2026 August 23/ 12:17: 39pm

मोतीराम तिमल्सिना
धुलिखेल

    मान्छेको आयु कति ? जिल्ला र प्रदेश अनुसार फरक फरक कायम भएको छ । केहि वर्ष अघिसम्म त मान्छेको औषत आयु धेरै कम थियो । अहिले केहि बढेको छ । तर यहाँ मान्छेको सरदर औषत आयु भन्दा धेरै रुखको उमेर कायम भएको छ । प्रहरीले प्राप्त सिप, क्षमता, श्रोत र साधनका माध्यमबाट नयाँ खालको अनुसन्धान गरेको बताएको छ । 
    जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन्–‘हामी विल्कुल नयाँ खालको अनुसन्धानमा होमिएका थियौं । संलग्न ब्यक्ति को भन्ने भन्दा पनि उसले गरेको अपराध, अपराध पछिका घटना क्रमलाई लिएर उठ्न सक्ने प्रश्नको हल गर्ने गरी अनुसन्धान सकायौ ।’ एउटा रुखको बाँकी आयु ६० बर्ष रहेको प्रति बर्ष ९० लाख रुपैयाँका दरले हुन आउने बिगो ५४ करोड रुपैयाँ अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३१ बमोजिम हाल भएको क्षति र भविष्यमा हुने क्षति, मर्मत गर्दा लागेको खर्च समेत क्षतिपूर्तिको दावी ५४ करोड ९९ लाख ७ सय ८० बिगो कायम गरेको छ । उक्त विगो कायम गराउँदा घटनामा संलग्न ब्यक्तिहरुको सम्पत्ति छानविन गर्न र सम्पत्ति शुद्धिकरण आयोगले खरिद र विक्री गर्ने दुबैको सम्पत्ति विवरण जाँच गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारी वकिलको कार्यालय काभ्रेले नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग फरेन्सिक डिजिटल ल्याब नक्साल, काठमाडौं, चितवन जिल्ला प्रहरी कार्यालयबाट परीक्षणको प्रतिवादी मध्येका विश्वनाथ चौधरीको मोबाइलको परीक्षण प्रतिवेदनमा प्रमाणमा लाग्ने थप कुरा बुझाएको छ । जाहेरी दरखास्तमा उल्लेखित सत्यम लिम्बु र विश्वनाथको बयानमा रुख काट्ने निर्णयको निर्णय पुस्तिका र प्रेश बिज्ञप्ती तयार गर्ने कार्यमा सहयोग गर्ने केवी मल्लको एकिन वतन सहितको परिचय खुल्न नआएको हुँदा निजहरुको हकमा एकिन वतन खुली आएका बखत वा पक्राउ परी आएका बखत वा प्रस्तुत वारदातमा कोही कसैको संलग्नता देखिन आएमा सोही बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दावी लिने व्यहोरा अनुरोध गरेको छ । 
    सोहि मुद्दामा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डिङग) ऐन, २०६४ बमोजिम अनुसन्धान जारी भईरहेको, धिरज भन्ने श्यामकृष्ण मैनाली र प्रभात भन्ने दुर्गाबहादुर तामाङको हकमा प्रमाणको अभावमा हाल मुद्दा नचलाउने निर्णय भएको उक्त निर्णय निकासाको लागी उच्च सरकारी वकिल कार्यालय पाटन, ललितपुरमा पठाईएको, मानबहादुर तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्यामकृष्ण मैनाली भएको डाँका सम्बन्धी कसूर मुद्दामा, प्रतिवादी सागर भन्ने रामकृष्ण मैनाली र धिरज भन्ने श्यामकृष्ण मैनालीका हकमा मुलतलवीमा रहेको देखिँदा धिरज भन्ने श्यामकृष्ण मैनालीलाई मात्रै उपस्थित गराईएको थियो । अर्का प्रतिवादी सागर भन्ने रामकृष्ण मैनालीको हकमा पक्राउ परी आएका बखत उक्त डाँका मुद्दामा समेत बयान गराउन माग गरिएको थियो । वारदात स्थलको सिसिटिभी फुटेजमा हातहितयार जस्तो देखिने बस्तु प्रयोग गरिएको देखिएको हुँदा उक्त बस्तु बरामद नभएको हातहतियार हो भन्ने एकिन नभएकोले हातहतियार तर्फ अनुसन्धान भई एकिन भएका बखत सो तर्फ समेत थप अभियोजन गरिने बताईएको छ । दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चिज