धुलिखेल/धुलिखेल अस्तालमा स्वीसको सहयोगमा आधुनिक प्रविधी सहितको ल्याव मेशिन उपलब्ध गराईएको छ । अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजुलाई स्वीस राजदुत दयानिलाले मेशिन हस्तान्तरण गरेकी थिईन् ।
कार्यक्रममा राजदुत दयानिला, अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा.विराजमान श्रेष्ठ, डा. ज्योति तखाँक्षे र डा.अन्जना डंगोल, डाइग्नोटेक सपोर्ट प्रा.लि.का कार्यकारी निर्देशक शुशील थापा लगायत अस्पतालका विभिन्न विभागका प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पतालले पिछडिएका, गरीब, सीमान्तकृत एवं ग्रामीण भेगका सेवाग्राही विरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने अभियानलाई बढावा दिन स्वीस सहयोग, डाइग्नोटेक सपोर्ट प्रा.लि.(रोश डाइग्नोस्टिक्सको नेपाल स्थित आधिकारिक विक्रेता) र धुलिखेल अस्पतालबीच सहकार्य गरेको हो । सहकार्यको पहिलो पाईला स्वरुप स्वीट्जरल्याण्ड र डाइग्नोटेक सपोर्ट प्रा.लि.को लगानीमा धुलिखेल अस्पतालको ल्याब सम्बन्धी श्रोत साधनको क्षमता अभिवृद्धिका लागि रोश इन्टिग्रेटेड कोबास प्योर सिष्टम नामक आधुनिक ल्याब मेशिन (प्रविधी) धुलिखेल अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त मेशिनको प्रयोगबाट सुधारिएको डाईग्नोस्टिक (निदान) ल्याब सेवामा पिछडिएका जनसमुदायको सहज पहुँच पुगी उन्नत स्वास्थ्य सेवाको नतिजा ल्याउन प्रत्यक्ष फाईदा पुग्ने अपेक्षा गरिएको छ । रोश इन्टिग्रेटेड कोबास प्योर सिष्टमको उपलब्धताले ल्याबको कार्य क्षमतामा तिव्रता आउनुका साथै ल्याब रिपोर्ट छिटो प्रदान गर्न सहज हुनेछ । नयाँ प्रविधीका माध्यमबाट धुलिखेल अस्पतालले धेरै मात्रा परीक्षणहरु चुस्त, छिटो गर्न सक्षम भई सेवाग्रहीहरुले भरपर्दो स्वास्थ्य सेवा पाउन सफल हुने अपेक्षा गरिएको छ । स्वीस सहयोग, डाइग्नोटेक सपोर्ट र धुलिखेल अस्पतालबीचको सहकार्यले नेपालको स्वास्थ्यस्तर उकास्न सामूहिक प्रतिबद्धता जनाएको छ । कोभिड महामारीका समयमा धुलिखेल अस्पतालको ल्याब सेवाले स्वास्थ्य क्षेत्र महत्वपूर्ण योगदान पु¥याएको थियो । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा धुलिखेल अस्पतालले पृथक प्रभाव बनाईरहेका बेला अस्पतालमा उक्त मेशिनको प्रयोगले बायोकेमेष्ट्रीका सामान्य परीक्षणदेखि जटिल परीक्षणमा थप चुस्तता आउने प्रेस संयोजक प्रा.डा.सुमन ताम्राकारले बताए ।









