मोतीराम तिमल्सिना
धुलिखेल
२०६४ साल देखि २०६६ सालसम्म भएको जग्गा किनबेच सम्वन्धी अनियमित प्रकरणको १५ वर्ष पछि छानविन शुरु गरिएको छ ।
तत्कालिन समयमा स्थानीयले विरोध गरे पछि प्लटिङ्ग र माटो विक्री रोकिएको पतञ्जली योग पिठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा खरिद र विक्री गरिएका जग्गाहरुको नियत र कानूनका बारेमा उठेका प्रश्नका विषयमा संसदको लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआईबी मार्फत छानविन शुरु भएको छ । तर पतञ्जलीले खरिद गरेका जग्गा हाउजिङ्ग कम्पनीलाई विक्री गरी माटो निकाल्न शुरु भए पछि मात्रै स्थानीयले आफु ठगिएको चाल पाएका थिए । ‘आयुर्वेद अस्पताल, गाई फार्म लगायतका संरचना निर्माण गर्न सस्तो दररेटमा विक्री गरिएको जग्गा हाउजिङ कम्पनीलाई विक्री भएको थाहा पाए पछि साँगाका स्थानीयले जग्गा फिर्ताको माग गर्दै हाउजिङ्ग कम्पनीको माटो निकाल्ने कार्य अवरोध गरेका थिए’–स्थानीयले भने । जग्गा खरिद तथा विक्री गर्न अनुमति दिने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल हुन् । उनै नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको जग्गा पनि ब्यक्तिका नाममा गर्ने निर्णय भएको थियो । अन्यलाई कारवाही भए पनि यसअघि पनि नेपाललाई कुनै खालको कारवाही भएको थिएन ।
पतञ्जली आयुर्वेद कलेजका कार्यक्रममा हरेक समय माधव नेपाल नै प्रमुख अतिथी हुने गरेका छन् । २०६६ माघ १८ गते हदवन्दी नाघेर खरिद गरिएका जग्गाहरुलाई बैधानिकता दिदै ५ सय ५७ रोपनी खरिद गरिसके पछि काभ्रेपलाञ्चोक जिल्लामा मात्रै ८ सय १५ रोपनी खरिद गर्न दिने निर्णय माधवकुमार नेपालको मन्त्रीपरिषद्ले गरेको थियो । ३ सय १२ रोपनी विक्री गरे पछि पुनः उनै प्रधानमन्त्री नेपालले डेढ महिनाको अवधीमा २०६६ चैत्र ६ गते विक्रीको अनुमति दिए । ‘कुन स्वार्थले माधव नेपालको मन्त्रीपरिषद्ले उक्त निर्णय ग¥यो भन्न सकिदैन’–अनुसन्धानमा संलग्न एक अधिकृतले भने–‘कानून विपरीत जग्गा खरिद गरेर विक्री गर्ने तयारीमा हदबन्दी भन्दा धेरै किन्ने निर्णय गराउने र किन्ने निर्णय भएको डेढ महिनामा नै विक्री गर्ने निर्णय गराउने पहुँच भएका भू–माफियाको चंगुलमा प्रधानमन्त्री नेपाल कसरी परे ?’ ब्यक्ति वा कम्पनीले नेपालको कानून अनुसार ७५ रोपनी भन्दा धेरै जग्गा खरिद गर्न पाउने छैन । त्यो भन्दा धेरै खरिद गर्नु परेको अवस्थामा प्रयोजन खुलाएर विक्री वितरण गर्न नपाईने शर्तमा उद्देश्य सहित खरिद गर्न सक्ने कानूनी ब्यवस्था छ ।
२०६६ माघ १८ गते बसेको मन्त्रीपरिषद बैठकले हदबन्दी छुट प्राप्त गरी दाङ जिल्लामा ७५ विगाहा, लमजुङ जिल्लामा ३ सय रोपनी, काठमाडौ उपत्यका भित्र १ सय ५० रोपनी, स्याङजा जिल्लामा २ सय ५० रोपनी, काभ्रेपलाञ्चोक जिल्लामा ८ सय १५ रोपनी, चितवन जिल्लामा १५ विगाहा, धनुवा जिल्लामा २५ विगाहा, बारा र पर्सा जिल्लामा ४० विगाहा जग्गा खरिद गर्न र त्यसरी खरिद गरिएको जग्गा बेचविखन गर्न नपाउने गरी स्वीकृत प्राप्त गरेको थियो । तर काभ्रेपलाञ्चोक जिल्लामा उक्त निर्णय हुनु अगावै २०६४ सालबाट २०६६ सालसम्म ५ सय ५७ रोपनी जमिन खरिद गरिएको थियो । ८ वटा जिल्लामा बाहेक पतन्जली योग पिठ तथा आयुर्वेद कम्पनीका नाममा जग्गा खरिद विक्री भएको आशंका भूमि ब्यवस्थापन तथा अभिलेख विभागले गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेख अनुसार काठमाडौं महानगरपालिका–७ बौद्ध ठेगाना राखेर २० पुस २०६४ मा दर्ता भई हाल उक्त कम्पनीमा योगी रामदेव, बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफ सञ्चालक छन् । नेपालमा पतञ्जलीका सबै कारोबारमा पतञ्जली नेपालका तर्फबाट शालिग्राम सिंहले काम गरिरहेका छन् । २०६६ मा हदबन्दी छुटमा जग्गा किन्दा र