2026 August 22/ 09:22: 43am

रोशीमा तीन जनालाई खोलाले बगायो
    धुलिखेल/सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेबाट २० जनाको टोली उद्धारमा खटिएको छ । नेपाल प्रहरी भने २४ सै घण्टा खटिएको छ । सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र खड्काको कमाण्डमा आवश्यक विपद उद्धार सामाग्री सहित २० जनाको टोली जिल्लाको विभिन्न स्थानमा खटिएको हो । विपी राजमार्ग स्थित चिउरीबास, भ्याकुरे, लास्कोट, कालढुंगा क्षेत्रमा अविरल वर्षाका कारण ढुंगा, पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको तथा हुन सक्ने सम्भावित विपद् सम्बन्धी घटनाहरुको स्थलगत अनुगमन, अन्य सरोकारवाला निकायसँग समन्वय तथा उद्धारका लागि टोलि खटिएको हो । 
    यता, धनेश्वर मन्दिर नजिकै रहेको सुरक्षण मुद्रण प्रेस बनिरहेको भवनसँगै सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेको मनसुनजन्य विपद उद्धार अस्थायी वेश बसेको छ । असार २ गते देखि पनौती नगरपालिका वडा नम्वर ५ स्थित साविकको आईटी पार्क हालको सुरक्षण मुद्रण प्रेस रहेको भवनमा सशस्त्रको टोली बसेको हो ।
    नेपाली सेनाको कालीजंग गण पनि विपद् पछिको उद्धारका लागि जनशक्ति र सामाग्री सहित तयारी अवस्थामा रहेको छ । सशस्त्रको टोलीले बनेपा आसपास तथा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा हुने मनसुन विपदमा उद्धार गर्नेछ । सशस्त्र प्रहरी निरीक्षक विदुर कार्कीको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीहरुको उद्धारका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सहितको टिम तयारी अवस्थामा रहेको छ । सशस्त्र प्रहरीले जनशक्ति सहित आवश्यक पर्ने उद्धारका सामाग्रीहरु पनि तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख र संचालन हुने गरी अस्थायी क्याम्प उक्त स्थानमा बस्न शुरु गरेको हो । पाँचखालमा रहेको हेडक्वाटरबाट उद्धारका लागि खटिनु पर्दा सडक र दुरीका हिसाबले समेत कठिनाई भएकाले सुरक्षण मुद्रण प्रेसमा अस्थायी क्याम्पका रुपमा बस्नु परेको सशस्त्र प्रहरीले बताएको छ । 
    प्रहरीले मनसुनजन्य विपद्का लागि टोल फ्रि नम्वर १११४ उपलब्ध गराएको छ । शुक्रबार देखि परेको अविरल वर्षात्बाट आएको बाढीका कारण शनिबार साँझ रोशी गाउँपालिका वडा नम्बर ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । साँझ ७ बजे रोशी गाउँपालिका ११ की ६५ वर्षीय जालमाया रुचाल मगर र उनको भदैनी अन्दाजी ५ वर्षीय सेतिमाया रुचाल मगर खोला तर्दै गर्दा बगेका थिए । करिब ९ सय मिटर तल दुबै जना मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यसैगरी रोशीमा अर्काे एक पुरुषलाई पनि बगाएको छ ।