धुलिखेल/महाभारत गाउँपालिकामा भएको दम्पत्ति हत्याको निश्पक्ष छानविन माग गर्दै पीडितहरुले जिल्ला सदरमुकाम धुलिखेलमा प्रदर्शन गरेका छन् । २०८१ जेठ ७ गते महाभारत गाउँपालिका वडा नम्बर ४ निवासी मानबहादुर बल र हिरामाया बल वाइबाको विभत्स हत्या गरिएको थियो ।
हत्या भएको धेरै दिन भई सक्दा पनि हत्यारा पत्ता नलगाएको भन्दै पीडितका आफन्त र स्थानीयहरुले न्याय माग्दै प्रदर्शन गरेका हुन् । किटानी जाहेरी दिएका व्यक्तिलाई छाडिएको भन्दै पीडितले जघन्य अपराधमा पनि राजनीति भएको गुनासो गरेका छन् । घटनाको निष्पक्ष छानविनमा समेत उनीहरुको आशंका छ । प्रदर्शनमा सहभागीले किटानी जाहेरी लागु गर, मान्छे मार्न पाइँदैन, जाहेरीमा उल्लेख ठेकेदारलाई पक्राउ गर, मृतक दम्पत्तिलाई न्याय दे, प्रहरी अनुसन्धान निष्पक्ष गर, जघन्य अपराधी लुकाउन पाइँदैन, न्यायको ढोका खुल्ला गर, कानूनी शासन लागु गर, लगायतको नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिएका मध्ये एक जनालाई प्रमाण नपुगेको भन्दै प्रहरीले छाडेको थियो । हत्याराका नजिक पुग्न नसकेको प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
२०८१ बैशाख २८ गते पाँचखाल जिरो किलो नजिकै फेला परेका दोलखा जिल्ला घर भएका ५४ बर्षीय विष्णुप्रसाद सुवेदीको मृत्युको कारण अझै खुल्न सकेको छैन । जलेको र रुखमा बाँधेको अवस्थामा फेला परेका सुवेदीको पहिचान बैशाख अन्तिम सातामा भएको थियो । काठमाडौंको टिकास्थलीबाट बैशाख २४ गते हराएका सुवेदीका परिवारले शवको पहिचान गरे पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । केहि महिना देखि पारिवारीक असन्तुलनमा रहेका उनका परिवारका सदस्यहरुले भिडियो मार्फत घरको समस्या घरमा नै समाधान गर्ने जहाँ भए पनि फर्केर आउन बाबुलाई अपिल गरेका थिए । त्यतिबेला बाबु जलिसकेका थिए । घरबाट निस्कँदा घडि र मोबाईल समेत छाडेर निस्किएका उनी पाँचखालमा किन ओर्लिए ? रहस्यमय छ । प्रहरीले उक्त घटनाका बारेमा अझै एकीन मृत्युको कारणका बारेमा अनुसन्धान टुङ्गोमा पु¥याउन सकेको छैन ।
बोधिचित्तको रुख कटान गरी त्यस आसपास विस्फोटक पदार्थ राख्ने समुहका मुख्य नाईके सिजन भन्ने मानबहादुर तामाङ पक्राउ परे पनि अन्य संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । विश्वनाथ चौधरीलाई चितवन प्रहरीले विद्यालयको बस जलाएको अभियोगमा पक्राउ गरे पछि उनले काभ्रेको रोशीमा रहेको बोधिचित्तको रुख कटानको आदेशका लागि काभ्रेका केहि ब्यक्तिहरु आएर सल्लाह गर्ने, निर्णयका लागि आदेश माग्ने गरेकोले पार्टीले निर्णय गरेको बयान दिएका छन् । संलग्न मध्ये केहिलाई कसुर कायम नभएको भन्दै छाडिएको छ भने अन्यलाई पक्राउ गर्न प्रहरीले अझै सकेको छैन ।
त्यस्तै तेमाल गाउँपालिका २ मा मानध्वज तामाङले ५२ बर्षिया साईली तामाङलाई रड प्रहार गरी हत्या गरे । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । तर पनि स्थानीयहरु अझै अपराधीलाई कारवाही हुने कुरामा संशकित छन् । गत वर्ष पाँचखाल पलाञ्चोकमा दिउँसै दम्पत्तिको हत्या भयो । अझै अपराधीहरु पत्ता लाग्न सकेका छैनन् । केहि वर्ष अघि दशैंको अघिल्लो दिन राति कानपुरमा एक्लै बस्दै आएका पुरुषको हत्या भयो । प्रहरीले अझै हत्यारा पत्ता लगाउन सकेको छैन । बनेपाको अपाङ्ग अस्पताल तल जंगलमा फेला परेका एक पुरुषको शवका बारेमा अझै हत्यारा पत्ता लाग्न सकेको छैन । हत्या भईरहने, हत्यारा पत्ता लाग्नै नसक्ने अवस्था किन हुँदैछ ? प्रहरीसँग अनुसन्धान गर्ने प्रविधि छैन कि जनशक्ति ? नागरिकहरुले प्रश्न गर्न थालेका छन् । प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले हरेक घटनाको निश्पक्ष र गहिराईमा पुगेर अनुसन्धान भईरहेको बताईन् । ‘परिणाम नआई नागरिकहरुले प्रहरीले गरेको अनुसन्धानका बारेमा जानकारी पाउन नसक्दा काम नै नभएको हो कि ? भन्ने आंशका गर्नु अस्वभाविक होईन’–उनले भनिन्–‘प्रहरीले हरेक अपराधमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्नेछ । अपराधी उम्कन पाउँदैनन् । अपराधी पक्रने नाममा निर्दाेष ब्यक्ति संलग्न गराएर दोषि उम्कन नपाओस् भन्ने कुरामा प्रहरी चनाखो छ ।’