बिक्री गर्दा पनि उनीमार्फत नै कारोबार भएको अखिलेखबाट खुलेको छ । उक्त कम्पनीका नाममा काभ्रेको साविक चलालगणेस्थान गाविस हालको बेथान्चोक गाउँपालिकामा ३१ कित्ता २ सय ३८ रोपनी ५ आना ३ पैसा २ दाम र नासिका साँगा गाविस र महेन्द्रज्योती गाविसमा ९४ कित्ता ३ सय १२ रोपनी १५ रअ आना १ पैसा ३ दाम जग्गा खरिद गरेका थिए । खरिद गरिएको ५ सय ५७ रोपनी मध्ये महेन्द्रज्योती र साँगा तर्फको ३ सय १२ रोपनी १५ आना जग्गा विक्री गरिसकिएको छ । त्यसलगत्तै हाल धुलिखेल ३ मिरावेल होटल तल साविक श्रीखण्डपुरका नाममा ३६ कित्ता ८८ रोपनी खरिद गरिएको छ । ३ सय १२ रोपनी १५ आना १ पैसा ३ दाम जग्गा २०६७ असार २१ देखि २०६७ साउन ५ सम्म विक्री गरिसकिएको छ । उक्त जग्गा ३ करोड ३८ लाख रुपैयाँमा खरिद गरिएको जग्गा ३३ करोड ६४ लाख ४० हजार ७१ रुपैयामा विक्री गरेको देखाएको छ । धुलिखेलमा खरिद गरिएको ८८ रोपनी जग्गा र त्यहाँ भएका संरचनाहरु ८५ लाखमा खरिद गरिएको नक्कली कागजात तयार गरिएको छ । जबकी धुलिखेल सदरमुकाम जहाँ पतञ्जली योग पिठ तथा आयुर्वेदले जग्गा खरिद गरेको छ उक्त स्थानमा १ लाख रुपैयाँ रोपनीमा जग्गा पाउन सम्भव नै छैन । रोपनीमा हैन आनाको १ लाख रुपैयाँमा पनि जग्गा नपाउने स्थानमा कम दरमा जग्गा खरिद गरिएको देखाईएको छ ।
पछिल्लो समय हदबन्दी छुटको जग्गा कसरी विक्री भयो ? विक्री र खरिद विचको लाभांश, राजश्व छली, ग्रैह्कानुनी कारोवारका विषयमा सम्वन्धित निकायले छानविन गरिरहेको मालपोत कार्यालय काभ्रेले जानकारी दिएको छ । अहिले पतञ्जली योग पिठ तथा आयुर्वेद कलेजका नाममा भवन बनिरहेको छ । केहि वर्ष देखि आयुर्वेद सम्वन्धी अध्ययन पनि भईरहेको छ । कानुन विपरीत पतञ्जलीले बनेपाको जग्गा हाउजिङ कम्पनीलाई बिक्री गरी पतञ्जली उद्योगका लागि धुलिखेलमा ८८ रोपनी मात्रै किनेको छ । संसद्को लेखा समितिले पतञ्जलीले हदबन्दी छुट जग्गा कानुन बमोजिम भोगचलन वा प्रयोग गरे नगरेको सम्बन्धमा छानबिन गर्न सरकारसँग सबै विवरण माग गरेको छ । लेखा समितिले भूमि व्यवस्था मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ, ‘प्रस्तुत विषयमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले हदबन्दी छुट पाएको ३ सय ५३ रोपनी अपचलन भन्ने विषयमा के–कसो भएको हो ? पतञ्जली योगपीठको कुल जग्गा कति हो ? जग्गा खरिद र बिक्रीको प्रयोजन के हो ? उक्त जग्गाको हालको अवस्था साथै उक्त जग्गा खरिद र बिक्रीसम्बन्धमा मन्त्रालयबाट तत्कालीन समयमा भएका निर्णयहरूलगायत सम्पूर्ण विवरण तथा कागजातहरू समितिको अध्ययन प्रयोजनका लागि उपलब्ध गराइदिनु हुन सभापतिको निर्देशानुसार अनुरोध छ ।’ देशभर हदबन्दी छुट दिईएका जग्गाको विवरणको पनि खोजबिन गरिने र कानुनविपरीत कसैले जग्गा अपचलन गरेको भेटिए कारबाहीको दायरामा ल्याउन समितिले सोही अनुसार छानबिन गर्ने बताएको छ ।
पतञ्जलीले हदबन्दी छुट जग्गा दुरुपयोग गरेको भन्दै सरकारबाटै गठित छानबिन समितिले पनि कारबाही सिफारिस गरेको छ । तर, उक्त प्रतिवेदन सरकारले गुपचुप राखेको छ । हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा किनबेच गरेको डेढ दशकपछि २०८० कात्तिकमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले छानबिन गर्न भक्तपुरका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारी, मालपोत अधिकृत वेदप्रसाद खतिवडा र नासु यदुनाथ आचार्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले पतञ्जलीले हदबन्दी छुट जग्गा अपचलन गरेको भन्दै यसमा अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिएको थियो । तर, प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । न त गैरकानुनी काममा संलग्नमाथि नै कारबाही अघि बढाइएको छ ।









