2026 August 23/ 08:57: 12am

         बनेपा/बनेपामा कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धी तालिम दिइएको छ । 
ए.वि.प्यालेट फिड र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा एकदिने तालिम दिइएको हो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमु्ख आतिथ्यता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, ए.वि.प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक बलराम सञ्जेलको विशेष आतिथ्यता रहेको थियो । 
         कार्यक्रममा पोल्ट्री व्यवसायी मञ्च काभ्रेका सचिब दयाराम महत, प्रशिक्षक दिपेश लामिछाने, डा.आशिष महत, ए.वि.प्यालेट तथा ग्लोबल भेटका निर्देशक विमला सञ्जेल, पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने, वरिष्ठ पत्रकार मधुसुदन गुरागाँई, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, मदानि बिट अनलाईनका सह–सम्पादक विकास तिमल्सिना, एक्टिभ मिडिया अनलाईनका सम्पादक मणिराम दाहाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले कृषकमा व्यवसायबाट हुने क्षति कम गराउन पशु विमा नीति अघि बढाइएको जानकारी दिएका छन् । सबै कृषकलाई विमाको पहुँचमा पु¥र्याउने योजनाका साथ नगरपालिकाले काम गरिरहेको उनको भनाई छ । पंक्षीमा समेत विमा कार्यक्रम सुरु गर्नका लागि अध्ययन गरिरहेको नगर प्रमुख शाक्यले बताए । उनले नगरपालिकाले मल्टी च्याम्बर कोल्ड स्टोरेज निर्माण कार्य समेत अघि बढाएको जानकारी दिएका छन् । त्यसका लागि जग्गा व्यवस्थापन भइसकेको उनले बताए । एकैपटक धेरै उत्पादन हुँदा मुल्य कम हुने गरेको अनुभव सुनाउँदै नगर प्रमुख शाक्यले धेरै हुँदा भण्डारण गरेर राम्रो मुल्य आउने समयमा विक्रि गर्नका लागि यसले सहयोग पु¥र्याउन बताए । यसले किसानलाई ठुलो राहत पुग्ने उनले बताए । नगर प्रमुख शाक्यले उपभोक्ता र कृषकलाई जोड्नका लागि नगरपालिकाले सुरु सञ्चालन गरेको पनि बताएका छन् । हाटबजार प्रभावकारी भएको उनको दाबी छ । उप–प्रमुख विमला सापकोटाले काभ्रे जिल्ला दुध, मासु र अण्डामा आत्मनिर्भर भएको भन्दै अब गुणस्तर र कृषकको समस्यामा ध्यान दिनुपर्ने बताइन् । उनले जोखिम कम गर्नका लागि विमा जरुरी रहेको भन्दै विमा कार्यक्रममा जोडिन कृषकलाई आग्रह गरेकी छन् । 
           बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले स्थानीय कृषकको हितमा हुने कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्ने बताए । काभ्रे पोल्ट्री व्यवसायी मञ्चका सचिब दयाराम महतले कुखुरा पालन व्यवसाय सुरु गर्नु अघि कम्तीमा पनि सामान्य जानकारी लिन आवश्यक रहेकोमा जोड दिएका छन् । उत्कृष्ट कुखुरा, चल्ला, औषधीको बारेमा ज्ञान भए मात्रै व्यवसाय राम्रो गर्न सकिने उनको भनाई थियो । उनले गुणस्तरीय कुखुरा उत्पादन तथा मासु विक्रीमा ध्यान दिन व्यवसायी र स्थानीय तहलाई आग्रह गरेका छन । जथाभावी कुखुरा काट्दा कम गुणस्तर, फोहोर र अस्तव्यस्त हुने भन्दै पुर्व अध्यक्ष महतले उपयुक्त ठाउँको बन्दोबस्त गर्नका लागि समेत अनुरोध गरेका छन् । 
एवि प्यालेटका प्रबन्ध निर्देशक बलराम सञ्जेलले राष्ट्रिय जीडिपीमा ४ प्रतिशत पोल्ट्री व्यवसायको योगदान रहेको बताए । उनका अनुसार पोल्ट्री व्यवसायमा ५ लाख व्यवसायी प्रत्यक्ष आवद्ध छन् । सानो र ठुलो अर्थात आफ्नो क्षमता अनुसार गर्न सकिने भएकाले यसमा आकर्षण बढेको उनले बताए । कुखुराको मासु र अण्डामा नेपाल आत्मनर्भर घोषणा भइसकेको भएपनि यो व्यवसायमा अवसरसँगै चुनौती पनि रहेको उनको भनाई थियो । बढ्दो उत्पादन लागत, उत्पादन भएको समयमा मुल्य नपाउने जस्ता समस्या रहेको उनको भनाई थियो । अवसर र चुनौतीका बारेमा कृषकसँग छलफल गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको सञ्जेलले बताएका छन्् । ए.वि. प्यालेट फिडद्धारा उत्पादित दानाको गुणस्तरमा विशेष ध्यान दिइएको प्रबन्ध निर्देशक सञ्जेलले बताएका छन् । कार्यक्रमको समापनमा उपस्थित कृषकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रम जयमाता चण्डेश्वरी सप्लायर्सका प्रमुख सचिन तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।