउने उल्लेख छ । स्थानीय जनताको शैक्षिक योग्यता र क्षमता अनुसार चलचित्र छायाङकन स्टुडियो सञ्चालको क्रममा रोजगारीको पहिलो प्राथमिकता धुलिखेल–८ का वडावासीलाई दिइनेछ । धुलिखेलमा निर्माण हुने चलचित्र छायाङ्कन स्टुडियोले चलचित्र क्षेत्रको विकासको लागि सहयोग पुग्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
    धुलिखेलको पर्यटन प्रवद्र्धनमा समेत स्टुडियो निर्माण महत्वपुर्ण रहेको नगर प्रमुख ब्याञ्जुले बताएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगरपालिका सँगको समझदारीले आफु पनि धुलिखेल नगरवासी भएको महसुस भएको बताए । उनले निर्माण कार्यलाई तिव्रता दिइने समेत बताएका छन् । उक्त स्थानमा आउटडोर स्टुडियो निर्माणको योजना रहेको उनले बताए । 

दक्षिण कोरियाको मुङ्गयोङ्ग नगरपालिका बीच भगिनी सम्वन्ध कायम
    धुलिखेल नगरपालिका र दक्षिण कोरियाको मुङ्गयोङग नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । धलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवसको अवसरमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको सझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु र मुङ्गयोङ्ग नगरपालिकाका मेयर ह्युन कोक सिंनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका विविध क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले सुचना प्रविधि र पर्यटनको क्षेत्रमा भगिनी सम्बन्धले महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै मुङ्गयोङग नगरपालिकाका मेयर ह्युन कोकले धुलिखेल नगरपालिकाले सुरु गरेका असल अभ्यास र मुङ्गयोङग शहरले सुरु गरेको नविनतम कार्य आदानप्रदान गर्ने बताएका छन् । दुईपक्षीय सम्झौताले दुवै नगरपालिकाले लाभ लिन सक्ने उनले विश्वास लिएका छन् ।यस अघि धुलिखेल नगरपालिकाले धरान उपमहानगरपालिका लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध गाँसेको छ ।