2026 August 23/ 08:21: 04pm

    धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले सोमबार साँझ नेकपा एकीकृत समाजवादी तेमालका नेता मानबहादुर तामाङ उर्फ सिजनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश ग¥यो । उनका भतिज सुर्यबहादुर लामा पार्टीका तेमालका जिम्मेवार नेता हुन् । उनै मार्फत मानबहादुरलाई रोशी गाउँपालिकामा काटिएको बोधिचितको रुख, त्यहाँ राखिएका विस्फोटक पदार्थ तथा अन्य अपराधमा जोगाउन जिल्ला, प्रदेश र केन्द्रका नेताहरु मार्फत पार्टी अध्यक्ष माधव नेपालको घरमा पटक पटक पुगे । तर पनि अदालतले प्राप्त प्रमाणका आधारमा उनलाई पुर्पक्ष पठाउने आदेश दियो । माधव नेपालको पार्टी पनि पनि सत्ता समीकरण संलग्न छ । उनको आदेशमा प्रहरी, सरकारी वकिल कार्यालय र अदालत टसमस भएनन् । 
    सोहि प्रकरणमा संलग्न माओवादी नेता तथा पूर्व जनमुक्ति सेनामा समेत कृयाशिल, पछिल्लो समय विभिन्न पेशा ब्यवसायमा समेत संलग्न दुर्गालाल लामा उर्फ प्रभातलाई भने नेकपा माओवादी केन्द्रका नेताहरु कसुर नै कायम नगराउने गरी सफाई दिन सफल भए । प्रभातले चाईनिज ब्यापारी याङ कैलिङसँग गरेको वार्तालाप लगायतका विभिन्न प्रमाणहरुका बाबजुत पनि कसुर कायम नगराउन माओवादीका जिल्ला तह देखिका नेताहरुको सक्रियता फलिफाप भयो । तर समाजवादीका नेताहरुले सिजन भन्ने मानबहादुर तामाङलाई छुटाउन सकेनन् । नेताहरुको घरमा खेलेको देउसी सत्ताकै कारण माओवादीलाई सहज भयो भने समाजवादीलाई असहज भयो । महान्यायाधिबक्ताको कार्यालयबाट समेत कसुर प्रमाणित नगराउन प्रहरी कार्यालय र सरकारी वकीलको कार्यालयलाई दबाब दिईएको अभियोग पत्रबाट पुष्टी हुन्छ । पहिले दोश्रो नम्वरमा रहेका दुर्गालाल तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीको नाम हटाएर तेश्रो नम्वरमा विजय हुमागाईको सजायँ माग दावी गरिएको छ । सरकारी वकील कार्यालयले १ नम्वर पछि एकै पटक ३ नम्वरको अभियुक्तलाई हुनु पर्ने सजायँ माग दावी गरेको छ । दोश्रो नम्वरमा राखिएका ब्यक्तिहरुको नाम र अभियोग, मागदावी नै डिलेट गरिएको छ । यसले पनि सबैको मिलेमत्तोमा देउसी सफल भएको प्रष्ट हुन्छ । 
    ५४ करोड ९९ लाख ७ सय ८० रुपैयाँ क्षतिपूर्ति मागदावी गरिएको काभ्रेपलाञ्चोक जिल्लाको चर्चित अपराधिक घटनामा संलग्न अभियुक्तहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयले फरक फरक अभियोजनमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ परेका मुख्य योजनाकार सिजन भन्ने मानबहादुर तामाङ र पार्टीगत जिम्मेवारी लिने विश्वनाथ चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । तिनै मानबहादुर तामाङले २०७६ साल देखि मालामा विवाद गर्दै आएका थिए । उनकै योजनामा अष्ट्रेलिया रहेका कविन्द्र तामाङ र छिमेकी देश चीनमा रहेका याङ कैलिङलाई रुख काट्नु केहि दिन अघि नेपाल झिकाएका थिए । रुख काट्ने योजना बनाउँदै प्रस्ताव समेत लगेका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ सहभागि थिए । जिल्ला सरकारी वकीलको कार्यालयले पक्राउ परेका दुर्गालाल तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीलाई ५८ दिन हिरासत राखेर कसुर कायम हुन नसकेको ठहर गर्दै रिहा गरेको छ । