धुलिखेल/माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिले साउन २३ गते विहान ११ देखि दिउसो २ बजेसम्म हुने एसईई पुरक परीक्षाका लागि केन्द्र चयन गरेको छ । विभिन्न विषयको परीक्षामा सम्मिलित विद्यार्थीहरुका लागि बनेपा र धुलिखेलमा ५ वटा केन्द्र तय गरिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख देवका ढकालले बताईन् ।
उक्त परीक्षामा २ हजार ४ सय ३५ विद्यार्थी सहभागि हुनेछन् । यि विद्यार्थीहरु मध्ये केहिले बाहेक अधिकांशले थोरै विषयको मात्रै परीक्षा दिनेछन् । सरकारले यो वर्ष सबै विषयको परीक्षा दिन पाउने ब्यवस्था गरे पछि पुरक परीक्षा दिने विद्यार्थीहरुको संख्या धेरै भएको हो । परीक्षामा १ सय ८ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् । हरेक दिन अधिकतम विद्यार्थी संख्या १ हजार ६ सय ७४ जना हुनेछन् । जिल्लामा धेरै विद्यार्थी गणित विषयमा छन् । प्राविधिक बिषयका विद्यार्थीहरुको परीक्षा केन्द्र साविक अन्य विद्यार्थीहरुले दिने परीक्षा केन्द्रमा नै कायम गरिएको छ ।
चौरीदेउराली गाउँपालिकामा रहेका १० वटा विद्यालय मध्ये पाँच वटा विद्यालयका विद्यार्थीहरु गणित विषयमा फेल भएनन् । खाँडादेवीमा ४९ जनामा ४ जना, प्रभामा ५१ जनामा २ जना, भुमेस्थानबाट ८ जनामा १ जना, देउराली मावीबाट २ जना अनुर्तिण भएका छन् । २ सय ६१ मध्ये २ सय ५१ जना उक्त विषयमा उत्तिर्ण भएका छन् । भुम्लु गाउँपालिकामा १० वटा विद्यालयबाट १ सय ९५ विद्यार्थी सहभागी भएकोमा ६३ जना मात्रै उत्तिर्ण भएका छन् । ८ वटा विद्यालयका १ सय ३२ जना गणित विषयमा अनुत्तिर्ण भएका छन् । सेतिदेवी मावि र वनदेवी माविमा भने उक्त विषयमा सबै विद्यार्थी उत्तिर्ण भएका छन् । शारदा माविबाट ११ मध्ये १० विद्यार्थी उत्तिर्ण भएका छन् । दुलालेश्वर माविमा ३५ जना मध्ये ३४ जना विद्यार्थी उक्त विषयमा फेल भएका छन् । भुम्लुका सबै विद्यालयमा विद्यार्थीहरु कमजोर देखिएका छन् ।
मण्डनदेउपुर नगरपालिकाका १४ विद्यालयका ३ सय ३८ विद्यार्थी मध्ये २ सय २८ जना उत्तिर्ण भई १ सय १० जना अनुत्तिर्ण भएका छन् । सबै विद्यालयबाट विद्यार्थी अनुत्तिर्ण छन् । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु गणित विषयमा अनुत्तिर्ण भएका छन् । सामुदायिक विद्यालयबाट धेरै विद्यार्थी अनुत्तिर्ण छन् । पाँचखाल नगरपालिकाबाट १६ विद्यालयबाट ४ सय ८९ विद्यार्थी सहभागी भएकोमा २ सय ५१ जना उत्तिर्ण भएका छन् । २ सय ३८ जना अनुत्तीर्ण छन् । नमस्ते बोर्डिङ्ग स्कुल बाहेक सबै विद्यालयका विद्यार्थीहरु अनुत्तिर्ण छन् । नमोबुद्ध नगरपालिकाका १४ वटा विद्यालयबाट ३ सय ३८ विद्यार्थी सहभागी भएकोमा १ सय २४ जना अनुत्तिर्ण भएका छन् । सबै विद्यालयका विद्यार्थीहरु उक्त विषयमा अनुत्तिर्ण छन् । श्रीराम मावि मेथिन्कोटबाट १० जना विद्यार्थी सहभागी भएकोमा सबै अनुत्तिर्ण भएका छन् । अधिकांश पालिकामा रहेका विद्यालयहरुले यो वर्षको एसईई परीक्षामा गणित विषयमा कमजोर प्रतिशत देखिएको छ ।