वस्तु, घटनास्थलमा खिचिएको भिडियो पेन ड्राईभ, दोभाषे सहितको स्क्रिन रेकर्ड श्रव्य अभिलेख उल्लेख गरिएको छ । घटनास्थलमा फेला परेको जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट, फुटेको अवस्थाको ताल्चा, नेपाल कम्युनिष्ट पार्टीको झण्डा, मट्टितेल जस्तो तरल पदार्थ भरिएको जम्बो वोतल, भाटा, बिस्फोटक पदार्थ डिस्पोज पश्चात परिक्षण भई प्राप्त भएको अवशेष लगायत फेला परेका थिए । सरकारी वकिलको कार्यालयले उक्त घटनालाई पूर्णत राजनीतिकरण गराई दोषिहरुलाई उम्कन सहज हुने बाटो बनाएको तथ्यहरुले देखाएका छन् । पीडितहरुले उनै सरकारी वकिल माथी अनुसन्धानको माग गर्दै न्याय परिषद्मा उजुरीको तयारी गरेका छन् । प्रहरीले बरामद गरेका मोबाईल र त्यसका कल रेकर्डका आधारमा तयार गरेका प्रमाणहरु भने सरकारी वकिल कार्यालयबाट केहि ब्यक्तिका हकमा नष्ट गरिएको छ । प्रहरीले बुझाएका प्रमाणहरु नष्ट गराउँदै दुई जनालाई मुद्दा नचलाउने निर्णय गरेको हो । प्रतिवादी सिजन भन्ने मानबहादुर तामाङले प्रयोग गर्ने गरेको मोवाईलका आधारमा पनि प्रहरीले धेरै प्रमाण संकलन गरेका थियो । देख्ने र सुन्ने मानिसहरुका आधारमा पनि प्रहरीले प्रमाण तयार गरेको थियो । चाईनिज ब्यापारीसँग कुराकानी भएको विई च्याटका संवादहरु पनि प्रमाणका रुपमा संकलन भए पनि अदालतमा पेश भएनन् । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकले सिजन भन्ने मानबहादुर तामाङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । उक्त आदेश विरुद्ध मानबहादुर उच्च पुगेका छन् । तर पनि जिल्लामा भएको संगठित अपराध, अपराधमा संलग्न ब्यक्तिहरुको पक्राउ तथा अनुसन्धानका बारेमा भने अझै आम नागरिकहरुले पत्याउन सक्ने खालको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । हरेक वर्ष बुद्धचित्तका नाममा हुने अपराध तथा लेनदेनका बारेमा जिल्लाबासीहरु सशंकित र त्रसित छन् । बुद्धचित्त रुख धनी निरबहादुर तामाङले काटिएको रुखको क्षतिपूर्ति बापत प्रतिवादीबाट तीस करोड भराई पाउँ भनी जाहेरी दरखास्त दिएका थिए । जाहेरवाला समीप त्रिपाठीले क्षतिपूर्ति बापत पाँच करोड चालीस लाख दावी गरेका थिए । रुख काटे पश्चात कलमी गर्दा तीन लाख खर्च लागेको हुँदा उक्त रकम समेत प्रतिवादीबाट भराई पाउँ पाउन माग गरेका थिए । रुखको दानाको मूल्य सम्बन्धमा सरकारबाट हालसम्म मुल्य नतोकिएको भन्ने डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ । रोशी गाउँपालिकाको पत्रमा उक्त रुखको दानाको मुल्य बापत गत बर्ष ९० लाख बिगो कायम गरी सोही अनुपातमा राजश्व लिएको तथ्य छ । जग्गाधनी मध्येका वीरबहादुर तामाङले कागज गर्दा ५ बर्षको रुख सहित २५ बर्ष अगाडी उक्त जग्गा खरिद गरेको उल्लेख गरेका छन् । उक्त रुख हाल ३० बर्षको रहेको जग्गाधनीहरुले बयान गरेका छन् । वडा अध्यक्ष निरध्वज लामा समेतले रुखको आयु नव्वे बर्ष रहेको हाल उक्त रुख ३० बर्षको भएको अव साठी बर्षसम्म बाँच्न सक्ने भएकाले प्रति बर्ष नव्वे लाख रुपैयाका दरले हुन आउने रकम नोक्सान भएको भन्ने कागज गरेका छन् । पीडित प्रभाव प्रतिवेदनमा जाहेरवाला समिप त्रिपाठीले दिएको नगद पचास लाख र क्षति भएको ४६ लाख सात सय असी गरी जम्मा ९६ लाख सात सय असी जाहेरवाला समीप त्रिपाठीलाई भराई दिन माग गरिएको छ ।