2026 August 22/ 04:20: 28am

बनेपा/२०६४ सालको फागुन महिनामा संचालन अनुमति लिई २०६५ मंसिर १४ गते देखि कारोवार प्रारम्भ गरेको बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध २ सय २ जना जेष्ठ सदस्यहरुलाई स्थापना दिवसको अवसर पारी सम्मान गरेको छ । साथै स्थापना दिवसको अवसर पारी संस्थापक शेयर सदस्यहरुलाई संस्थाको अवस्था, संस्थापकहरुको भूमिका र आगामी कार्ययोजनाका बारेमा जानकारी गराएको हो । 
    नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं संस्थाका सल्लाहकार सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष ग्रुवेन तौजलेको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाका कार्यकारी प्रमुख सुबास बैद्यले संस्थाको समग्र बस्तुस्थितिका बारेमा जानकारी गराउँदै संस्थालाई सदस्मुखी बनाउन, सदस्यहरुको सक्रियता र कृयाशिलता आवश्यक हुने बताए । उपाध्यक्ष प्रकाश कायश्थको स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव धर्मभक्त प्रधानले संचालन गरेका थिए । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्य, नेपाल पत्रकार महासंघका अध्यक्ष  बद्रिराज तिमल्सिना, निवर्तनमा अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैंजु, गणेश हिमाल तराई यातायात समितिका अध्यक्ष आत्मराम थापा, वडा अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले आभाष साकोसले बदलिँदो अवस्थामा पनि सेवालाई शशक्त बनाउन सफल भएकोमा शुभकामना ब्यक्त गरेका थिए । 
कस्तो छ आभाषको प्रगति ? 
    २०६४ साल फागुन महिनामा डिभिजन सहकारी कार्यालय धुलिखेलबाट अनुमति लिई संचालन शुरु भएको आभाष साकोस बनेपाले मुख्य कार्यालय बनेपामा राखी बनेपा नगर क्षेत्र भित्र मात्रै कारोवार गर्ने गरी २०६५ साल मंसिर १४ गते कारोवार शुरु गरेको थियो । जतिबेला संस्थाका संस्थापक शेयर सदस्य २ सय ४५ जना छन् ।  अहिले पनि संस्थामा ८२.५२ प्रतिशत शेयर रकम संस्थापक शेयर सदस्यहरुको नै छ । १७.५२ प्रतिशत बचत संस्थापक शेयर सदस्यहरुको छ । स्थापना कालमा सक्रिय रहेका ७५ सदस्य अहिले निश्क्रिय छन् । ४८ जनाले नियमित कारोवार गरिरहेका छैनन् । 
    आर्थिक वर्ष २०८१/०८२ को कार्तिक मसान्तसम्म संस्थामा ५ हजार ९ सय ८० शेयर सदस्य पुगेका छन् । ९ सय १६ जना बाल बचतकर्ता छन् । ३ करोड ७५ लाख ८० हजार १ सय शेयर पुँजी रहेको छ । ७६ करोड ९० लाख ८३ हजार बचत, ६६ करोड ४१ लाख ऋण लगानी गरेको छ । तरलता ब्यवस्थापनमा २० करोड ३७ लाख ५४ हजार ९ सय ४३ रुपैयाँ जम्मा गरेको संस्थाको कुल पुँजी ८९ करोड ४ लाख ७८ हजार ७ सय ९३ रुपैयाँ पुगेको छ । जगेडा कोषमा २ करोड ६३ लाख, जोखिम ब्यहोर्ने कोषमा ३ करोड २८ लाख, अन्य कोषमा ५३ लाख १० हजार गरी कुल ६ करोड ४४ लाख ७६ हजार २ सय २९ रुपैयाँ कोषमा जम्मा गरिएको छ । 
    संस्थाले १९ प्रकारका बचत सेवा शुरु गरेको छ । ८ प्रकारका ऋण सुविधा छन् । सदस्य सुरक्षा योजना, मोबाईल कारोवार, रेमिट्यान्स सेवा, शैक्षिक सामाग्री वितरण, सदस्य मृत्यु राहत, सिपमूलक तालिम, जेष्ठ नागरिक सम्मान लगायतका विविध कार्यक्रम संचालन भएका छन् । २०७३÷०७४ साल देखि शुरु भएको सदस्य सुरक्षा कार्यक्रमबाट ४ सय १ जनाले सुविधा लिएका छन् । उक्त सुविधाका लागि शुरुमा शेयर सदस्य अनिवार्य सहभागी हुने ब्यवस्था थियो । पछिल्लो समय सदस्यहरुले चाहेको अवस्थामा वर्षको एक पटक २ हजार रुपैयाँ जम्मा गरेर उक्त कोषमा आबद्ध हुन सक्नेछन् । कोषमा आबद्ध भएका सदस्यहरुलाई विभिन्न सेवा उपलब्ध हुनेछन् । उक्त कोषबाट हालसम्म संस्थाले ३६ लाख ८२ हजार रुपैया प्रदान गरेको छ । 
    गम्भीर प्रकृतिका रोगहरु लागेको अवस्थामा कोषमा आबद्ध शेयर सदस्यले २५ हजार रुपैयाँ सहयोग पाउने छ भने शल्यक्रिया गर्नु परेको अवस्थामा १० हजार रुपैयाँ पाउने छ । १० दिनभन्दा धेरै अस्पताल बस्नु परेमा ५ हजार रुपैयाँ सहयोग पाउनेछन् । सदस्यको मृत्यु भएमा २५ हजार तथा परिवारका सदस्यहरुको मृत्यु भएको अवस्थामा १० हजार रुपैयाँ उपलब्ध गराउने छ । सुत्केरी स्याहारका लागि १ हजार रुपैयाँ उपलब्ध गराईनेछ भने वार्षिक २ पटक संस्थाको स्थापना दिवस तथा नयाँ वर्षको दिन सुत्केरी हुने महिलाले छोरी जन्मेको अवस्थामा १० हजार रुपैयाँ सहयोग पाउने छन् । सदस्यहरुले बार्षिक रुपमा, दुई वर्षमा र ३ वर्षमा अनिवार्य रुपमा ब्यक्तिगत विवरण अपडेट जसलाई केवाईएम भर्नु पर्नेछ । उच्च जोखिम, जोखिम र न्यून जोखिमका आधारमा सदस्यहरुले उक्त फाराम भर्नेछन् । आर्थिक वर्षको अन्त्यसम्ममा ४ हजार ८ सय २९ जनाले उक्त फाराम भरेका छन् । 
    महिला समुह कार्यक्रम तथा विभिन्न आय आर्जनका कार्यक्रम संचालन गरेको संस्थाले स्थापना दिवसको अवसरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जेष्ठ सदस्य सम्मान कार्यक्रममा उत्कृष्ट जेष्ठ सदस्य नारायणप्रसाद बैद्य र संस्थापक शेयर सदस्य मध्ये उत्कृष्ट रामेश्वर कर्माचार्यलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुने जेष्ठ नागरिकहरुलाई जाडोयाममा पानी तताउने इलेक्ट्रिक जार, एक पाकेट विस्कुट लगायतका सामाग्रीहरु उपलब्ध गराईएको थियो ।