2026 August 22/ 09:22: 44am

    भुम्लु/रोटरी क्लव अफ कमलादी काठमाडौले काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका स्थित सेतिदेवी मावी चौवासमा बालबालिकाहरुका लागि खेलकुद सामाग्री,स्वास्थ्य शिक्षा तथा क्यारियर काउन्सिलिङ्ग गरेको छ ।
    क्लबका अध्यक्ष शेरबहादुर कुँवरले बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिन चिकित्सकहरुले दिएको सल्लाह सुझाबलाई व्यबहारमा उतार्न अनुरोध गरे । रोटरी क्लबले गर्ने सामाजिक कृयाकलाप अन्तर्गत विद्यालयमा खेलकुद सामाग्रीका साथ दाँत र मुखको स्वास्थ्यका बारेमा जानकारी गराएको उनले बताए । कार्यक्रममा दाँत र मुखको स्वास्थ्यका बारेमा डा.आयुष खरेलले बालबालिकाहरुलाई जानकारी गराएका थिए । बालबालिकाहरुले हरेक दिन दाँत सफा गर्दा रोग नलाग्ने तर दाँत सफा नगर्दा लाग्ने रोग र त्यसबाट उत्पन्न हुने समस्याका बारेमा उनले जानकारी गराएका थिए । मुख शरीरको मुख्य अंग भएकाले शरीरमा स्वस्थ खानेकुरा र मुखलाई स्वस्थ राख्न उनको सुझाव छ । स्वस्थ मुख स्वस्थ जीवन रोटरीको अभियान रहेको उनले बताए । 
    निवर्तमान डिस्ट्रिक गभर्नर राजिव पोखरेलले क्यारियर काउन्सिलिङ गराएका थिए । बालबालिकाहरुलाई भविष्य उज्ज्वल बनाउन आत्मविश्वास बढाउन उनले सुझाव दिए । कार्यक्रममा विद्यार्थीहरुले राखेको जिज्ञासाका बारेमा सहभागिहरुले प्रष्ट बनाउँदै बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि आत्मविश्वास हुनुपर्ने बताए । रोटरी क्लब कमलादीका तर्फबाट बालबालिकाहरुका लागि भलिबल नेट २ थान, भलिबल २ थान, फुटबल ३ थान, स्किपिङ ३ थान, ब्याडमिन्टन ३ थान, चेस बोर्ड २ थान, लुडो ४ थान, कक २ थान, क्यारेमबोर्ड १ थान, म्युजिक सिस्टम स्पिकर १ थान, मल्टि प्लग एक थान र डेन्टल किट सेट १ सय ५० थान उपलब्ध गराईएको थियो । कार्यक्रममा रोटरीका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकबहादुर कँुवर, विद्यालयका प्रधानाध्यापक सरस्वती रायमाझी कुवँर, रोटरीका सुशिला कुँवर, संगिता कुँवर, कृष्ण खरेल, युवक गौतम, सुमी लामा, यादव खरेल, सुदर्शन गिरी, विवेक रावल, बाबुराम कार्की लगायतको सहभागिता रहेको थियो ।