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको उक्त निर्णय शक्ति, सत्ता र कानूनका धज्जी उडाउँदै ब्यक्तिगत स्वार्थमा लिप्त भएको टिप्पणी गरिएको छ । उक्त निर्णय विरुद्ध माथिल्लो निकायमा जाने तयारी गरेको जाहेरवाला समिप त्रिपाठीले बताए । तथ्य, प्रमाण र उपलब्ध अनुसन्धानमा भेटिएका सबुदका आधारमा पक्राउ गरिएका सबै ब्यक्तिहरु उक्त घटनामा योजनाका रुपमा संलग्न भएको देखिन्छ । तर पनि जिल्ला सरकारी वकीलको कार्यालयले कसुरदार नै नदेख्नुको पछाडी के छ रहस्य ? ५७ दिन हिरासतमा रहेका ब्यक्तिहरुको कसुर नै नदेखिएको आधार के हो ? जिल्ला न्यायाधिवक्ता पौडेल भन्छन – ‘रोशी गाउँपालिका वडा नम्वर ५ बस्ने निरबहादुर तामाङ समेतको जाहेरीका आधारमा पक्राउ गरिएका मध्ये प्रतिवादी प्रभात भन्ने दुर्गालाल तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीको संलग्नता देखिएन । उनिहरुको संलग्नता नदेखिएकाले कसुर कायम गर्न कानुनतः मिलने ।’ यति लामो समयमसम्म हिरासतमा राख्नु पर्ने बाध्यता के हो ? पौडेल भन्छन्–‘त्यो अनुसन्धानको विषय हो । मुद्दाको प्रकृतिका आधारमा ब्यक्तिलाई हिरासतमा राख्न सक्ने ब्यवस्था छ । कसुर नदेखिए पछि दुई जनालाई अभियोग दर्ता नगरिएको हो ।’ प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा दुर्गालाल तामाङ र श्यामकृष्ण मैनालीको संलग्नता खुलेको छ । प्रहरीले सिसिटिभी फुटेज, म्यासेन्जर, च्याट, कल रेकर्ड लगायतका प्रमाणहरु सरकारी वकील कार्यालयमा बुझाएको छ । सरकारी वकील कार्यालयले प्रमाणको अभाव देखाउँदै हाल मुद्दा नचलाउने निर्णय भएको र निर्णय निकाशका लागि उच्च सरकारी वकीलको कार्यालय पाटन ललितपुरमा पठाउने निर्णय गरेको छ ।  

थुनछेक आदेशमा के छ ? 
    रोशी गाउँपालिका वडा नम्वर ५ बस्ने निरबहादुर तामाङ समेत जाहेरीले साविक ठुलो पर्सेल गाविस वडा नं ३ ठुलोपर्सेल बस्ने बर्ष ४१ को सिजन भन्ने मानबहादुर तामाङ, जिल्ला चितवन साविक शुक्रनगर गा.वि.स वडा नम्वर ९ हाल भरतपुर महानगरपालिका वडा न २५ जब्का बस्ने बर्ष ४१ को महेश चौधरी, माहाबिर भन्ने विश्वनाथ चौधरी, तेमाल गाँउपालिका वडा नं ६ बस्ने बर्ष २८ को कबिन्द्र तामाङ, रोशी गाँउपालिका वडा नं ५ बस्ने बर्ष ४१ को सागर मैनाली भन्ने रामकृष्ण मैनाली, रोशी गाँउपालिका वडा ५ बस्ने बर्ष २७ को बिजय हुमागाई, साबिक फोक्सिङटार गाबिसवडा नं ३ हाल परिवर्तित महाभारत गाँउपालिका वडा नं ३ बस्ने बर्ष ३५ को असल मोक्तान, साबिक सापिङ गाविस वडा नम्वर ६ हाल परिवर्तित भुम्लु गाउँपालिका वडा नम्वर १ बस्ने बर्ष ३५ को रतन, अजय भन्ने रामजी श्रेष्ठ, छिमेकी देश सिन्चुवान प्रान्त बस्ने चाईनिज नागरिक बर्ष ३८ का याङ कैलिङ विरुद्ध बिष्फोटक पदार्थ, आपराधिक उपद्रव  सम्वन्धी कसूर र संगठीत अपराध सम्वन्धी मुद्दा दर्ता गरिएको छ । ति मध्ये मानबहादुर तामाङ र चितवन प्रहरीले पक्राउ गरेको विश्वनाथ चौधरी बाहेक सबै फरार भनिएको छ । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश राजेन्द्र नेपालको आदेशले सोमबार साँझ पक्राउ परेका मानबहादुर तामाङ र विश्वनाथ चौधरीलाई पुर्पक्षमा राख्ने आदेश दिएको छ । अन्यलाई पक्राउ आदेश जारी भएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् । जाहेरवाला समिप त्रिपाठीको ९६ लाख ७ सय ८० र निरबहादुर तामाङ, जग्गाधनीहरु बीरबहादुर तामाङ, दिलबहादुर तामाङ, ठक्कु तामाङ, शेरबहादुर तामाङ, धनबहादुर तामाङलाई दामासाहीको हिसाबले ५४ करोड ३ लाख क्षतिपुर्ति भराउन सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गरेको छ । सत्यम् लिम्बुका हकमा प्रहरीले केहि बोलेको छैन । उनी सम्पर्कमा समेत नआएकाले सम्पर्कमा आएका बखत मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयले प्रतिवादी सागर भनिने श्यामकृष्ण मैनाली, असल मोक्तान, महावीर भनिने विश्वनाथ चौधरी र चिनियाँ नागरिक याङ कैलिङलाई विस्फोटक पदार्थ सम्वन्धी कसुर, आपराधिक उपद्रव, एकिकृत कसुर र संगठित अपराधमा