बनेपा/बनेपामा स्थापना भई नेपालका विभिन्न जिल्लाहरुमा संचालित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले अन्धोपन निवारणमा छलाङ्ग मारेको छ ।
हरेक वर्ष हजारौ ब्यक्तिहरुको शल्यक्रिया मार्फत दृष्टि फर्काउँदै आएको अस्पतालले बनेपा नगरपालिका भित्र एक वर्षको अवधीमा ५२ स्थानमा ६० भन्दा धेरै विद्यालयका १६ हजार ३ सय ८२ बालबालिकाहरुको आँखा परिक्षण गराई दृष्टि दोष लगायत आँखामा भएका समस्याहरुको पहिचान गरेको छ । पहिचान गरिएका बालबालिकाहरुलाई उपचारमा अस्पताल र बनेपा नगरपालिकाले सहयोग गरेको छ । तर पनि केहि बालबालिकाहरु अझै अस्पताल नगएको तथ्यांकले देखाएको छ । ‘बनेपा नगरपालिका र अस्पताल बीच भएको सम्झौता अनुसार २४ हजार बालबालिकाहरुमा गर्ने भनिएको परिक्षण १६ हजार ३ सय ८२ जनामा गरिएको छ’–अस्पतालका महासचिव हिरामणी शर्माले भने–‘९ हजार १ सय ३५ पुरुष, ७ हजार २ सय ४७ महिलाको आँखा परिक्षण गरिएको छ ।’ परिक्षण गरिएका बालबालिकाहरु मध्ये २ हजार ५ सय ९५ रिफर गरिएको छ भने रिफर गरिएका मध्ये ६ सय २५ जनाले अस्पताल पुगेर चस्मा प्रयोग गर्न थालेका छन् ।
बनेपा नगरपालिका भित्र अस्पतालले विद्यालय बाहेक ७ वटा शिविर संचालन गरेको छ । जसमा १ हजार ७ सय ६० जनाको आँखा परिक्षण गरिएको छ । अस्पतालले बनेपा नगर भित्रका १ सय ६९ जनाको मोतिविन्दुको शल्यक्रिया गराएको मेडिकल डाईरेक्टर दिक्षा मल्लले बताईन् । अस्पतालले धुलिखेलमा १४, पनौतीमा १२, बेथान्चोकमा २, रोशीमा ३, नमोबुद्दमा ३, मण्डनदेउपुरमा २ र पाँचखालमा १ वटा शिविर आयोजना गरेको छ । केहि दिन अघि देखि बनेपा नगरपालिकाको आधारभुत अस्पताल नालाबाट पनि आँखाको सेवा प्रारम्भ भएको छ भने २०२४ भित्र अस्पतालले बर्दघाट र बनेपाको पुरानो रेयुकाई मासुनागा रहेको कार्यालयबाट समेत सेवा प्रारम्भ गर्नेछ । हाल बनेपाको अलावा सिन्धुपाल्चोक, जनकपुर, धरान, ढल्केवर, भकुण्डे लगायतका स्थानबाट आँखाको सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष मधुप्रसाद आचार्यले बताए । २००७ बाट शुरु भएको अस्पताल २०१२ बाट आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी २०१५ बाट बनेपाको बुडोलबाट सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष मधु आचार्यले सबै नागरिकहरुले आँखाको उपचार सहज रुपमा प्राप्त गरुन भन्ने उद्देश्यले अस्पतालले प्राप्त सेवालाई फराकिलो, प्रविधीमैत्री र गुणस्तरीय बनाउँदै विस्तार गरिरहेको बताए । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकालाई मोतिविन्दु मुक्त नगर घोषणा गर्न बालबालिकाहरु देखि नै आँखाको परिक्षण र उपचारमा केन्द्रित रहेको बताए । अस्पतालको सेवालाई प्रभावकारी बनाउन समन्वय र सहयोग रहने बताउँदै नगर प्रमुख शाक्यले विद्यार्थीहरुको बाँकी जीवन सुखमय बनाउन समयमै आँखाको समस्या पहिचान गर्न सबै विद्यालयमा रहेका बालबालिकाहरुको आँखा परिक्षण गरिएको बताए ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगरका सबै वडामा रहेका नागरिकहरुको आँखाको परिक्षण र उपचारका लागि आँखा अस्पतालसँग गरिएको सम्झौताले प्रभावकारी सेवा उपलब्ध गराएको बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले १२ वटा वडालाई तीन स्थानमा केन्द्रित गरेर नागरिकहरुलाई मोतिविन्दु भए नभएको वा अन्य कुनै समस्या भए त्यसको समेत पहिचान गरि पहिलो वर्ष १ सय ९२ जनालाई गाउँपालिकाको आफ्नै खर्चमा लैजाने, ल्याउने र खाने बस्ने ब्यवस्था समेत गरी उपचार गराएको बताए । दोश्रो वर्ष उक्त संख्यामा कमि आएको भए पनि निरन्तर यो अभियान जारी राख्ने अध्यक्ष लामाले बताए । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले स्थानीय स्तरमा भएका समस्याहरुको पहिचान गरी सबै बालबालिकाहरुको सहज उपचारका लागि नगरपालिकाले आवश्यक समन्वय गर्ने बताईन् ।
कार्यक्रममा बनेपा नगरपालिकाका वडा अध्यक्षहरु, शिक्षा र स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारीहरु, अस्पतालका विभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।









