2026 August 22/ 09:22: 34am

    महाभारत/जिल्लाको विकट महाभारत गाउँपालिकामा पहिलो पटक विजुली बत्ति पुगेको छ । बत्ति मुनिको अँध्यारो भने जस्तै सदरमुकामबाट केहि किलोमिटर टाढा रहे पनि हालसम्म विजुली बत्तिको केन्द्रीय प्रसारण लाईन पुग्न सकेको थिएन । सडक, शिक्षा, विजुली, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता समेत पुरा हुन नसकेका विकट पालिकाहरु स्थानीय संरचनासँगै सुगम बन्न थालेका छन् । त्यसको नमूना महाभारत गाउँपालिका भएको छ । 
    गाउँपालिकाका ३ हजार ४ सय १७ घर धुरीले विहिबारबाट विजुली बत्तिको उपभोग गर्न पाएका छन् । जिल्लाको खानीखोला गाउँपालिका अझै पुर्ण विद्युत्तिकरणबाट बञ्चित छ । एकै पटक दुबै पालिकामा शुरु भएको आयोजना बजेट अभाव, कोरोना महामारी तथा विकटताका कारण समयमै सम्पन्न हुन नसकेको हो । उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रतिनिधी सभा सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा उक्त सेवाको प्रारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकारले नेपालका सबै नागरिकहरुको घरमा सहज रुपमा विजुली बत्ति पु¥याउने योजना सफल हुँदै गएको बताए । 
    कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विजुली निर्यात गर्न लागेको बताउँदै विजुलीको उपभोग बढाउन, लागत कम गर्न र निर्यात मार्फत मुलुक समृद्धी बनाउन प्रयत्न जारी रहेको बताए । विकटतामा पनि अति विकट मानिएको महाभारत गाउँपालिका विद्युत्तको केन्द्रीय प्रसारण लाईनसँग जोडिएर उज्यालोमा बस्न पाउँदा हर्षित भएको अध्यक्ष जिम्बाले बताए । ‘सामान्य भन्दा सामान्य आवश्यकताका लागि पनि बत्तिको आवश्यकता थियो, विकासको नयाँ युगमा प्रवेश गर्दा समेत गाउँपालिकाका नागरिकहरु अन्धकारमा बस्न बाध्य थिए’–अध्यक्ष जिम्बाले भने–‘संघीयताले विकासको नयाँ मुहार फेर्न सफल भएको छ । तीन तहका सरकार निर्माण पछि शुरु भएको महाभारत उज्यालो यात्राको क्रमले सफलता पाएको छ ।’ महाभारत गाउँपालिकाका ३४ सय १७ घर धुरी पहिलो पटक पूर्ण रुपमा विद्युत्तिकरण भएका छन् । पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो । पछिल्लो ठेक्कामा ४३ करोडमा सम्झौता भएको थियो । महाभारतमा मात्रै ५० करोड भन्दा धेरै खर्च पुर्ण विद्युत्तिकरणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ ।
     ‘२०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु गंगाबहादुर दोङ्ग, गोकुलप्रसाद बास्कोटा, रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेल लगायतलाई महाभारत पु¥याएर डाँडापारीका समस्या लिपिबद्ध गरेर बुझायौं’–गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भने–‘महाभारत र खानीखोलाबासीलाई बत्तिको अँध्यारोबाट मुक्त गरी उज्यालोमा बस्न पाउने अधिकारको प्रत्याभुति गर्ने प्रतिबद्धता तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले ग¥यो । नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो ।’ रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भयो । तर पनि कोरोना महामारी तथा विविध कारण कार्य सम्पन्न हुन सकेको थिएन । जेठ ३१ गते विहिबारबाट महाभारतका पूरै वडाका सबै घरधुरीमा पहिलो पटक मिटर जडान गरी विद्युत्त उपलब्ध गराईएको छ । 
    ‘गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको थियो’ – गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने – ‘बाँकी रकम स्वयम् घरधनीले ब्यहोर्ने गरी हरेक घरधुरीमा मिटर जडान गरी वायरिङ्गको कार्य सकियो । नियमित परिक्षण पनि सकिए पछि उद्घाटन गरिएको हो ।’ केन्द्रिय प्रसारण लाईन नभएका कारण महाभारतमा उद्योग कलकारखाना संचालन हुन सकेका थिएनन् । लघु जलविद्युत, सोलार तथा अन्य वैकल्पिक उपायबाट रातको समयमा उज्यालो देखिने गरेको थियो । भुकम्प पछि सोलारको प्रयोग बढेको थियो । त्यसअघि लघुजलविद्युत आयोजना संचालन भए पनि दिगो रुपमा संचालन हुन सकेका थिएनन् । मोबाईल टावरका लागि पनि सोलारका कारण असहज भएको थियो । घाम नलागेको समयमा मोबाईल नेटवर्क हुँदैन थियो भने स्थानीयहरुलाई अन्य कार्यका लागि बत्ति नहुँदा असहज हुँदै आएको स्थानीयहरुले बताए । राजमार्ग निर्माण, पुल तथा अन्य पूर्वाधार निर्माणले विस्तारै फड्को मार्दै गएको महाभारतका नागरिकहरुले उत्पादन सहज रुपमा बजार पु¥याउन सक्दा आर्थिक रुपले समेत सम्पन्न हुँदै जाने सहभागिहरुले बताए । 
    सबै घरमा विजुली, खानेपानी तथा स्वास्थ्य, शिक्षा र सडक सहितकाका पूर्वाधार पु¥याउने गरी कार्य भईरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टले बताए । विकट भएका कारण धेरै कुराको अभाव भएकाले स्थानीय सरकार निर्वाचित भए पछि विकासका आधारभुत आवश्यकता पुरा हुन थालेको विष्टले बताए । निरन्तरको सक्रियताका कारण गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा सहितको स्थानीय सरकार, स्थानीय नागरिक तथा नेपालका सरकारका विभिन्न तहका जिम्मेवारी ब्यक्तिहरु, जिल्लाका जनप्रतिनिधिहरुले महाभारतलाई उज्यालो बनाउने अभियानमा साथ दिएकोमा अध्यक्ष जिम्बाले धन्यवाद दिए । उनी दोश्रो पटक पनि गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् । महाभारतसँगै शुरु भएको खानीखोला गाउँपालिकामा पनि धमाधम विद्युत्तिकरणको काम भईरहेको छ । केहि महिना भित्रै खानीखोला पनि पूर्ण विद्युत्तिकरण हुने अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।