2026 August 23/ 11:05: 58am

    धुलिखेल/२०८० भदौ ६ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा नागरिकता प्राप्तिका लागि आवेदन दिएकी बेथान्चोक गाउँपालिका साविक ढुंर्खक गाविसकी एक युवतीले ११ महिना पछि नागरिकता प्राप्त गरिन् । बाबु बेपत्ता भएको स्व–घोषणामा हस्ताक्षर गरी उनले नागरिकता प्राप्त गरिन् । आमाको नामबाट २०८१ साउन ६ गते नागरिकता जारी भएको अधिकृत कृष्णप्रसाद सापकोटाले पुष्टि गरे । आमाको नामबाट नागरिकता लिने चालु आर्थिक वर्षमा उनी पहिलो नागरिक हुन् । 
    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/०८१ मा १२ जनालाई आमाको नामबाट नागरिकता उपलब्ध गराएको छ । ५५ जनाले नागरिकता परित्याग गरेका छन् । ५३ जनाले गैर आवासिय नागरिकता प्राप्त गरेका छन् । ९ वटा नागरिकता रद्द भएका छन् । ७ वटा अगिंकृत नागरिकता जारी भएका छन् । नागरिकता प्राप्तिका लागि पेश गरेको अनुसुचीका आधारमा जिल्ला प्रशासन कार्यालयले ११ महिनासम्म नागरिकता उपलब्ध गराउन मानेन । २०८० भदौ १८ गते देखि २०८१ जेठ २० गतेसम्म रुद्रादेवी शर्मा प्रमुख जिल्ला अधिकारी थिईन् । सोहि अवधीमा विविध समस्या भएका ८० भन्दा धेरैले नागरिकता पाउन सकेका थिएनन । २०८१ जेठ २१ सुर्यप्रसाद सेढाँई प्रमुख जिल्ला अधिकारीका रुपमा हाजिर भए । जिल्ला प्रशासन कार्यालयमा निर्णय नभई थन्किएका करिव ६० वटा भन्दा धेरै नागरिकताका समस्या समाधान भए । 
    ‘कानुननमा भएको ब्यवस्था अनुसार प्रकृया पुगि आएका नागरिकता प्राप्ति सम्वन्धी अनुसुचिहरु रोकिदैनन’–प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले भने–‘संविधान र कानूनले गरेको ब्यवस्था अनुसार नागरिकता पाउनु पर्छ । प्रशासनले त्यसलाई सहजिकरण गर्छ ।’ पुराना केहि फाईलहरुको टुंगो लागिसकेको र केहि प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी सेढाँईले बताए । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुबास पौडेलले नागरिकता सम्वन्धी समस्या भएका केहि बाहेक अधिकांश टुङ्गो लागिसकेको बताए । ‘नागरिकतामा समस्या देखिएका केहिलाई स्थानीय तहमा लिखित र मौखिक सोधपुक्षका लागि पठाएका छौं’– सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले भने–‘तथ्य, प्रमाण र कागजातका आधारमा नेपाली नागरिकलाई संविधान र कानून अनुसार नागरिकता दिने विषयमा प्रशासन कार्यालय बाधक छैन ।’