बनेपा/बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित आयोजना तथा कार्यक्रमहरुका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकाले एक अरब ४४ करोडको बजेटमा चालु खर्च ८६.२१, पुँजीगत खर्च ८९.१० र बित्तिय खर्च १०० प्रतिशत गरी जम्मा ८७.७६ प्रतिशत खर्च भएको प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद चापागाईले कार्यक्रममा बताए । चाँपागाईले नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा जिल्लाकै उत्कृष्ट ९२.५ ल्याउन सफल भएको, जेष्ठ नागरिकको निशुल्क दन्त परिक्षण तथा कृत्रिम दाँत प्रत्यारोपण कार्य गरिएको, नगर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सबै वडामा हरेक महिना सञ्चालन गरिएको, हरेक शुक्रबार हाटबजार सञ्चालन गरिएको, बनेपा नगरपालिका भित्रका सबै कृषकका पशुहरुको निशुल्क बीमा गरिएको, नगरपालिकावाट स्वीकृत भएका भवन निमार्ण स्वीकृती सम्बन्धी नक्सा डिजिटाजेशन गरिएको, विद्युतिय नक्सापास प्रणाली प्रारम्भ, नगर यातायात गुरु योजना निर्माण सम्पन्न, योजना सफ्टवेयर लागु गरिएको, ५२ वटा सामुदायीक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण तथा उपचार गरिएको, जेष्ठ नागरिकहरुको लागी निशुल्क दन्त शिबिर तथा दाँतको पुरा सेट राखि दिने कार्यक्रम सञ्चालन गरिएको, बनेपा आधारभुत नगर अस्पतालको लागी जग्गा प्राप्ती भएको, सडक, खानेपानी लगाएतका प्रमुख उपलब्धीहरु रहेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरमा भएका समस्या र चुनौती रहेको वताईएको थियो । संस्थागत÷जनशक्तिको क्षमतामा बृद्धि नभएको, आयोजना संचालनको अवस्थामा अनुगमन नभएको, प्रविधिलाई कम महत्व दिईएको, विषयगत समितिको बैठक कम बस्ने गरेको, कार्यक्रम र बजेटमा तालमेल नभएको र खर्च अनियमित भएको, कार्यक्रममा साझेदारी नभएको, नगरपालिकाको प्रशासनिक भवन पर्याप्त नभएको, कार्यालय वडा ब्यबस्थापनमा कमजोरी, अभिलेख ब्यबस्थापन कमजोर, नगरमा दमकल, शव वहान तथा एम्बुलेन्स नभएको, एकीकृत खानेपानी लथालिङ्गको अबस्थामा रहेको लगायतका समस्या र चुनौती रहेको बताईएको थियो ।
कार्यक्रममा नगरवासीहरुले बनेपा डुबानको स्थायी समधान खोज्नु पर्ने, खानेपानी सहज तरिकाले वितरण गर्नु पर्ने, जनताका सामान्य कामलाई नपन्छाई सेवा प्रदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, प्रशासकिय अधिकृत धुर्बराज नेपाल, जिल्ला समन्वय समति सदस्य चण्डिका मिजार, काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष प्रताप बैध, वडा अध्यक्षहरु, जेष्ठ नागरिक मञ्चका अध्यक्ष कृष्णप्रसाद दाहाल, वाल सञ्जालका नगर अध्यक्ष रोजी ठाडा मगर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधिहरु, नगरवासी लगायतको सहभागिता रहेको थियो ।









