धुलिखेलमा तीन आयोजना
धुलिखेल/भोलिबाट राजधानीमा शुरु हुने लगानी सम्मेलनमा काभ्रे जिल्लाका लागि पाँचवटा आयोजना छनौट गरिएको छ । छनौट गरिएका मध्ये तीनवटा योजना धुलिखेल नगरपालिकामा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
लगानी सम्मेलनमा जिल्लामा तीनवटा नगरपालिका र आसपासका नगर तथा गाउँपालिकाहरुलाई समेत समेट्ने गरी एकीकृत फोहोर व्यवस्थापनका लागि धुलिखेल सहित काभ्रे उपत्यकाका लागि ४३ लाख डलर प्रस्ताव गरिएको छ । त्यस्तै धुलिखेलमा सम्पन्न गर्ने गरी ड्रिमल्यान्ड प्रोजेक्ट धुलिखेलका लागि ४ करोड ३० लाख डलर प्रस्ताव गरिएको छ । धुलिखेलमै निर्माण सम्पन्न गर्ने गरी धुलिखेल मेडिसिटी अस्पतालका लागि ७ करोड ४० लाख डलर प्रस्ताव गरिएको छ ।
त्यस्तै इन्टिग्रेटेड एग्रिकल्चरका लागि (चितवन र बनेपा) का लागि ४४ लाख डलर प्रस्ताव गरिएको छ । सुनकोसी–तेस्रो स्टोरेज हाइड्रोइलेक्ट्रिकका लागि ५८ करोड २० लाख डलर प्रस्ताव गरिएको छ । साविकको नेकपा एमालेको जिल्ला कमिटीले उक्त आयोजनाहरु केहि वर्ष अघि देखि नै सम्पन्न गर्नु पर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्रिय स्तरका काभ्रे जिल्लाको पहुँच पुगेसँगै जिल्लाले लगानी सम्मेलनमा उक्त योनाहरु समावेश गर्न सकेको हो । काभ्रे निर्वाचन क्षेत्र नम्वर २ बाट गोकुल बास्कोटा निर्वाचित भई संचार तथा सूचना प्रविधि मन्त्री भएका छन् भने धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघका अध्यक्ष छन् । दुबै नेता काभ्रे एमालेका नेताहरु हुन् । एमाले काभ्रेले जिल्लाको समग्र विकासका लागि अगाडी सारेका योजनाहरु मध्येका लगानी सम्मेलनमा केहि योजनाहरु समाबेश भएका हुन् ।
अन्तराष्ट्रिय लगानी सम्मेलनको लागि नेपाल सरकारले सरकारी स्तरका ५३ वटा आयोजनालाई अन्तिम रुप दिएको छ भने १८ वटा निजी स्तरका आयोजनालाई सहभागी गराउने निर्णय गरेको छ । सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन् । जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी क्षेत्रले प्रस्ताव गरेका हुन् । सरकारले लगानी सम्मेलनमा विदेशीसँग लगानी प्रस्ताव गर्ने जलविद्युत आयोजनाहरुमा पश्चिम सेती र एसआर सिक्स, तमोर, सुनकोशी–२, सुनकोशी–३, उत्तरगंगा, फुकोट कर्णाली, छन् । त्यस्तै निजी क्षेत्रबाट लगानी भित्राउन लागिएका प्रस्तावित जलविद्युत आयोजनाहरुमा मध्यकालिगण्डकी, त्रिशुली गल्छी, माथिल्लो चमेलिया, इन्गवा खोला, म्याग्दी खोला, तल्लो वरूणखोला, कालिगण्डकी गर्ज, माथिल्लो बलेफी, माथिल्लो बलेफी ए, नाम्लान खोला, तारपखोला रहेको लगानी वोर्डले जानकारी गराएको छ ।
कृषि पूर्वाधार क्षेत्र तर्फ केमिकल फर्टिलाईजर प्लान्ट, एकिकृत कृषि परियोजना विरेन्द्रनगर सुर्खेत, एकिकृत कृषि परियोजना चितवन र बनेपा, एकिकृत कृषि परियोजना गोदावरी र अत्तरिया, एकिकृत कृषि परियोजना हेम्जा पोखरा, एकिकृत कृषि परियोजना पर्सागढी पर्सा, एकिकृत कृषि परियोजना तिलोत्तमा मनिग्राम, एकिकृत कृषि परियोजना उर्लाबारी मोरङ रहेका छन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गण्डकी प्राविधिक विश्वविद्यालय धुलिखेल मेडिसिटी, एजुकेशन, हेल्थ एण्ड स्पोर्टस सिटी, रहेका छन् । उद्योग क्षेत्रमा औद्योगिक पार्क मोतिपुर, औद्योगिक पार्क नौबस्ता बाँके, विशेष अर्थिक क्षेत्र सिमरा रहेका छन् । पर्यटन पूर्वाधार क्षेत्रमा दमौली बहुउद्देश्यीय परियोजना, दोलखा माउन्टेन एकेडेमी, ड्रिमल्याण्ड धुलिखेल, फिल्म सिटी दोलखा, गौतमबुद्ध अन्तराष्ट्रिय प्रसुती अस्पताल, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, लक्जरी रिसोर्ट से फोक्सुन्डो, स्कि रिसोर्ट मनाङ, तालतलैया थिमपार्क विथ होटल, द खप्तड टुरिजम रहेका छन् ।
त्यस्तै यातायात पूर्वाधार क्षेत्रतर्फ विराटनगर क्षेत्रीय विमानस्थल, बस र्या्पिड ट्रान्जिट, काठमाडौं रिङरोड, धनगढी क्षेत्रीय विमानस्थल, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, आन्तरिक र बाह्य यातायात सेवा सुदुरपश्चिम प्रदेश, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बारा, यापिड पब्लिक ट्रान्सपोर्ट रामग्राम–तिलौराकोट रहेका छन् । शहरी विकास पूर्वाधार क्षेत्र तर्फ हेटौडा स्मार्ट सिटी, एकीकृत फोहोर व्यवस्थापन धुलिखेल, एकीकृत फोहोर ब्यवस्थापन जितपुर सिमरा, एकीकृत फोहोर ब्यवस्थापन रत्ननगर, एकीकृत फोहोर ब्यवस्थापन बुटवल, एकीकृत फोहोर ब्यवस्थापन रहेका छन् ।