सजाँयको माग दावी गरेको छ । त्यस्तै प्रतिवादी विजय हुमागाईको हकमा थप सजायँ माग गरिएको छ । यसअघिको मुद्दामा समेत उनका हकमा ८ वर्ष कैद र ८० हजार जरीवना ठहर भएको छ । सिजन भन्ने मानबहादुर तामाङ र कविन्द्र तामाङको हकमा संगठित अपराध दर्ता गरिएको छैन । जबकी मुख्य योजनाकार नै मानबहादुर तामाङ र कविन्द्र तामाङ समेत हुन् । विस्फोटक पदार्थ सम्वन्धी कसुरमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना, आपराधिक उपद्रव कसुरमा २ वर्ष देखि ५ वर्षसम्म कैद र बीस हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना, मतियारको हकमा थप सजायँ र एकीकृत कसुर गरे बापत तथा थप सजायँ सम्बन्धी कसुर माग गरिएको छ । 

घटना के हो ? 
    साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो । पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरु उधारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समीप त्रिपाठीको समुहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाहरुको सम्झौता गरी ९० लाख रुपैयाँमा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहि सम्झौता अनुसार त्रिपाठी समुहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैयाँ भुक्तानी भएको थियो । उक्त बुद्धचित्तका दानाहरु फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैयाँ दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत्र २९ गते राति साँढे ११ बजेको समयमा हातहतियार सहित घरको ४ ठाउँमा बम राखि घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्कि दिदै विद्युतीय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ । उक्त सम्झौताबाट धेरै क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठित अपराधमा कारवाही गरि पाउँ भन्ने ब्यहोराको निवेदन त्रिपाठीले दर्ता गरेका थिए । 
    २०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु विर्खबहादुर तामाङ समेत ९ जनाको समुले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्वन्धी मुद्दामा २०८१ बैशाख २५ गते जिल्ला अदालतले सजाँय निर्धारण गरेको थियो । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर अहिले विस्फोटक पदार्थ सहितको रुख कटानका मुख्य योजनाकार हुन् । डाँका, ज्यानमार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर वापत कालु भन्ने राजकुमार तामाङ, राधाकृष्ण मैनाली, विजय हुमागाई र विर्खबहादुर लामालाई जम्मा ९ बर्ष कैद र ९० हजार रुपैया जरिवना गरिएको छ । प्रतिवादी किरण तामाङलाई जम्मा ७ वर्ष ३ महिना कैद र ७२ हजार ५ सय रुपैया जरिवाना तोकिएको छ । डाँका चोरी गरि लगेको विक्री सम्झौतामा उल्लेख भए अनुसारको बुद्ध चित्तको दानाको मुल्य गाउँपालिकालाई बुझाउनु पर्ने कर सहितको ९० लाख, सिसिटिभी क्यामेराको ९६ हजार १ सय, घाईतेहरुको उपचार बापतको २४ हजार २ सय ४९ रुपैया दामासाहीले भराई दिने अदालतले ठहर गरेको छ । साथै कुरुवा ब्यक्तिहरुको १ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको मोबाईल बापतको क्षतिपूर्ति भने दावी नपुग्ने ठहर गरेको छ । 
    घटनामा संलग्न अन्यलाई पक्राउ पुर्जी जारीको आदेश त्यतिबेला नै भए पनि प्रहरीले बाँकीलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले दोश्रो घटनामा पक्राउ परेका तर ५८ दिन पछि कसुरदार नठहरे पनि अघिल्लो मुद्दामा ९ वर्ष कैद र ९० हजार जरिवना तोकिएका मध्येका राधाकृष्ण मैनालीलाई कारागार पठाएको छ । पटक पटक विवाद ल्याउने मुख्य ब्यक्ति नै सिजन भन्ने मानबहादुर रहेको अनुसन्धानबाट खुलेको छ ।