2026 August 23/ 11:12: 12am

    धुलिखेल/काभ्रेको बनेपामा रहेको पुण्यश्वर सहकारीका सचिव एवं रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष ५२ बर्षिय गंगाबहादुर तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले १ लाख रुपैंया धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै सोहि सहकारीको चौरीदेउराली सेवा केन्द्रमा कार्यरत लेखापाल तथा क्यासियर २१ बर्षिया कविता गौतमलाई ५० हजार धरौटीको आदेश भएको छ । 
    जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले तामाङलाई १ लाख रुपैया र गौतमलाई ५० हजर रुपैया धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार कर्ण राईले जानकारी दिए । उनिहरु सहित सहकारीका विभिन्न पदमा कार्यरत ११ जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको थियो । फरार रहेका तामाङ र गौतम जिल्ला अदालतमा आफै उपस्थित भएका हुन् । पक्राउ परेका उपाध्यक्ष झम्कप्रसाद गौतम, कोषाध्यक्ष पवित्रा चौलागाई उच्च अदालत पाटनको आदेशले धरौटीमा रिहा भएका थिए । जिल्ला अदालत काभ्रेपलाञ्चोकले झम्कप्रसाद गौतम सहित कोषाध्यक्ष पवित्रा चौलागाई र ब्यवस्थापक कुमार गौतमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । सोहि दिन लेखापाल संगिता खड्कालाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले संचालक अमृत गौतमलाई पनि १ लाख धरौटीमा छाड्ने आदेश दिएको छ भने ऋण समितिका सुबास मगरलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । 
    जिल्ला सरकारी वकिलको कार्यालय धुलिखेलले दायर गरेको अभियोगपत्रमा काभ्रेपलान्चोक जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ वमोजिम संचालक र कर्मचारी समेत १५ जनालाई प्रतिवादी बनाएको थियो । पाँचखाल नगरपालिका वडा नम्वर २ बस्ने ३७ बर्षिय कृष्णबहादुर तामाङ समेत ६५ जना बचतकर्ताहरुले ३ करोड ८० लाख ९३ हजार ४ सय १८ रुपैया बचत फिर्ता माग गर्दै संचालकहरु रामेछाप जिल्ला साबिक गुन्सी भदौरे गाविस १ हाल सुनापाती गाउँपालिका वडा नम्वर १ स्थायी ठेगाना भई बनेपा नगरपालिका वडा ७ बस्ने सहकारी संस्थाका अध्यक्ष ६० बर्षिय डम्बरप्रसाद गौतम, संस्थाका उपाध्यक्ष ४१ बर्षिय झम्कप्रसाद गौतम, रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा नम्वर ५ का निर्वाचित वडा अध्यक्ष समेत रहेका सचिव ५२ बर्षिय गंगाबहादुर तामाङ, कोषाध्यक्ष ३२ बर्षिया पवित्रा चौलागाई विरुद्ध जाहेरी दिएका थिए । मुख्य अभियुक्त डम्बर अझै फरार छन् । 
    त्यस्तै संचालक सदस्यहरुमा ४७ बर्षिया कमला चौलागाई, ३१ बर्षिय अमृत गौतम, ३५ बर्षिय टिकालाल श्रेष्ठ विरुद्ध पनि जाहेरी दर्ता भएको थियो । त्यस्तै कर्मचारीहरु ब्यवस्थापक ३६ बर्षिय कुमार गौतम, चौरीदेउराली सेवा केन्द्रको लेखापाल तथा क्यासियर २१ बर्षिया कबिता गौतम, लेखापाल ३३ बर्षिया संगिता खड्का थापा, पाँचखाल सेवा केन्द्रका ऋण अधिकृत २८ बर्षिय सुवास मगर, बजार प्रमुख २२ बर्षिया सजिना श्रेष्ठ, २३ बर्षिया मनिषा गौतम, २० बर्षिया सुप्रिया तामाङ, २७ बर्षिया सरस्वती दाहाल ढकाल विरुद्ध पनि जाहेरी दर्ता भएको थियो । सहकारी ठगी अभियोगमा प्रतिवादी बनाईएकाहरुबाट बचतकर्ताहरुको रकम असुल उपर तथा क्षतिपुर्तिको माग गरिएको थियो ।