विकास तिमल्सिना
धुलिखेल
सघीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको विपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्डमा नौ वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन ।
उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । सूचना डिस्प्ले गर्ने बोर्ड घाँस उम्रिएर छोपिएको छ । सडक सूचना प्रणालीमा सूचना उपलब्ध नहुँदा नागरिकहरु भने हैरानीमा पर्ने गरेका छन् । वर्षातका कारण पटक पटक विपी राजगर्माको विभिन्न खण्ड अवरोध हुने गरेको छ । राजमार्ग छेउछाउ संचालन गरिएका अबैद्य क्रसर, खानी र ग्रामिण सडकको लेदो बगाउँदा विपी राजमार्गमा ५० भन्दा धेरै स्थानमा अवरुद्ध हुँदै आएको छ । उक्त सूचना समयमाा नपाउँदा यात्रुहरु बीच सडकमाम घन्टौ अलपत्र पर्ने गरेका छन् भने केहि सवारी साधन पुरिएका पपिन छन् ।
विपी राजमार्ग लक्षित काठमाडौँबाट अरनिको राजमार्गको कोटेश्वर, धुलिखेल, सिन्धुलीको बर्दिबास लगायतका चार स्थानमा सूचना बोर्ड राखिएको छ । यस प्रणाली अन्तर्गत पाँचवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रूपमा बर्षातको मापन गरेर सडक विभाग स्थित डाटा सेन्टरमा सूचना पठाउँछ । सो प्रणाली अन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जिपिआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार) मार्फत विद्युत् आपूर्ति हुने व्यवस्था समेत मिलाइएको थियो । काठमाडौँ थापाथली स्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा समेत रहने व्यवस्था आयोजनाले गरेको थियो ।
राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेल लगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको सडक आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिए । राजमार्ग प्रवेशस्थल धुलिखेल स्थित बोर्डमा समेत मौसम अनुसारको सूचना अद्यावधिक गर्न नसकेको प्रमुख दासले बताए । ‘इआइएस मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण छ, जनशक्ति र आवश्यक बजेट नहुँदा सञ्चालन गर्न सकिएको छैन’–दासले भने–‘२०८१ साउन देखि यसको जिम्मेवारी र दायित्व पनि सरेको छ । कसले हेर्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन ।’ सडक खण्डमा सूचना दिन विभागसँग जनशक्ति नै छैन । इआइएस व्यवस्थित गरिएको सात वर्ष पछि सञ्चालनमा चासो राखेको विभागले राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई अझै पनि निरन्तरता दिन नसकेको हो । धुलिखेल र खुर्काेटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनु’, ‘ट्राफिक नियमको पालना गरौं’ जस्ता सामान्य सूचनाहरु एक वर्ष देखि डिस्प्ले गरिएको थियो ।
उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले जाइका एक्सपोट्र्स टिमलाई अध्ययन स्वीकृत दिएको थियो । अध्ययन पछिको प्रतिवेदनले प्रणालीलाई निरन्तरता दिने योजना बनाए पनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको कर्मचारीहरुले बताएका छन् । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समय पश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ । राजमार्गमा वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्काेट, सिन्धुली र बर्दिबासमा रहेको डिजिटल सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेसनसहित वेबसाइट र इआइएसलाई इन्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’समेत तयार पारिसकेको थियो । धुलिखेलबाट विक्रम सम्वत २०५४ देखि बनेपा–सिन्धुली बर्दिबास निर्माण शुरु गरिउको थियो । उक्त सडकको लम्बाई १ सय ६० किलोमिटर छ ।









