धुलिखेल/२८६१ औं सोनाम ल्होछारका अवसरमा जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेल नगरपालिका वडा नम्वर ४ बखुण्डोलमा बखुण्डोल बुद्ध पार्क समितिको आयोजनामा बहृत्त सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले संस्कृति, भाषा र सम्पदा संरक्षणमा नगरपालिकाले विभिन्न परिषद् मार्फत कार्य गरिरहेको बताए । तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा शुभकामना दिदै नगर प्रमुख ब्याञ्जुले भाषा र संस्कृतिको संरक्षणमा जोड दिए । अध्यक्ष सत्यमान लामा दोङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, काँग्रेस नेता शंखबुद्ध लामा, वडा नम्बर ४ का अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्य, वडा नम्बर ११ का अध्यक्ष नारायण बडाल, विभिन्न क्षेत्रका ब्यक्तिहरु, कलाकारहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बखुण्डोल बुद्ध पार्कले हरेक क्षेत्र, समुदायको प्रतिनिधित्व गरेको बताए ।
तामाङ परम्परा अनुसार पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षको प्रारम्भमा लामा गुरुद्वारा पुजा गरिएको थियो । नयाँ वर्षको अवसरमा तामाङ समुदायले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।









